७ वैशाख २०८१ शुक्रबार
कला

नेपाल भाषाका महाकवि सिद्धिदास

आदिकवि भानुभक्तले खस नेपाली भाषामा रामायण लेखे। संस्कृत भाषामा मात्र लेखिँदै आएको रामायणलाई उनले सबभन्दा पहिला नेपाली भाषामा लेखेका थिए। सरल र सबैले बुझ्ने गरी लेखिएको भानुभक्तको रामायण नेपाली भाषा विकासका लागि महत्वपूर्ण रह्यो। यसै योगदानको कदरस्वरूप ‘आदिकवि’को उपाधिसहित उनको जन्मदिनलाई देशैभर भानु जयन्तीका रूपमा मनाइन्छ। खस नेपाली भाषामा साहित्य नै नलेखिएको अवस्थामा साहित्य भाषाको विकासमा उनले पु-याएको योगदानलाई कदर गर्नैपर्छ।  

भानुभक्तले जस्तै भाषा विकासका लागि अर्का एक महाकवि (नेवार समुदायले महाकविको रूपमा मान्दै आएको छ)ले पनि रामायण लेखेका थिए। आदिकवि भन्दा झन्डै आधा सदी कम उमेरका उनले भाषा पुनर्जागरणकै लागि आफ्नो मातृभाषामा रामायण लेखे। यी दुईमा फरक यति रह्यो कि आदिकविले आफ्नो मातृभाषा खस नेपाली भाषामा लेखे, महाकविले आफ्नो मातृभाषा नेपालभाषामा लेखे। यही फरकले गर्दा आदिकविले राज्यस्तरको सम्मान पाइरहे, महाकवि भने राष्ट्रियस्तरमा ओझेलमै परिरहे। राज्यले बेवास्ता गरेका उनै महाकवि हुन्– सिद्धिदास महाजु (अमात्य)।

भर्खरै राष्ट्रियस्तरबाट भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइयो। राष्ट्रिय स्तरबाट सम्झन राज्यले कन्जुस्याइँ गरे पनि नेवार समुदायले यही आउँदो आश्विन कृष्णपक्ष द्वितीया (भदौ १९ गते) सिद्धिदासको १५३औँ जन्मजयन्ती मनाउँदै छ। नेपाल संवत् ९८७ यंलागा द्वितीया (वि.सं. १९२४ आश्विन १ गते) काठमाडौंको जनबहाल, केलटोलमा  जन्मेका उनले नेपालभाषा पुनर्जागरणका लागि आफ्नो पूरा जीवन समर्पण गरे। त्यसैले उनलाई नेपालभाषाका चार खम्बामध्ये एक मानिँदै आएको छ। भाषिक दमनको उत्कर्षको राणाकालीन युगमा उनले आफ्नो ज्यान जोखिममा राखेरै नेपालभाषाबाट ५० भन्दा बढी पुस्तक लेखे। उनी आफ्नो मातृभाषालाई यति प्रेम गर्थे कि त्यसको सेवामा लागेर आफ्नो व्यावसायिक र पारिवारिक जीवन बिथोलिन पुग्दा पनि उनले त्यसको कुनै सुर्ता लिएनन्।  

१९४० सालतिर उनले थापाथलीका समरबहादुर कप्तानकहाँ हिसाबसम्बन्धी काम गरेका थिए। तर, १९४२ सालमा रणोद्दीप सिंहको हत्यापछि  प्रधानमन्त्री भएका वीरशमशेरले जंगबहादुरका छोराहरू हर्षजंग, वीरजंगसहित समरबहादुर कप्तानलाई पनि निर्वासनमा पठाए। उनलाई काम दिने कप्तान नै निर्वासनमा गएपछि उनी पनि कामविहीन भए। त्यसपछि उनी आफ्नो साथी मोतिलालसँगै वीरगन्ज पुगे। १९४८ सालमा काठमाडौं फर्केपछि उनलाई बुवा लक्ष्मीनारायणले केलटोलमै कपडा पसल खोलिदिए। तर, उनलाई साहित्य लेखन र भाषाप्रति यति मोह थियो, उनी आफ्नो व्यवसायभन्दा पनि साहित्य लेखनमा बढी सक्रिय भइरहेका हुन्थे। उनले राम्ररी पसल चलाउन सकेनन्। व्यापारका सिलसिलामा कलकत्ता जाँदा पनि पुस्तकालय जाने, पुस्तक–पत्रपत्रिका किन्नेतिर नै उनको बढी ध्यान जाने गथ्र्यो। साहित्यप्रतिको यही मोहले गर्दा उनी आफैँले बनाएर सञ्चालन गरेको कपडा बुन्ने तान पनि चलाउन सकेनन्, आर्थिक समस्या भोग्न थाले।  

भाषिक दमनको उत्कर्षको राणाकालीन युगमा महाकवि सिद्धिदासले आफ्नो ज्यान जोखिममा राखेरै नेपालभाषाबाट ५० भन्दा बढी पुस्तक लेखे। राणा सरकारले नेपाली भाषाबाट समेत जनतामा चेतना दिने गतिविधि गर्न प्रतिबन्ध लगाएको समय थियो।  

काठमाडौंमा व्यवसाय चौपट भएपछि साहुको काम लिएर फेरि उनी वीरगन्ज र बेतिया पुगे। त्यहाँ ६–७ वर्ष बस्दा पनि उनले आफ्नो लेखन मोहलाई छाडेनन्। वीरगन्जमा बस्दा नै उनले १९७६ सालमा ‘सकतां मां’ पुस्तक लेखे, १९७८ सालमा वार्णिक छन्दमा ‘शुक रम्भा संवाद’ लेखे। त्यस्तै, उनले लेखेको पहिलो पुस्तक ‘सज्जनहृदयाभरण’ १९७७ सालमा बेतियामै छपाएर ल्याए।  

वीरगन्जमा पनि काम नभएपछि उनी फेरि काठमाडौं फर्के। काठमाडौं फर्केपछि उनको आर्थिक अवस्था झन् खस्कियो। त्यसपछि वि.सं. १९८३ तिर उनले असन कःमिलाछीका वैद्य भुधरानन्द वैद्यको आयुर्वेदिक पसलमा औषधि पिन्ने काम गरे। त्यहाँ काम गर्दागर्दै उनले नेपालभाषाको व्याकरण लेखे। औषधि पिनिरहेका बेला पनि उनी विभिन्न छन्दका कविता गुनगुनाइरहेका हुन्थे। त्यतिबेला पसल नजिकै रहेको दरबार हाइस्कुलमा पढ्ने विद्यार्थीहरू भुधरानन्दको औषधि पसलमा राखिएको एक्वारियममा माछा हेर्न आउने गर्थे। त्यसरी आउनेहरूमा युगकवि सिद्धिचरण श्रेष्ठ, फत्तेबहादुर सिंह, ठाकुरलाल मानन्धर पनि हुन्थे। सिद्धिदासले औषधि पिन्दै कविता गुनगुनाइरहँदा उनीहरू आकर्षित हुने गर्थे। सिद्धिदासले सिद्धिचरण, वैकुण्ठप्रसाद, ठाकुरलाललाई औषधि पसलमै राखेर विभिन्न छन्दमा कविता लेख्न सिकाए। यस हिसाबले युगकवि सिद्धिचरण श्रेष्ठलाई छन्द सिकाउने पहिलो गुरु पनि उनी नै थिए। यसबारे कविकेशरी चित्तधर हृदयले आफ्नो एक लेखमा उल्लेख गरेका छन्।

उता आर्थिक समस्याले गर्दा घरमा सधैँ पत्नीसँग उनको किचलो भइरहन्थ्यो। यसबाट दिक्क भई १९८६ सालतिर उनी घर छाडेर आफ्नी बहिनी लीलावतीको घरमा बस्न गए। बहिनीको घरमा बसेको केही दिन नहुँदै उनी उठ्नै नसक्ने गरी बिरामी परे। बिमारीले थला परेपछि उनले आफूलाई पशुपति लग्न आग्रह गरे। पशुपति लगिएको एक साता नपुग्दै १९८६ मंसिर १३ गते उनले देहत्याग गरे।  
०००
महाकवि सिद्धिदासको समयमा देशमा भाषिक दमन उत्कर्षमा थियो। राणा सरकारले नेपाली भाषाबाट समेत जनतामा चेतना दिने गतिविधि गर्न प्रतिबन्ध लगाएको समय थियो। जनतालाई पढ्न–लेख्न प्रतिबन्ध लगााइएको त्यो बेला साहित्यमा कलम चलाउनु सजायको भागिदार बन्नुसरह थियो। त्यसमा पनि खस नेपाली इतर भाषाबाट लेख्नु त झन् ज्यानै दाउमा लगाउनुजस्तै थियो। यस्तो अवस्थामा पनि महाकवि सिद्धिदास महाजु, मास्टर जगतसुन्दर मल्ल, पण्डित निष्ठानन्द वज्राचार्य, कवि योगवीर सिंह कसाः जस्ता मातृभाषाप्रेमीले जेलनेलको सजाय भोगेरै नेपालभाषामा कलम चलाइरहे, भाषिक अभियानलाई अघि बढाइरहे। त्यसैले यी चारलाई नेपालभाषा पुनर्जागरणकाल चार खम्बाका रूपमा लिइने गरिन्छ। यही ताकाका भाषासेवीहरू धर्मादित्य धर्माचार्य र सहिद शुक्रराज शास्त्रीको योगदानलाई पनि बिर्सन मिल्दैन।  

मुलुकमा राणाकाल सुरु हुनु अघिसम्म नेपालभाषाका साहित्यको स्थिति समृद्ध नै थियो। रणबहादुर शाहको पालासम्म पनि नेपालभाषामा साहित्य सिर्जना जारी नै थियो। राणाशासन सुरु भएपछि नेपालभाषा र उपत्यकाका नेवार समुदायको पनि दुर्गति सुरु भयो। राणाशासन सुरु भएदेखि सिद्धिदाससम्मको करिब सय वर्षको अवधि नेपालभाषाको साहित्य मात्र होइन, कुनै पनि लेखन शून्यप्रायः भयो। नेपालभाषामा लेढपढ गर्न जान्नेहरू कम हुँदै जान थाले। साहित्य त झन् परकै कुरा। यसले मातृभाषाप्रेमी सिद्धिदासलाई धेरै दुःखित तुल्यायो। उनलाई लाग्यो– ‘भाषा म्वाःसा जाति म्वाइ’ अर्थात् ‘भाषा रहे मात्रै जाति पनि रहन्छ।’  

सानै उमेरदेखि साहित्यिक चेतना भएका, अध्ययनमा रुचि राख्ने उनले त्यसपछि भाषिक जागरणका गीत पनि लेख्न थाले। उनीभन्दा पहिलाका रचना धेरैजसो धार्मिक विषयका हुन्थे। उनले धर्म मात्र होइन, उद्योग, नैतिक शिक्षा, नारी शिक्षा, भाषाप्रेमका रचना पनि लेखे। भाषा सिकाउने विधि लेखे, व्याकरण लेखे।  

सुरुमा दोहा, चौपाइ लेखेका उनले पछि विभिन्न छन्दमा खण्डकाव्य, महाकाव्यदेखि नीतिकथा, आधुनिक कथा, संवाद, छन्द परिचय, व्याकरण समेत लेखे। त्यसैले उनलाई चित्तधर हृदयले आफ्नो लेख ‘कवि सिद्धिदास व अमर कृति’मा भनेका छन्, ‘सिद्धिदासको नामको अगाडि चरित्रवान् कवि, शीलवान्, धार्मिक, विराभिमानी, पण्डित, गुणज्ञ गुणी आदि अनेक विशेषण राख्न मिल्छ।’

जुन समय महाकवि सिद्धिदासले साहित्य रचना गरेका थिए, त्यो समय रचना गर्नुभन्दा पनि आफ्नो रचनालाई बचाइराख्नु कठिन थियो। कुनै रचना भेटियो भने त्यस रचनाको लेखक राणाशासकको कोपभाजनमा पर्न सक्थ्यो। त्यसैले त्यो बेला नेपालीभाषी साहित्यकारहरू समेत आफ्ना रचना अरुलाई सुनाइसकेपछि आफैँ च्यातेर फाल्थे। तर, सिद्धिदासले लेखेका पुस्तक भने धेरै बचेका छन्। उनी धेरै समय काठमाडौं बाहिर रहेर रचनामा लागे, त्यसैले उनका रचना र उनी स्वयं जोगिएको हुनसक्ने भाषा तथा लिपिविद् शरद कसाः बताउँछन्। ‘आफ्नो एउटा रचनाको दुई–तीन प्रति पाण्डुलिपि उनले हातैले लेख्थे। उनको अक्षर असाध्यै राम्रो थियो। उनले बेतियामा बस्दा पुस्तक ब्यान्डिङ गर्ने सीप पनि सिकेर आएका थिए। उनले आफूले लेखेको पुस्तक आफैँले ब्यान्डिङ गरेर साथीहरूलाई बाँडेर दिन्थे। यही कारण पनि उनका पुस्तक सुरक्षित रहेको हुनसक्छ,’ उनले भने।  

उनका केही पुस्तक कविकेशरी हृदयसँग पनि रहेको थियो। ती पुस्तकबारे हृदयले आफ्नो लेखमा वर्णन गरेका छन्।  

उनले लेखेका पुस्तक ‘प्रेमसागर’, ‘सिद्धिरामायण’, ‘सत्यसति’, ‘सज्जनकण्ठाभरण’, ‘सत्य ऋण’, ‘सरल श्रुतबोध’, ‘शारदा भजन’, ‘सुख दुःख’, ‘बिजुली’, ‘संग दोष’, ‘साधारण धर्म’, ‘सर्वभक्ति’, ‘सदां लिलाः’, ‘सज्जन हृदयाभरण’, ‘सतनीति’, ‘सप्त विवाद’, ‘संवाद’, ‘सकतां श्लोक’, ‘सल्हा साहुति’, ‘सनातन धर्म’, ‘सप्तस्तुति’, ‘संग सुमन’, ‘स्वंगू गुण’,‘ सकतां माः’, ‘स्वंगू ऋण’, ‘शुकरम्भा संवाद’, ‘समाचार’, ‘स्वदेश वस्त्र’, ‘सर्वबन्धु’, ‘सर्वकर्म’, ‘संचय’, ‘सत्य मदन’, ‘सिद्धिव्याकरण’, ‘शिवपिनास’, ‘शिव विलास’ आदि हुन्।  

उनले जति पनि कृति लेखे, सबै ‘स’ अथवा ‘श’ अक्षरबाट सुरु भएको छ। उनको नाम सिद्धिदास भएकाले पनि त्यसो भएको हुन सक्छ। यीमध्ये अपवादमा रहेको ‘प्रेमसागर’ हिन्दी ‘प्रेमसागर’को अनुवाद हो। सातवटा काण्ड भएको ‘सिद्धि रामायण’ कुनै अन्य रामायणको अनुवाद होइन, उनले आफ्नै ज्ञान र बुझाइले लेखेको उनको सबभन्दा ठूलो पुस्तक हो। यसमा हरेक काण्डमा विभिन्न वार्णिक छन्दमा लेखेका श्लोक छन्। त्यस्तै, ‘सत्यसती’ नारीशिक्षा दिने खण्डकाव्य हो। यसमा ऋतुहरूबारे वर्णन गरिएका ६ खण्ड छन्।  

‘तर यो ऋतुको विशेषता वर्णन गर्न लेखिएको होइन,’ भाषा तथा लिपिविद् कसाः भन्छन्, ‘यसमा एक विधवालाई दोस्री पत्नी बनाउन एक साहुले लमीमार्फत ऋतु अनुसार विभिन्न सामग्री पठाई लोभ्याउन गरेको प्रयास र विधवाले लोभमा नफसी आफ्नो सतित्व रक्षा गर्न दिएको जवाफले आजित भएका लमीको कथा छ।’  

त्यस्तै, ‘सरल श्रुत बोध’ विभिन्न ३५ वटा छन्दको लक्षण र दृष्टान्त लेखेको पुस्तक हो भने ‘संवाद’ दुई दाजुभाइको संवादलाई छन्दमा लेखिएको खण्डकाव्य हो। ‘शिव पिनास’ पनि अनुष्टुप छन्दमा लेखिएको खण्डकाव्य हो। त्यस्तै, ‘सनातन धर्म’, ‘सप्त स्तुति’, ‘स्वंगू ऋण’, ‘शुकरम्भा संवाद’, ‘सकतां माः’, ‘सर्वकर्म’, ‘सवबन्धु’ आदि स्तुति, धर्म, अध्यात्म, चरित्र, नीतिसम्बन्धी पुस्तक हुन्।  

‘समाचार’ समय उपयोगी शिक्षासम्बन्धी, ‘स्वदेश वस्त्र’ उद्योगसम्बन्धी पुस्तक हो। त्यस्तै, ‘सत्य मदन’ कामशास्त्रसम्बन्धी पुस्तक हो। यसमा कामनीति, वीर्य उत्पत्ति, वीर्य प्रताप, वीर्य धन, गर्भाधान, आसन, व्यर्थ काम, काम विषय, स्वप्नदोष आदिका बारेमा लेखिएको छ। ‘सिद्धि व्याकरण’ नेपालभाषाको व्याकरणसम्बन्धी पुस्तक हो। नेपालभाषाको व्याकरणबारे लेखिएको यो नै पहिलो पुस्तक मानिन्छ। ‘शिव विलास’ उनको एउटै मात्र आधुनिक कथा हो।  

‘सज्जनहृदयाभरण’ नीति र नारी शिक्षासम्बन्धी दोहा चौपाइमा लेखिएको काव्य संग्रह हो। उनको जीवनकालमा प्रकाशित भएको पुस्तक यही एउटा मात्र हो। त्यो पनि उनी आफैँले बेतिया पुगी छपाएका थिए।  

विविध विधामा लेखिएका सिद्धिदासका पुस्तकले नेपालभाषा साहित्यको ढुकुटी त भरेकै छ, साथै यसले लोप हुन लागेको नेपालभाषालाई पुनर्जीवन प्रदान गर्न पनि धेरै महत्वपूर्ण भूमिका खेलेको छ। आफ्नो बहुप्रचलित भनाइ, ‘भाषा रहे जाति रहन्छ’ लाई सार्थक तुल्याउन उनी जीवनभर मातृभाषाको सेवामा लागे। उनकै सेवाको फल हो कि आज नेपालभाषा जीवित रह्यो, यसको साहित्य समृद्ध बन्यो।
०००

प्रकाशित: १३ भाद्र २०७७ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App