७ वैशाख २०७८ मंगलबार
कला

किसानको छोरा

बालकथा

शेखरकुमार श्रेष्ठ

प्रार्थना सकिनेबित्तिकै विद्यार्थीहरू कक्षाकोठामा छिरे । ढोकाबाट छिर्नेबित्तिकै सेतोपाटी थियो । सेतोपाटीसँगै सूचनापाटी थियो । सेतोपाटीमै पर्ने गरी माथिबाट तलसम्म सेतो कपडा झुन्डिएको थियो । कपडामा प्रोजेक्टरबाट निस्केको किरणको प्रतिबिम्ब परेको थियो । ढोकाको ठीक अर्कोतिर टेबुल थियो । टेबुलकै छेउमा सामाजिक शिक्षक आजको पाठ पढाउन तयार भई बस्नुभएको थियो ।  

सबै विद्यार्थी आएपछि शिक्षकले ल्यपटप खोल्नुभयो । भित्तामा झुन्डिएको सेतो कपडामा मोनिटरका दृश्यहरू आए । विद्यार्थीहरूले उत्सुकताका साथ अगाडि हेरिरहेका थिए । पर्दामा आजको कक्षामा हार्दिक स्वागत छ भन्ने वाक्यका साथ नमस्कार गरेको चित्र आयो । विद्यार्थीहरूले एकैचोटि भने, ‘धन्यवाद सर । हामी सिक्न तयार छौँ ।’

‘भाइबहिनी हो ! आजको यो सामाजिक शिक्षाको कक्षामा म तपाईँहरूलाई पेसासँग सम्बन्धित पाठ पढाउँछु ।’  

‘हस सर ।’, विद्यार्थीहरूले भने ।

शिक्षकले भन्नुभयो, ‘दीपा !’ साथीसँग साउती मार्दै गरेकी दीपा झसङ्ग भइन् ।  

‘लौ भन्नुहोस् त, तपाईँका बुबाआमा केके काम गर्नुहुन्छ ?’

‘मेरा बुबा उद्योगपति हुनुहुन्छ । उहाँको तेल, कपडा र चाउचाउ बनाउने कारखाना छ । आमा, बुबाकै कारखानाको हिसाब हेर्नुहुन्छ ।’,  दीपाले भनिन् ।  

‘ठीक छ । अब रञ्जनको पालो । भन्नुस् त रञ्जन तपाईँका बुबाआमा केके गर्नुहुन्छ ?’

‘मेरा बाबा र आमा दुवै जना अस्पतालको डाक्टर हुनुहुन्छ ।’,  रञ्जनले भने ।

शिक्षकले विनय, दीपक, मृगेन्द्र, अयोध्या, सलिना आदिलाई पनि सोध्दै जानुभयो । उनीहरूले आफ्ना आमाबाबुको पेसा इन्जिनियर, अधिकृत, व्यापारी, कलाकार, प्राध्यापक, सांसद् आदि भएको बताउँदै गए ।  

‘वास्तवमा हाम्रो यो विद्यालय भाग्यशाली छ । यस विद्यालयमा देश बनाउन लागिपरेकाका छोराछोरीहरू पढ्दै हुनुहुन्छ । अझ केही विद्यार्थीलाई सोध्न बाँकी छ । अब विश्वनाथको पालो । तपाईँ त यस विद्यालयमा यसपालि मात्र आउनुभएको । साँच्चै तपाईँका आमाबुबा केके काम गर्नुहुन्छ ?’

टिनिनी घण्टी बज्यो ।  

‘लौ घण्टी पो लाग्यो । विश्वनाथ, सुनैनालगायतका बाँकी विद्यार्थीहरूलाई म भोलि सोध्छु । भोलिका लागि सबै तयार भएर आउनुस् । पहिला म तपाईँहरुको कुरा सुन्छु । अनि यहाँहरूलाई पेसा र यसका प्रकारबारे बताउँछु । आजलाई यो कक्षा यति नै ।’, शिक्षकले भन्नुभयो ।

‘धन्यवाद सर । आजको कक्षाका लागि ।’, सबै विद्यार्थीहरूले उठेर भने ।

चार बजे विद्यालय छुटी भयो । नजिकका विद्यार्थीहरू हिँडेर घरतिर लागे भने टाढाका विद्यार्थी गाडी चढ्न थाले । विश्वनाथको घर जान पन्ध्र मिनेटको हिँडाइ थियो । ऊ साथीहरूसँग छुटिएर हिँड्न थाल्यो ।

‘यस विद्यालयमा त सबै ठूला मानिसका सन्तान मात्र पढ्दा रहेछन् । मलाई त चिनाउन पनि लाज लाग्यो । आज त मेरो पालो आएन । भोलि कसको छोरा भनेर चिनाउने होला । भोलि स्कुल आउन नपरे पनि हुन्थ्यो । म त आजै बिरामी हुन पाए नि हुन्थ्यो ।’  विश्वनाथले आवाज नआउने गरी ओठ भने चलाएर बोल्यो ।  

‘के भो विश्वनाथ ? किन ओठ चलाएको ? बुझिने गरी भन न । के भन्न लागेको ? यति सानो उमेरमा के सोच्दै हिँडेको ?’, घर छेउको काकाले सोध्नुभयो ।  

‘केही होइन काका । यसै स्कुलको पाठ सम्झिहेरेको नि ।’, विश्वनाथले बतायो ।  

केही पाइलाअगाडि बढी विश्वनाथ फेरि काकाको छेउमा फर्केर आए अनि सोधे, ‘काका, साँच्चै तपाईँ के काम गर्नुहुन्छ ?’

‘किन चाहियो काम ? यी देख्यौ शिक्षकको ड्रेस । दिउँसो म स्कुलमा पढाउँछु । गाईभैँसी पालेको छु । बिहानबेलुका तिनको सेवा गर्छु । भुस्सा काट्ने, भकारो सोर्ने र दुधदही बेच्ने काम गर्छु ।’, काकाले बताउनुभयो ।  

‘अनि काकी नि ?’, विश्वनाथले सोधे ।

‘काकी, दिउँसो गाईभैँसी हेर्छिन् । बिहानबेलुका घरको काम गर्नुहुन्छ ।’, काकाले भन्नुभयो ।  

‘त्यसो भए तपाईँ शिक्षक कि किसान त ?’, विश्वनाथले फेरि सोधे ।

’म दुवै हुँ, बाबु । तर शिक्षक बन्नुभन्दा अगाडि म किसान थिएँ । भोलिपर्सि जागिर छाडेपछि पनि म किसान नै हुन्छु ।’, काकाले भन्नुभयो ।  

‘ए, हस् त । म गएँ ।’, यति भनी विश्वनाथ घरतिर लाग्यो ।

घर पुग्नेबित्तिकै आमाले विश्वनाथलाई दहीचिउरा ल्याइदिनुभयो । खाजा खाँदै उसले आमालाई सोध्यो, ‘आमा, तपाईँहरूको पेसा के हो ?’

आमाले भन्नुभयो, ‘बाबुको तरकारी र गाईवस्तु फाम छ । बाबु किसान हुन् । म पनि दिउँसो खेतबारीकै काम गर्छु । त्यसैले म पनि किसान नै हुँ । बिहानबेलुका म घरको काम गर्छु । त्यसैले म गृहिणी पनि हुँ ।’

‘हाम्रा बुबाले तरकारी, दूध, दही र घिउ उत्पादन गर्नुहुन्छ । उहाँ उद्योगपति होइन र भन्या ? मलाई त मेरा साथीहरूको बीचमा किसानको छोरा भनेर चिनिन लाज लाग्यो ।’, विश्वनाथले भने ।  

‘तिमी त ठ्याकै तिम्रै बाबुजस्तो भएछौ । तिम्रा बाबु पनि पहिला स्कुलमा पढ्दा म नेताको छोरा भन्थे ।’

‘हजुरबबुबा नेता हुनुहुन्थ्यो त भन्या ?’ उत्सुक भई विश्वनाथले प्रश्न ग¥यो ।

‘पहिला वडा अध्यक्ष हुनुहुन्थ्यो नि ।’, आमाले बताउनुभयो ।  

‘अनि तपाईँले कसरी थाहा पाउनुभयो ।’

‘पहिले हामी एउटै स्कुलमा पढ्थ्यौँ । मचाहिँ कक्षामा किसानकी छोरी भनेर चिनाउँथे ।’, आमाले भन्नुभयो ।  

‘मलाई पनि सामान्य विद्यालयमा पढाउनुभएको भए म पनि किसानकै छोरा भनिहाल्थेँ नि । म पढ्ने विद्यालयमा त डाक्टर, इन्जिनियर, मन्त्री जस्ता ठूलाका सन्तान छन् । अनि मलाई लाज लाग्दैन त ?’, विश्वनाथले झर्कँदै बोल्यो ।

‘हेर बाबु , तिमी बाबुआमाको पेसाबाट चिनिने होइन । तिमीले त पछि आफैले काम गरेर चिनाउने हो । त्यसमाथि खेतीपाती नगरी अन्न कहाँबाट आउँछ, भन त ?’ 

‘केही काम पाइएन भने विदेश गएर पैसा कमाउने नि ?’ विश्वनाथले भने ।

‘फेरि बाबुकै बोली । तिम्रा बाबु पनि त विदेश जानुभएको थियो । तिम्रा बाबुलाई विदेशमा काम गर्न मन लागेन । अनि त्यहीबाट उहाँले व्यवस्थित खेतीपाती र पशुपालन गर्ने तरिका सिकेर आउनुभयो । अहिले यहीँ काम गर्न थाल्नुभएको छ । अहिले हेर त कति मानिस तालिम लिन आउँछन् ?’

‘नाइँ, आमा तपाईँ जतिसुकै भन्नोस् । म त आफूलाई किसानको छोरा भनेर भन्दिनँ । किसानलाई त सबैले सानो सम्झन्छन् । उसो भए त म आफूलाई व्यापारीको छोरा भनेर चिनाउँछु ।’

‘लौ, अब लाजै लाग्छ भने जेसुकै गर । जेभन्दा लाज लाग्दैन त्यही भनेर चिनाऊ । म खाना बनाउन गएँ ।’, आमाले भन्नुभयो ।  

भोलिपल्ट विश्वनाथ विद्यालय गए । उनको टाउको अलि असजिलो भएको थियो । उनी कक्षामा निन्याउरो देखिएका थिए । सामाजिक शिक्षक कक्षामा आउनुभयो । सबै विद्यार्थी उठे । विश्वनाथ पनि मन नलागी नलागी उठे । उनको मुटु आज छिटो छिटो चलेझैँ लाग्यो । शिक्षकले भन्नुभयो, “विश्वनाथ आज तिम्रो पालो होइन त । शिक्षकको आवाज आएपछि विश्वनाथ अल्याङटल्याङ गर्न थाले । विश्वनाथलाई सन्चो नभएको महसुस शिक्षकलाई भयो । शिक्षकले फेरि भन्नुभयो, ‘विश्वनाथ, तपाईँ एकछिन बस्नुस् । हिजो हामीले रोल नम्बरअनुसार सोधेका थियौँ । तपाईँको रोल नम्बरभन्दा अगाडि ...। अँ, पहिले सुनैनाले भन्नुहुन्छ ।’

‘ल, भन्नुस् तपाईँका बाबुआमा के के काम गर्नुहुन्छ ?’

‘सर, म अगाडि आएर बताउँछु ।’  

‘हस । आउनुहोस् ।’

‘सर, एकैछिन । हजुरले पहिलाको कक्षामा पाठअनुसार सम्बन्धित व्यक्ति ल्याउनुहुन्थ्यो । आज मैले पनि बुबालाई बोलाएकी छु । म बाहिरबाट बुबालाई बोलाउँछु ।’ सुनैनाले भनिन् ।

‘हो र । झनै राम्रो नि ।’ शिक्षकले भन्नुभयो ।

सुनैना बाहिर गइन् । सुनैनाका बाबु डोको काखी च्यापी कक्षाकोठामा छिर्नुभयो । सुनैना पनि आइन् ।

सुनैनाले कक्षाकोठामा भनिन्, ‘उहाँ मेरा बाबा हुनुहुन्छ । मेरा बाबा डोको बोक्नुहुन्छ । तर, अहिले खेतमा सडक पुगेपछि कहिलेकाहीँ बोक्नुहुन्छ । यहाँहरूले देख्नसक्नुहुन्छ । यी यो डोकोभित्र चुच्चेकुटो, कुटो, कोदालो, डलेठो, कोदाली र हँसिया छन् । अँ, एकैछिन है ।’

सुनैना झोला खोतल्छिन् ।

‘अनि योचाहिँ बुबा आफैले घरको कोठा सजाउन बनाउनुभएको हलो । मैले साथीहरूलाई हलोको नमुना देखाउन ल्याएकी । आजभोलि जोत्ने काममा हलो होइन, ट्रयाक्टरको प्रयोग हुन्छ । अब त थाहा पाउनुभयो होला नि । मेरा बाबाको पेसा । अनि मेरी आमा पनि यही काम गर्नुहुन्छ । म पनि बिदाको दिन खेतमा जान्छु ।’

सधैँ कार चढी विद्यालय आउने सुनैनाको कुरा सुनी विश्वनाथ झसङ्ग भए । उनले शिक्षकलाई बोलाई भने, ‘सर, मलाई घरमा फोन गर्नु छ । एकचोटि फोन दिनुहोस् न ।’  

‘मेरो फोन अफिसमा छ ।’ शिक्षकले बताउनुभयो ।  

‘बाबु मसँग छ । लिनुस् फोन ।’, सुनैनाका बाबुले भन्नुभयो ।  

विश्वनाथले हातमा फोन लिई आमाको नम्बर डायल गरे ।  

‘हजुर । को बोल्नुभएको ?’, फोनबाट आवाज आयो ।

‘आमा , म विश्वनाथ ।’

‘के भो ? बिरामी भयौ हो ?’, फोनबाट आवाज आयो ।

होइन आमा । आज म पनि साथीहरूलाई आफू किसानकै छोरा भएको कुरा बताउँछु है ।’

सुनैनाका बाबुले ताली बजाउन सुरु गर्नुभयो । तालीले कक्षाकोठा गुन्जियो । बाहिर अरू सरहरू पनि आउनुभएको थियो । उहाँहरूले पनि कक्षाकोठाको दृश्य हेर्दै ताली बजाउन थाल्नुभयो । 

प्रकाशित: २८ श्रावण २०७७ ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?