७ वैशाख २०८१ शुक्रबार
कला

हेमकान्ती गुरुङका ५ चित्र

लकडाउनको सदुपयोग

हेमकान्ती गुरुङ

पोखरा–कोरोनाले संसारलाई नै प्रभावित बनाइरहेका बेला पोखरेली कलाकार हेमकान्ती गुरुङको मनमा पनि त्रासकै भूमरीमा अल्झियो। त्यसैले त उनी कोरोनाले पारेको प्रभावलाई धमाधम चित्रमा उर्तादैछिन्।  

क्यानभासमा विशेषतः रातो रंग प्रयोग गरेर उनले ‘ब्लडी कोरोना’को चित्रण गरेकी छिन्। उनको एउटा चित्रमा आँखा देखिन्छ जसमा त्रासैत्रास छ। ‘मैले सबै मान्छेका आँखामा डरत्रास मात्र देखेकी छु’, उनले भनिन्, ‘डरैडरमा बाँच्दैछौं हामी।’ 

लकडाउनमा उनी आफ्नै निवास रानीपौवा, पोखरामा बसेर साधना गरिरहेकी छिन्। उनले कला जगतमा आफ्नै पहिचान बनाइसकिन्। उनका पिता बुद्धि गुरुङ बरिष्ठ कलाकार हुन्।  

कोरोनाको प्रभाव झल्काउने उनका ६ वटा चित्र पुरा भैसके। उनको अर्को एक चित्रमा किनमेल गर्न चाहने युवतीको कथा छ। लकडाउनमा पसलहरू बन्द भएकाले किनमेल गर्न नपाउँदाको दुःख झल्काइएको छ त्यसमा । 

लकडाउन सुरु हुँदा कलाकारको मन पनि बेचैन बन्यो। त्यसको केही दिनपछि उनले साथीहरूका मुहारचित्र बनाउन थालिन्। पछि मात्र उनको कलामा कोरोना टाँसियो। ‘कलाकार ज्योति प्रकाश विकेले किन डराउँछ्यौं, कोरोनाकै विषयमै चित्र बनाउ भनेर हौस्याउनु भयो’, उनले भनिन्, ‘अनि कोरोना सिरिजमा काम सुरु गरेकी हुँ।’  

लकडाउन र सामाजिक दूरी कायम गर्नु पर्ने अबस्था आउँदा मायालु जोडिहरूलाई पनि भेटघाटमा समस्या भयो। तिनको छपटी पनि उनले चित्रमा उर्तान भ्याइन्। 

कलाकार हेमकान्तीको उमेर २९ वर्ष भयो। लकडाउनमा पनि घरमै कला सिकाउँदैछिन्।  कथाहरू पनि लेख्दैछिन्। उनी एसओएस हर्मन माइनर स्कुल, पोखराकी कला शिक्षक हुन्। घरमै पिताजीसँग विसं २०५४ मा कला सिकेकी उनी निरन्तर कलाकर्ममा छिन्।

‘लकडाउन खुलेपछि मेरो दोस्रो एकल प्रदर्शनी गर्नेछु’, हेमकान्ती भन्छिन्, ‘कोरोनाको असर झल्काउने चित्र निरन्तर बनाइरहनेछु।’  

सृजनशील कलाकार हेमकान्ती गुरुङलाई धेरैधेरै शुभकामना! 

प्रकाशित: ५ श्रावण २०७७ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App