उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
रामनवमी, २०८१ को शुभकामना दिँदै उनले यो पर्वले श्रीरामले कर्तव्य पालना गरेर समाजमा शान्ति, सद्भाव र न्याय कायम गरेको सकारात्मक सन्देश दिएको बताए। उनले श्रीरामको आदर्शलाई आत्मसात् गरेर देश र समाजमा एकता, समृद्धि र प्रगतिका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिनुपर्नेमा जोड दिए। श्रीराम हिन्दू समाजमा धर्म र संस्कृतिको प्रेरक रहेको उल्लेख गर्दै उनले श्रीरामले शास्त्रको ज्ञानलाई आफ्नो चरित्रमा उतारेर संसारलाई धर्मको बाटोमा हिँड्न सकिन्छ भन्ने सन्देश दिएको बताए।
‘श्रीरामजस्तै हाम्रो जीवन पनि चरित्र प्रधान हुनुपर्छ। उनको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा अपनाउनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।
रामनवमीमा गरिने भजन, कीर्तन र उपासनाले नागरिकलाई भक्ति र आध्यात्मिकताको बाटोमा लैजाने र मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना जगाउने उनको भनाइ छ।
‘हाम्रा पर्वहरू सद्भाव, जनकल्याण, नैतिकता र असल चरित्रको आधार हुन्। यसलाई भक्ति, अध्यात्म र नैतिकताको सेतु बनाएर देश र समाजमा शान्ति, मंगल र कल्याणको भावना जगाउने प्रयास गर्नुपर्छ,’ उनले सन्देशमा भनेका छन्।
उनले मानव कल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा र मैत्रीभाव जस्ता सकारात्मक कुरालाई सबैले अपनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए। ‘रामनवमी केवल उत्सव होइन, हाम्रो जीवनलाई श्रीरामको आदर्शसँग जोड्ने मंगलमय अवसर पनि हो। यो अवसरमा श्रीरामजस्तै असल र मर्यादित सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस्,’ उनले भनेका छन्। रासस
प्रकाशित: २४ चैत्र २०८१ ०७:२३ आइतबार