१ वैशाख २०८२ सोमबार
image/svg+xml १७:२४ अपराह्न
राजनीति

राष्ट्रपति पौडेलद्वारा रामनवमीको शुभकामना, राष्ट्रिय एकता बलियो हुने अपेक्षा

राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ को अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी र दाजुभाइलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा ‘रामनवमी’ पर्व धुमधामसँग मनाउने परम्परा छ। यो दिन श्रीरामको विशेष पूजा, व्रत, अनुष्ठान र जप ध्यान गर्नाले भगवानको कृपा पाइने र मनले चिताएका काम पूरा हुने जनविश्वास छ, राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।

उनले भनेका छन्, ‘शताब्दीऔंदेखि चलिआएका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा मद्दत गर्छन्।’ रामनवमी श्रीरामको जन्मदिन मात्र होइन, अधर्ममाथि धर्मको जित भएको खुसीको दिन पनि हो। यो दिन देशका विभिन्न ठाउँ र जनकपुरको रामजानकी मन्दिरमा भव्य मेला लाग्छ।

‘रामनवमीजस्ता सांस्कृतिक र ऐतिहासिक पर्वले विविध जातजाति, भाषा, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीच विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना बढाउँछन् र राष्ट्रिय एकता बलियो बनाउन सहयोग गर्छन् भन्ने मेरो अपेक्षा छ,’ उनले सन्देशमा भनेका छन्। उनले नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै यो पर्वले सबै नेपालीबीच समझदारी, दिगो शान्ति र भाइचारा बढाउन प्रेरणा दिन सकोस् भन्ने कामना पनि गरेका छन्। रासस

प्रकाशित: २४ चैत्र २०८१ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App