लकडाउनका कारण अहिले प्रदूषणमा कमी आएको छ । त्यसैले चराको चिरबिर र किराको भुनभुन राम्रोसँग सुनिन थालेको छ । त्यसैले त गाइने कीरा पनि स्वच्छन्द भएर आकाशमा उडिरहेका छन् ।
‘बर्खामास गाइने किराको मौसम हो’, अध्येता मनोज शर्मा भन्छन्, ‘लकडाउनमा प्रदूषण कम भएकाले गाइने कीराको संख्या बढी देखिएको छ । यिनका प्रजातिमा पनि धेरै देखिन थालेका छन् ।’
अध्येता मनोज शर्मा लकडाउनका बेलामा पनि घर वरपरका गाइने कीराको अध्ययनमा जुटेका छन् । यही बीचमा उनले दुईटा नयाँ प्रजाति फेला पारिसकेका छन् ।
किसानका साथी मानिएका गाइने कीराबाट मान्छेलाई फाइदैफाइदा छ । यी मांसाहारी कीरा हुन् । अध्ययनअनुसार एउटा वयस्क गाइनेले दिनमा ३० देखि तीन सय वटासम्म लामखुट्टे खान्छ । त्यस्तै धान लगायत अन्नबालीमा लाग्ने कीरा पनि खान्छन् । रोचक कुरा त ठूलो गाइने कीराले साना गाइनेलाई पनि खान्छन् ।
गाइने कीरा विशेषतः सिमसार क्षेत्रमा पाइन्छन् । केही प्रजाति भने जंगलमा पनि बस्छन् । झलक्क हेर्दा राम्रा देखिने गाइने कीरा आवाज निकालेर उड्छन् । यिनका ठूला आँखा हुन्छन् । ६ वटा खुट्टा हुन्छन् तर, राम्रोसँग हिँड्न सक्दैनन् । बरु अगाडि फर्केर पनि पछाडि उड्ने क्षमता हुन्छ ।
ठाउँअनुसार नाम फरकफरक छ । काठमाडौंमा गाइने कीरा भनिन्छ भने अन्यत्र खेतारी, पानी छेपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा, झ्यालगुइँचा आदि सम्बोधन गरिन्छ ।
यिनीहरू फागुनदेखि कात्तिकसम्म देखिन्छन् । शर्माका अनुसार संसारमा ६ हजार ३ सय ३३ प्रजातिका गाइने कीरा पाइएका छन् भने नेपालमा १८६ प्रजातिका । अध्ययन बढाउँदै जाँदा थप प्रजाति भेटिनेछन् । उनले चाहिँ सयभन्दा बढीको अध्ययन गरेर तस्वीर खिचिसके ।
शर्माले गाइने कीरा अध्ययन गर्न थालेको २०७२ सालदेखि हो । जारी लकडाउनमा समेत यिनकै अध्ययन गरिरहेका छन् । नवलपरासी जिल्लाको सुनवल नगरपालिका–९, स्वाठीका शर्मा आफ्नै गाउँघरकै पोखरीमा अध्ययन गर्दैछन् ।
गाइने कीराको संरक्षणमा जनचेतना जगाउन नेपालमा गाइने कीरा संग्रहालय बनाउनुपर्ने उनले देखेका छन् । अहिले काठमाडौंको स्वंयभूस्थित प्राकृतिक जीव विज्ञान संग्रहालयमा केही गाइने कीराका तस्वीर मात्र राखिएको छ ।
केही पहिले उनले एउटा नयाँ प्रजाति फेला पारेर त्यसको विषयमा भारतीय जर्नलमा छपाएका थिए । लकडाउनमा पनि दुइटा नयाँ प्रजातिको अध्ययन गरेर तिनको तस्वीर खिचेका छन् ।
उनी आत्मसंतुष्टिका लागि अध्ययनमा होमिएका हुन् । ‘सानो छँदा तिनका पुच्छरमा धागो बाँधेरे उडाउँथ्यौं’, सत्ताइस वर्षे यी तन्नेरी भन्छन्, ‘अचेल तिनका आनीबानी अध्ययन गर्दा आनन्द लाग्छ ।’
गाइने कीराकै अध्ययनका लागि भनेर मुलुकका ६६ जिल्ला घुमिसकेको उनले बताए । ‘नेपालका गाइने कीरासम्बन्धी पुस्तक निकाल्ने तयारी गर्दैछु’, जीवविज्ञानका शिक्षक समेत रहेका शर्माले भने, ‘यसकै विषयमा पिएचडी गर्ने विचार छ ।’
उनी पाल्हिनन्दन–३ कुश्माको सिद्धार्थ माध्यमिक विद्यालयमा पढाउँछन् । उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा एमएस्सी गर्दा मकवानपुरको कुलेखानी क्षेत्रका ५१ प्रजातिका गाइने कीरा अध्ययन गरेर शोधपत्र लेखेका थिए ।
गाइने कीराले पानीमा फूल पार्छन् । फूलबाट लार्भा बनेपछि पानीमा ६ महिनादेखि वर्ष दिनसम्म रहन्छन् । उड्न थालेपछि भने २ महिनामै यिनको जीवनचक्र पूरा हुन्छ ।
धर्तीमा दश लाख वर्ष अघि गाइने कीरा भेटिएको इतिहास छ । बढ्दो प्रदूषण र सिमसार क्षेत्रको अतिक्रमणका कारण संसारमै गाइने कीरा घट्दो क्रममा छन् ।
गाइने कीराको संरक्षणमा जनचेतना जगाउन नेपालमा गाइने कीरा संग्रहालय बनाउनुपर्ने उनले देखेका छन् । अहिले काठमाडौंको स्वंयभूस्थित प्राकृतिक जीव विज्ञान संग्रहालयमा केही गाइने कीराका तस्वीर मात्र राखिएको छ ।
प्रकाशित: २ असार २०७७ १३:२३ मंगलबार