राजधानी शहरको एक भव्य होटलमा ‘देश कसरी बनाउने’ भन्ने विषयमा छलफल राखिएको थियो।
प्रमुख अतिथिको समयमै उपस्थिति नभएका कारण निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो कार्यक्रम सुरु भयो।
प्रमुख अतिथि आइपुग्ना साथ उद्घोषकले भन्यो, ‘आजका हाम्रा प्रमुख अतिथि, हामी सबैका आसा र भरोसाका केन्द्र, दूरद्रष्टा, स्वप्नद्रष्टा, भविष्य निर्माणकर्ता, विकासका मूल र ज्ञानका खानी कार्यक्रममा उपस्थित भइसक्नुभएको छ। उहाँको उपस्थितिले कार्यक्रमको गरिमा बढेको छ। देश उहाँको नेतृत्वमा मात्र बन्न सक्छ भन्ने कुरामा अब हामी कोही पनि व्दिविधामा रहनु हुन्न।’
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथिले भन्यो, ‘हामीले समयको महत्त्व नबुझेकैले देश बनेन। अब सबैले हरेक काम समयमै गर्ने बानी बसालौं‚ देश बन्छ।’
कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’
कार्यक्रमको अन्त्य हुनै लाग्दा अर्को सहभागीले आयोजकबाट भत्ता बुझ्दै भन्यो, ‘विदेशीका पैसाले देश बन्छ भन्ने कुरामा मलाई रत्तिभर विश्वास छैन।’
कार्यक्रमको समापनमा सभाध्यक्षले आजको कार्यक्रमको प्रायोजकलाई धन्यवाद दिँदै भन्यो, ‘देश अरूको सहयोगमा होइन, आफ्नै बलबुतामा बनाउनुपर्छ, हामी आफ्नै बलबुतामा देश बनाउँछौँ।’
कार्यक्रम भव्यतापूर्वक सफल भएको घोषणा भयो। ताली बज्यो।
प्रकाशित: ८ फाल्गुन २०८१ ११:३७ बिहीबार