१) मुक्तक
विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा।
जनताको गुनासो सुन्दैन संसदहरू उही पार्टीकै कुरा।
सबै मन्त्री प्रधानमन्त्री रोजगर र विकास केही छैन।
नेता उस्तै जनता उस्तै गाउँ शहर त्यही पार्टीकै कुरा।
२) मुक्तक
परिवर्तन गर्नु छ भने सबैले नयाँ सोच फेर्नुपर्दछ।
सबैलाई समान व्यवहार हुने संविधान फेर्नुपर्दछ।
नाता पैसाले किनेको असक्षम नेता चाहिंदैन।
विकास गर्न सक्ने र बुझ्ने नेतृकर्ता फेर्नुपर्दछ।
३) मुक्तक
विचार मिल्दैन सोच मिल्दैन उसँग सम्बन्ध कसरी मिल्छ
धर्म मिल्दैन कर्म मिल्दैन उनीसँग आत्मा कसरी मिल्छ
बाह्य रूपले भरपूर मिलनसार नै देखाए त पनि उनले
फरक क्षमता बोकेको राहदानी छ सन्तुलन कसरी मिल्छ।
४) मुक्तक
रेल ल्याउन रेलको लिग चाहिन्छ
लिग राख्न अथाह पैसा चाहिन्छ
गर्ने भन्नेमा धर्ती आकाशको फरक छ
पानीजहाज ल्याउन सगर चाहिन्छ।
५) मुक्तक
देशमा बेरोजगार युवा विदेश भाग्दै छन्
अरूकै माटोमा उनको पसीना बग्दै छन्
टुलुटुलु हेरी बस्छ नालायक सरकार
दक्ष जनता सबै पिआर दिई उतै राख्दै छन्।
६) मुक्तक
जातभात कहिल्यै म भन्दिनँ
गरिब धनी कहिल्यै म भन्दिनँ
दुनियाले जेसुकै भनून् मलाई
मन मिले उनीसँग अछुत म भन्दिनँ।
७) मुक्तक
माग्छौ भने मन माग मसँग
हुन्न भने धन नमाग मसँग
सम्पतिको नाउँमा एउटा ज्यान छ
माग्छौ भने शरीर माग मसँग।
८) मुक्तक
म माया गर्छु भने उनले म गर्दिनँ भन्दै झर्कियो
किन भनेर करण सोधें मन पर्दैन भन्दै झर्कियो
पापीनीले कसैलाई मुटु दिइसकेकी रैछ र पो
यो ज्यान पाउने आस नगरे हुन्छ भन्दै झर्कियो।
९) मुक्तक
पहिलो दिन बोली फेर्याे उनले
दोस्रो दिनमा मन फेर्याे उनले
सँगै जिउने वाचा थियो हाम्रो
तेस्रो दिनमा मुटु नै फेर्याे उनले।
१०) मुक्तक
तिम्रो गाउँबाट सहर बसाइ फेरेछौ
सहर जस्तै तिम्रो रूपाकृति फेरेछ
तिमीविना बाँच्न सक्दिन भन्थ्यौ मलाई
तर आज चुपचाप मायालु फेरेछौ।
-राजन घले
प्रकाशित: ५ फाल्गुन २०८१ १३:०० सोमबार