१) मुक्तक
धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं।
एक अर्को साथले जीवनमा हामी उत्साहित हुने छौं।
अथाह सागर झैँ कञ्चन प्यार दिनेछौं हामी एक अर्कालाई
यसैगरी रमाउँदै जिन्दगीभर पिरतीमा प्रवाहित हुनेछौं।
२) मुक्तक
कहिले तिमी दुर्गा जस्ती कहिले सरस्वती जस्ती
कहिले तिमी काली जस्ती कहिले भग्वती जस्ती
यस्तो लाग्छ तिमीमा सबै देवी समाहित छन्
कहिले तिमी लक्ष्मी जस्ती कहिले पार्वती जस्ती।
३) मुक्तक
म तिम्रो शिर कहिल्यै झुकाउने छैन माछापुच्छ्रेको कसम,
म तिमीसँग कुनै कुरा लुकाउने छैन माछापुच्छ्रेको कसम
तिम्रो र मेरो साथ अब कहिल्यै छुट्ने छैन, मेरो बाचा भयो
यो मायाको गाँठो कहिल्यै फुकाउने छैन माछापुच्छ्रेको कसम।
४) मुक्तक
आकाशको तारा होइन, मनभरिको प्रित तिमीलाई
हृदयको गहिराइबाट सुमधुर प्रेमिल गीत तिमीलाई
केही गर्न नसके पनि तिम्रो हर पीडा अपनाउन सकूँ
टाँसेर न्यानो छातीमा दिन्छु मायाको धीत तिमीलाई।
५) मुक्तक
यस्तो लाग्छ तिम्रो जस्तै मेरो तिर्सना उस्तै छ।
तर म भन्दिनँ मेरो पनि त सिर्जना उस्तै छ।
तिमी र ममा आखिर के नै फरक भयो र प्रिय,
र त हेर साहित्य र सृजनामा तर्कना उस्तै छ।
राजेन्द्र अधिकारी
प्रकाशित: ५ फाल्गुन २०८१ १०:५४ सोमबार