१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘डाइभर्सिटी प्लाजा’ अर्थात् हिमाली आप्रवासीको कथाव्यथा

वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को एक दृश्य।

अमेरिकाको न्युयोर्क सहर वरपर छरिएर बसेका हिमाली आप्रवासीको कथामाथि बनेको वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को नेपाल प्रिमियर भएको छ।

सोसल साइन्स बहाः र फोटो सर्कलको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा आयोजित ‘केसाङ छेतेन रेट्रोस्पेक्टिभ’ कार्यक्रममा आइतबार छेतेनद्वारा निर्देशित ‘डाइभजिटी प्लाजा’को नेपाल प्रिमियर भएको हो।

ज्याक्सन हाइट केन्द्रमा रहेको डाइभर्सिटी प्लाजाआसपास देखिने ब्युटी पार्लर र सलुन, कबाब सप, स्टल राखेर गरिएको खुद्रा व्यापार, मम भ्यानदेखि कोभिड–१९ भ्याक्सिन सेन्टरले व्यस्त न्युयोर्कको वर्णन वृत्तचित्रले गरेको छ।

न्युयोर्कको क्विन्स क्षेत्रमा हुने अधिकारका विभिन्न अभियानले त्यहाँ बसोबास गर्ने झन्डै ७५ हजार नेपाली, भारतीय र भुटानी आप्रवासीलाई कामप्रति अभिप्रेरित गरेको देखिन्छ। त्यस क्षेत्रमा बसोबास गर्ने आप्रवासीहरू कोरोना महामारीको विकराल परिस्थितिमा डाइभर्सिटी प्लाजामा उभिएर एसियामूलका उम्मेदवारलाई सिटी काउन्सिलमा जिताउन लागि परिरहेको वृत्तचित्रको एक दृश्यले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिमाथि व्यंग्य गरिरहेको छ।

 वृत्तचित्रमा डाइभर्सिटी प्लाजानजिक रहेको ‘अधिकार’ नामक संस्थाले अक्षर समेत नचिनेकी दिव्यश्वरी शाक्यजस्ता नेपाली आप्रवासीको अधिकारका लागि काम गरिरहेको दृश्य देखाइएको छ। यस दृश्यले नेपालीलाई विदेशी भूमिका एकजुट भई कर्म गर्न प्रेरित गरिरहेको देखिन्छ।

न्युयोर्कको टाइम्स स्क्वायरमा उभिएर आप्रवासीको अधिकारका लागि वकालत गरिरहेको ‘अधिकार’ संस्थाका कर्मचारीहरू नेपालीलाई जनगणनाको आवेदन भर्न आग्रह गरिरहेका छन्। क्यामेरामा देखिएकी अधिकार संस्थाकी नर्बदा क्षेत्री भन्दैछिन्, ‘जनगणना भनेको संख्या हो। संख्याले शक्ति देखाउँछ। शक्ति भए धन हुन्छ। धन भए सम्मान र पहिचान हुन्छ।’

६९ मिनेटको ‘डाइभर्सिटी प्लाजा’ वृत्तचित्रमा हिमाली आप्रवासीहरू संसारको व्यस्त सहरमा आफ्नो संस्कृति र पहिचानका लागि एकजुट भएको दृश्य समावेश गरिएको छ। निर्देशक छेतेनले विभिन्न दृश्यलाई अवलोकनात्मक शैलीमार्फत प्रस्तुत गरेका छन्।

झन्डै साढे चार वर्ष लगाएर मुस्ताङ र डोल्पासम्बन्धी वृत्तचित्र सिध्याई अर्को कथामा काम गरिरहँदा न्युयोर्क पुगेका उनले वृत्तचित्रमा ज्याक्सन हाइटको रंगीन केन्द्रमा रहेको डाइभर्सिटी प्लाजा बहुसांस्कृतिक र बहुभाषिक समुदायहरूका कारण रोचक रहेको भाव व्यक्त गरेका छन्।

‘फिल्ममेकर केसाङको चिनारी बनेको अवलोकनात्मक वृत्तचित्रमाथि प्रतिक्रिया जनाउनु उचित हुँदैन,’ वृत्तचित्रमाथि प्रतिक्रिया दिँदै चलचित्र निर्माता रम्यता लिम्बूले भनिन्, ‘सन् १९९० को दशकमा म न्युयोर्क पुगेकी थिएँ। तर म ज्याक्सन हाइटमा पुगेकी थिइनँ।

यस वृत्तचित्रमार्फत मैले न्युयोर्क र ज्याक्सन हाइटको अनुभव गरें। हामीले आयोजना गर्ने काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा केसाङका फिल्महरू प्रदर्शन हुने गरेका छन्। सो महोत्सवमा उनले जुरीदेखि वृत्तचित्र फिल्ममेकरहरूलाई मेन्टरिङ गर्नेसम्मको भूमिका निर्वाह गरिसकेका छन्।

उनी स्टोरीटेलर र क्रिएटर हुन्। प्रायः आफ्नो विचार नराखी अवलोकन गर्न मन पराउने केसाङका अधिकांश फिल्म अवलोकन शैलीमा बनेका छन्। उनी जहिल्यै क्यामेरा पछाडि रहेर आवाजविहीनहरूको आवाज उठाउन लागि परेको देखिन्छ। उनले ‘हस्पिटल’देखि ‘हु विल बी अ गोर्खा’ र ‘हामी कुनाको मान्छे’मा नेपालको ग्रामीण भेगका कथा प्रस्तुत गरेका छन्। जसमा वृत्तचित्रमार्फत नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जातीय परिवेशको चित्रण गरेका छन्।

विविधता, पहिचान, समावेशीकरण र अधिकारजस्ता शब्दहरूले राजनीतिक भाव व्यक्त गर्छन्। हिमाली शेर्पा समुदायले मनाउने ल्होसारको आसपास खिचिएको यस वृत्तचित्रमा हामीले केवल हिमाली आप्रवासीलाई देख्यौं। उनीहरूको दिनचर्यालाई पनि समेटिएको भए हुन्थ्यो कि?’

सोसल साइन्स बहाः र फोटो सर्कलको संयुक्त आयोजनामा फागुन ११ देखि नेपाल पर्यटन बोर्डमा आयोजित ‘केसाङ छेतेन रेट्रोस्पेक्टिभ’ कार्यक्रममा छेतेनले बनाएका १० वटा वृत्तचित्र निःशुल्क प्रदर्शन गरिएका थिए। उनका ‘हस्पिटल’, ‘हु विल बी अ गोर्खा’, ‘अन द रोड विथ द रेड गडः मच्छिन्द्रनाथ’, ‘द डेजर्ट इट्स अस’, ‘हामी कुनाको मान्छे’, ‘कास्टअवे म्यान’, ‘ट्रेम्ब्लिङ माउन्टेन’, ‘इन सर्च अफ द रियाल’, ‘अ माइग्रेन्ट स्पिक्स’ र ‘डाइभर्सिटी प्लाजा’ वृत्तचित्र प्रदर्शन भएका थिए।  

प्रकाशित: १४ फाल्गुन २०८० ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App