२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

वेल्सका सफल प्रशिक्षक रोब पेज बर्खास्त

वेल्स फुटबल संघ (एफएडब्लु) ले रोब पेजलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ। एफएडब्लुले शुक्रबार उनलाई बर्खास्त गरेको हो।

‘पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रोब पेजको सम्झौता अन्त्य गर्ने निर्णय गरिएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पेजले वेल्सलाई ६४ वर्षपछि कतार विश्वकप २०२२ मा पहिलोपल्ट छनोट गराएका थिए।

युरो २०२० मा पनि उनले वेल्सलाई दोस्रो चरणसम्म पुर्‍याएका थिए। तर, यस वर्षको युरोकपको प्लेअफमा पोल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा वेल्स छनोट हुन सकेन। यद्यपि, एफएडब्लुका अध्यक्ष स्टिभ विलियम्सले सन् २०२६ को विश्वकपमा वेल्सलाई छनोट गराउने जिम्मेवारी पेजलाई सुम्पिएका थिए।

उनले पछिल्लो समय इतिहासकै सबैभन्दा लज्जाजनक नतिजा आत्मसात् गर्नुपर्‍यो। मैत्रीपूर्ण खेलमा जिब्राल्टरसँग ०–० को बराबरी र त्यसपछि स्लोभाकियासँग ४–० गोलको फराकिलो हारलाई उनले सामना गरे।

स्लोभाकियासँगको हारपछि पेजले आफ्नो पद खतरामा रहेको स्विकारेका थिए। ‘उनीहरू (वेल्सका समर्थक) मलाई आउट गर्न चाहन्छन्। तर, मैले आफ्नो काममा ध्यान केन्द्रित गर्नुपर्छ। बाँकी सबै कुरा मेरो नियन्त्रणभन्दा बाहिर छ,’ उनले त्यति बेला भनेका थिए।

एफएडब्लु उनलाई बर्खास्त गर्ने निर्णयमा सहजै पुग्न सकेको थिएन। ४९ वर्षीय वेल्स पूर्वडिफेन्डर पेजको भविष्यबारे छलफल गर्न एक हप्ताभन्दा बढी समय लागेको थियो। वेल्सको प्रशिक्षकमा रहँदा पेजले टोलीले महत्त्वपूर्ण लक्ष्य पूरा गरेको र जित हासिल गरेको एफएडब्ल्युका प्रमुख कार्यकारी नोएल मुनीले बताए।

त्यसका साथै धेरै अविश्वसनीय सम्झनाहरू सिर्जना गरेको उनको भनाइ छ। ‘पेजलाई राष्ट्रिय टोलीका लागि आफ्नो भूमिकाप्रतिको प्रतिबद्धता र समर्पणका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु। उनको नेतृत्वमा हाम्रो वेल्सले धेरै अविश्वसनीय सम्झनाहरू सिर्जना गरेको छ, विशेष गरी ६४ वर्षमा हाम्रो पहिलो विश्वकप,’ उनले भने।

पेजले क्लब फुटबलमा वाटफोर्डलाई प्रिमियर लिगमा पदोन्नति गरेका थिए। नोभेम्बर २०२० मा उनी स्थायी रूपमा प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसअघि वेल्सको टोली रायन गिग्सले सम्हालिरहेका थिए।

वेल्सलाई नेसन्स लिगमा पुर्‍याउन पेजले नै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसपछि युरो २०२० को नकआउट चरणमा वेल्सलाई पुर्‍याए। यद्यपि, डेनमार्कले अन्तिम १६ मा वेल्सलाई ४–० गोलको हार चखाएको थियो।

युक्रेनलाई प्लेअफमा पराजित गर्दै वेल्सले कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरेको थियो। तर, ग्यारेथ बेल र आरोन राम्सेले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा वेल्स जितविहीन रहँदै विश्वकपबाट बाहिरियो। समूह ‘बी’ मा अमेरिकासँग पहिलो खेलमा १–१ गोलको बराबरी खेलेको वेल्स इरानसँग २–० र इङ्ल्यान्डसँग ३–० ले पराजित भयो।

युरोकपमा भने वेल्सले नकआउट चरणसम्मको यात्रा तय गर्‍यो। स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले टर्कीलाई २–० ले पराजित गर्‍यो। समूहको अन्तिम खेलमा युरो कप विजेता इटालीसँग १–० गोलले पराजित भयो।  यद्यपि, समूह ‘ए’ को उपविजेताको रूपमा वेल्सले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो।

पेजको नेतृत्वमा वेल्सले ४५ खेल खेल्दा १५ जित, १५ बराबरी र १५ हार बेहोरेको छ। एफएडब्लुसँग उनको उत्तराधिकारी खोज्न निकै कम समय छ। वेल्सको सेप्टेम्बर ६ मा टर्कीविरुद्ध खेल्दै नेसन्स लिगको सुरुआत गर्ने छ। त्यसको तीन दिनपछि मोन्टेनेग्रोको यात्रा गर्नेछ। सन् २०२५ को वसन्त ऋतुमा युरोपियन राष्ट्रको विश्वकप छनोट सुरु हुनेछ।

प्रकाशित: ८ असार २०८१ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App