१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पदकमा निराशाको निरन्तरता:सुष्मा र भूपेन्द्रबाट पनि आशा समाप्त

नेपाली बक्सिङमा ऐतिहासिक पदक विजेता सुष्मा तामाङको निराशापूर्ण प्रदर्शनसँगै जारी १९औं एसियाडमा उनीबाट पदकको आशा समाप्त भएको छ।

सुष्मा यु–२२ एएसबिसी बक्सिङ च्याम्पियनसिपकी रजत पदक विजेता हुन्। गत वर्ष पुसमा थाइल्यान्डमा सम्पन्न च्याम्पियनसिपमा उनले सो पदक जितेकी थिइन्। त्यो, पदक नेपालको बक्सिङ इतिहासमा सबैभन्दा ठूलो सफलता हो। चीनको हानझाउमा जारी १९औं एसियाली खेलकुदमा पनि उनीबाट ठूलो अपेक्षा राखिएको थियो।

अनुभवी भारतीय प्रशिक्षकसँगै वैदेशिक प्रशिक्षण पनि नेपालको बक्सिङ टोलीले पाएकाले उनीहरूबाट सुखद नतिजाको अपेक्षा सबैमा हुनु स्वाभाविक रह्यो। नेपालको खेलनिकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि कराते, तेक्वान्दोसँगै बक्सिङलाई पहिलो प्राथमिकतामा राखेको थियो।

सोहीअनसार यी तीनै खेलले पूर्ण कोटामा एसियाडमा प्रतिस्पर्धा गरे पनि नेपालको निराशापूर्ण नतिजाको शृंखला रोकिएको छैन। हानझाउको जिम्नाजियममा बुधबार भएको खेलमा उनी कजाखस्तानकी किजाइबे नाजिमसँग ५–० ले स्तब्ध भइन्। खेलको सुरुआतमा निकै आत्मविश्वासी देखिएकी सुष्माले सोअनुसार प्रदर्शन गर्न सकिनन्। तीन राउन्डमा उनीमाथि कजाखस्तानकी बक्सर हाबी भइन्।

सुरुमा नै आक्रामक देखिएकी सुष्मा तेस्रो राउन्डमा भने केही थकित पनि देखिइन्। बक्सिङमा आशा गरिएका सुष्मासँगै भूपेन्द्र थापाको चुनौती पनि समाप्त भएको छ।

हाङझाओको जिम्नाजियम बुधबार पुरुष ६३.५ केजीमुनि भूपेन्द्र चाइनिज ताइपेईका लाई चुन इनसँग पराजित हुन पुगे। भूपेन्द्र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता हुन्। अनुभवी बक्सर भूपेन्द्रबाट सुखद प्रदर्शन हुने आशा रहे पनि पहिलो खेल उनको पक्षमा रहेन। भूपेन्द्रले एक जजको नतिजा बराबरीमा पारे। तर, उनी ४–० को नतिजा सुम्पिन बाध्य भए। लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब तीन खेलाडीले खेल्न बाँकी छ।  

पहिलो खेलमा जित निकालेका रबिन थापाले ५१ केजीमुनि तौलसमूहको अन्तिम १६ मा उत्तर कोरियाका सो चोनरियोङसँग बिहीबार प्रतिस्पर्धा गर्नेछन्। महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्यान्डकी बुएपा पोन्टिर्पसँग खेल्नेछिन्। महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दै छिन्। चन्द्रकलाले शुक्रबार र सरस्वतीले शनिबार आ–आफ्नो प्रतिस्पर्धा चुनौती प्रस्तुत गर्ने तय छ।  

तेक्वान्दो: वीरबाट निराशा

जारी एसियाडमा वीरबहादुर महरा तेक्वान्दोमा नेपालका ११ खेलाडीमध्ये सबैभन्दा अनुभवी हुन्।

त्यसैले उनीबाट तेक्वान्दोमा राम्रो प्रदर्शनसँगै सुखद नतिजाको अपेक्षा पनि गरिएको थियो। तर, सुरुआतदेखि नै हारको शृंखलाबाट उनले पनि पार पाउन सकेनन्। लिनआन स्पोर्ट्स सेन्टरमा बुधबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये पुरुष ६८ केजीमुनि वीरबहादुर अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग पराजित भए। वीर पहिलो चरणमा नै १०–० ले पछि पर्दै निराशापूर्ण प्रदर्शन गरे। दोस्रो चरणमा केही सुधार गरेपनि उनी १२–८ ले पछि परे।  

नेपालकै अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहाकसँग पराजित भए। अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे। महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ मा इरानकी मेलिका मिरहोसेनी भाकिलीसँग निराश भइन्। उनी १४–१ र ९–० ले पराजित भइन्। जारी एसियाडमा नेपालबाट तेक्वान्दोमा ११ खेलाडी सहभागी भएका थिए। तीमध्ये बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ। अब एक खेलाडीको स्पर्धा बाँकी छ।  

पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो प्राथमिकतामा राखेर तयारी गराएका तीन खेलमध्ये बक्सिङ र तेक्वान्दोको चुनौती सकिन लाग्दा निराशापूर्ण प्रदर्शनसँगै नतिजाको शृंखला रोकिएको छैन ।

पौडी: डुवाना र नासिरको खराब प्रदर्शन

नेपालका पौडीबाजद्वय डुवाना लामा र नासिर हुसेनले जारी १९औं एसियाली खेलकुदमा निराशाजनक प्रदर्शन गर्दै बाहिरिएका छन्।

बुधबार हानझाउ ओलम्पिक सेन्टरस्थित एक्वाटिक स्पोटर््स एरिनामा बुधबार डुवाना लामा र नासिर दुवैले खराब प्रदर्शन गरेका हुन्। पुरुष दुई सय मिटर फ्रिस्टाइलमा नासिरले २ मिनेट १४ मिलिसेकेन्ड समय निकाले। उनको समय हिटमा नै सातौं स्थानमा रह्यो। नासिरले जारी एसियाडमा आफ्नै उत्कृष्ट प्रदर्शन एक मिनेट ५७ सेकेन्ड २६ मिलिसेकेन्डको समय पनि भेट्टाउन सकेनन्।  

उनले यो राष्ट्रिय कीर्तिमान सन् २०२३ मा जापानमा भएको विश्व च्याम्पियनसिमा बनाएका थिए। यता, महिला एक सय मिटर ब्रेस्टस्टोकमा प्रदर्शन गरेकी १७ वर्षीया डुवाना पनि हिटमा नै पुछारमा रहिन्। उनले एक मिनेट २० सेकेन्ड १५ मिलिसेकेन्डमा उक्त दूरी पूरा गरिन्। उनले पनि आफ्नै उत्कृष्ट समय पनि भेट्टाउन सकिनन्। उनले यस विधामा सन् २०१९ मा नेपालमा नै एक मिनेट १७.२३ सेकेन्ड बनाएकी छन्।  

बास्केटबल: नेपालको दोस्रो हार

महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको। समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हा¥यो।

कजाखस्थानविरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मीना गुरुङले समान ४÷४ अंक जोडे। नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १÷१ अंक थपे। समूहचरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो। नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ।

जुडो: सबै पराजित

जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ। मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो। व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो।

जिओशान लिन्पु जिम्न्यासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वार्टरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो। टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए। यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए। यस्तै मिक्स टिमको पराजित टिमहरूबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि पर्‍यो।

प्रकाशित: ११ आश्विन २०८० ००:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App