२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ५:३३ पूर्वाह्न
समाज

प्रदेश १ का वन मन्त्री एवं प्रदेशसभा सदस्यका उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको छ। नेपाली काँग्रेसको प्रदेश समिति सदस्य रहेका थापा मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ ‘१’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यका उम्मेदवार थिए।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखरा घर भएका ५८ वर्षीय थापाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान साढे १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

थापा असोज २३ गते मनोनयन दर्ता गरेपछि स्वास्थ्यमा समस्या देखिएको थियो। उनी बिरामी भएपछि नोबेलमा भर्ना भएर परीक्षण गराउँदा डेंगु संक्रमण पुष्टि हुनुका साथै निमोनिया र पायल्ससमेत देखियो। उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेलिकप्टरबाट असोज २७ गते काठमाडौं लगिएको थियो।

काठमाडौंस्थित ह्याम्स अस्पतालमा २५ दिनको उपचारपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको भनेर आफन्तले विराटनगर ल्याएका थिए। सोमबार थापालाई श्वासप्रश्वासमा समस्या भएपछि नोबेलमा भर्ना गरेर उपचारका क्रममा निधन भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

अस्पताल भर्ना हुँदा थापाको अवस्था गम्भीर रहेको दाहालले बताए। पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निजी सचिव भएर ८ वर्ष काम गरेका थिए। २०७४ मा समानुपातिक सांसदमा थापा निर्वाचित भए।

प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारका अनुसार निधनका विषयमा जानकारी गराएपछि आयोगले अरु गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयनलगायत प्रक्रिया अघि बढाउने जानकारी दिए। स्वर्गीय थापाका श्रीमती एक छोरा र एक छोरी छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App