८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

महाभूकम्प: अर्बै क्षति

काठमाडौं-गोरखा, बारपाकलाई केन्द्रविन्दु बनाएर शनिबार मध्याह्न गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी सयौंको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्। भौतिक क्षतिको विवरण संकलन गर्न सक्ने अवस्थासमेत नरहेको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयले शनिबार बेलुका ८ बजेसम्म ८ सय २० जनाको मृत्यु भएको पुष्टि गरेको छ। उद्धार जारी रहेको र विभिन्न जिल्लाबाट मृतक र घाइते आउने क्रम जारी रहेकाले संख्या बढ्ने गृहका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिए।

prakat1
भूकम्पबाट २९ जिल्ला बढी प्रभावित छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला सबैभन्दा धेरै प्रभावित भयो। अर्बौंको भौतिक क्षति भएको अनुमान गरिए पनि यकित विवरण आइसकेको छैन। गृह मन्त्रालयले उद्धारका लागि केन्द्रीय पोस्ट खडा गरेर सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गरिरहेको गृह प्रवक्ता ढकालले जानकारी दिए।
गृहका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, बारा, सोलुखुम्बु, सुनसरी, काभ्रे, झापा, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, सिराहा, धादिङ, कास्की, रोल्पा, गोरखा, ओखलढुंगा भोजपुर, नुवाकोट, तनहुँ, सिन्धुली, ललितपुर, रुकुम, बारा, पर्सा, धनकुटा, लमजुङ, दाङ र रसुवा भूकम्पबाट बढी प्रभावित भएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको छ। काठमाडौंमा २ सय ७० जना, भक्तपुरमा १ सय ६० र ललितपुरमा १ सय ७ जनाको ज्यान गएको छ। काठमाडौंमा घरहरू भत्किँदा धेरैको ज्यान गयो। घरमा पुरिएका घाइतेको संख्या अझै यकिन हुन सकेको छैन।

prakat3
काठमाडौंमा धरहरा र कपनको साततले घर भत्कँदा धेरैको ज्यान गयो। शनिबारको दिन धरहरा चढ्नेको संख्या बाक्लो थियो। भूकम्प आउनुअघि २ सय ४० जनाले धरहरा चढ्न टिकट काटेका थिए। धरहरा भत्केको समयमा १ सय ५० जना भित्रै रहेको अनुमान छ।
धरहरा भत्कँदा पश्चिम क्षेत्रमा रहेको टहरामा बस्नेहरू प्रभावित भए। त्यहाँ पुरिएकाहरूको खोजी गर्ने क्रम जारी छ। धरहरा भत्किएलगत्तै स्थानीयबासी उद्धारमा खटिएका थिए। लगत्तै सेना, प्रहरी र सशस्त्र पुगेर उद्धारलाई तीव्रता थिए। एक्स्काभेटर ल्याएर धरहराको भग्नावशेष हटाउँदा च्यापिएको अवस्थामा शवहरू फेला परेका थिए। कपनको साततले भन्ने स्थानमा सात तले भवन भत्किँदा २५ भन्दा बढीको मृत्यु भयो।

prakat32
अरनिको राजमार्गअन्तर्गत लोकन्थली–कौशलटार खण्ड, गोंगबु क्षेत्रमा सडक भासिएर सवारी आवागन रोकिएको थियो। सेना, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकले डोजरको प्रयोग गरेर सडक खुलाएका थिए।
भक्तपुरमा १ सय ४४ जनाको मृत्यु भएको छ। भक्तपुरमा पुराना घर भग्नावशेष बनेका छन्। भक्तपुरको पुरानो नगरपालिका क्षेत्रमा सबैभन्दा धेरै क्षति पुग्यो। इटा कारखानामा काम गर्नेहरू पुरिए। गृह प्रवक्ता ढकालका अनुसार सिन्धुपाल्चोकमा ८० जनाको मृत्यु भएको र घाइतेको संख्या धेरै भएको गृहले जनाएको छ। ललितपुरमा ६६ जनाको मृत्यु भएको छ। काभ्रेमा ३६ जनाको मृत्यु भएको छ भने धेरै घरमा क्षति पुगेको गृहले जानकारी दिएको छ। धादिङमा ९ जनाको मृत्यु, ३९ जना घाइते, गोरखामा २५ जनाको मृत्यु, सयौं घाइते भएको गृहले जनाएको छ। भूकम्पका कारण नुवाकोटमा ३६ जनाको ज्यान गएको छ।
गृहका प्रवक्ता ढकालका अनुसार गोरखाको लाप्राक र बारपाकका ९० प्रतिशत घर भत्किएका छन्। सोलुखुम्बुको एभरेस्ट बेस क्याम्पमा हिमपहिरो जाँदा २ जनाको ज्यान गयो भने ३० जना घाइते भएका छन्। कास्कीमा २ जनाको मृत्यु, १० जना घाइते र १ सय ४२ घर ध्वस्त भएका छन्। मकवानपुरको हेटौंडा नगरपालिका–१० मा ६ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।
शनिबार गएको भूकम्प १९९० पछिको सबैभन्दा ठूलो हो। दिनभर लगातार २० पटकभन्दा बढी पटक भूकम्प दोहोरिँदा सर्वसाधारण त्रसित भएका थिए। उनीहरू आ–आफ्नो घर छाडेर चौरमा जम्मा भएर बसेका थिए। सर्वसाधारणलाई खुला स्थानमा सुरक्षित बस्न टुँडिखेलको सबै ढोका खुला गरिएको थियो। नेपाली सेनाले हेडक्वार्टरको ढोका खुलाएर सर्वसाधारणलाई चौरमा जान अनुमति दिएको थियो। रंगशालासमेत सर्वसाधारणका लागि खुला गरिएको थियो। बेलुकासम्म पनि भूकम्पको कम्पन नरोकिएकाले उपत्यकाका सर्वसाधारण चौरमै पाल टाँगेर बसिरहेका छन्।

कोषमा ५० करोड
भूकम्पलगत्तै कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको संयोजकत्वमा केन्द्रीय दैवीप्रकोप उद्धार समितिको आकस्मिक बैठक बसेर उद्धारमा सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गरेको थियो। शनिबार विदाको दिन भएकाले सबै सरकारी कार्यालय बन्द थिए। ढकालका अनुसार तत्काल उद्धारकार्यमा खटिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गएको थियो।
गृह प्रवक्ता ढकालका अनुसार भूकम्पबाट अतिप्रभावित १० जिल्लामा १ महिनासम्म संकटग्रस्त क्षेत्र घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्लामा उद्धार समन्वय केन्द्रको स्थापना गरी खोजी र उद्धारको कामलाई तीव्रता दिने, केन्द्रमा केन्द्रीय कमान्डपोस्ट खडा गर्ने, सरकारी र गैरसरकारी क्षेत्रबीच समन्वय गरेर उद्धार र राहतको काम अगाडि बढाउने निर्णय गरेको थियो।
बेलुका मन्त्रीपरिषदको आकस्मिक बैठक बसेर प्रारम्भिक पुनर्निर्माण र राहतका लागि एक महिने अभियान सुरु गर्ने, दैवी उद्धार कोषमा ५० करोड निकास गर्ने, जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कमान्ड पोस्ट गठन गर्ने र मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको थियो।
नेपालमा आएको भूकम्पको झट्का भारतका विभिन्न सहरमा समेत परेको थियो। भुकम्पले नेपालमा ठुलो जनधनको क्षती पूर्याकएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुकम्प प्रभावित भारतीय क्षेत्रसँगै नेपालमा उद्धारका लागी टोली पठाउने र राहत दिने निर्णय गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीले टुइट गर्दै नेपालको दुख भारतको समेत दुख भएको बताएका थिए।

सांस्कृतिक क्षेत्रमा क्षती
भुकम्पबाट भिमसेन स्तम्भ धरहरा पूर्ण रुपमा ध्वस्त भयो। १९९० को भुकम्पमा धरहरामा क्षति पुगेको थियो। भूकम्पका कारण ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुरका सांस्कृतिक सम्पदा ध्वस्त भए। काष्ठमन्डप भग्नावशेष बनेको छ। काष्टमन्डपनजिकै रहेको तीनतले मन्दिरसमेत ध्वस्त भयो। बसन्तपुरमा रहेको विद्यालय भत्कियो। बशन्तपुर दरवार, तलेजु मन्दिरमा समेत क्षती पुग्यो। त्रिपुरेश्वरमा रहेको रणमुक्तेश्वरको मन्दीर पूर्ण रुपमा भत्कियो। पशुपति क्षेत्रका सांस्कृतीक सम्पदामा ठुलो क्षती भएन। जयबागेश्वरी मन्दीरको गजुर भत्किएको थियो। पाटन र भक्तपुर क्षेत्रका धार्मिक र सांस्कृतीक सम्पदामा क्षती पुग्यो।

तस्बिरहरु : प्रकटकुमार शिशिर

प्रकाशित: १२ वैशाख २०७२ २२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App