१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना कहरले आपराधिक घटना बढ्दै

कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। कोरोनाले बेरोजगारी समस्या बढ्दै गएपछि विभिन्न घटना घट्न थालेका हुन्। कोरोना कहरका कारण धेरैजसो युवाहरु रोजगारी गुमाएर जिल्ला फर्केपछि आपराधिक घटना पनि बढ्दै गएको प्रहरीले बताएको छ।  

रोजगारी नहुँदा युवाहरु आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने सम्भावना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। ‘अहिले धेरै युवाहरु गाउँमै बेरोजगार बसेका छन्,’ उनले भने, ‘यसले गर्दा उनीहरुमा वितृष्णा र नैराश्यता बढ्दै गएको छ, मदिरा सेवन लगायतका क्रियाकलापले अपराधका घटना बढ्दै गएका छन्।’

कात्तिक ९ गते मदिरा सेवन गरेका दुईजनाले कुटपिट गर्दा पञ्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय कमलबहादुर साउदको ज्यान गयो। स्थानीय वीरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरेर साउदमाथि कुटपिट गर्दा उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दसैंको राती सिगास गाउँपालिका–६ मा दुई समुदायबीच मदिरा सेवन गरेर कुटाकुट हुँदा घटना प्रहरीसम्म पुग्यो। रोकाया र दलित भएको विवादले उग्र रुप लिएपछि केही घाइते समेत भए। सोही दिन पाटन नगरपालिका–१ मा दुई वटा छुट्टाछुट्टै झडप भए। दुवै घटना गाउँमा मिलाइयो।

यि प्रतिनिधिमुलक घटनामा मदिरा सेवन प्रमुख कारण देखिए पनि गाउँघरमा बेरोजगार युवाको ठूलो जमात छ। कोरोना प्रभावका कारण भारत लगायत अन्य देशमा रोजगारी गर्ने युवा रोजगारी गुमाएर गाउँमै बेरोजगार छन्। स्थानीय सरकारले पनि बेरोजगार युवाको लागि प्रत्यक्ष रोजगारी मिल्न सक्ने कार्यक्रम नल्याउँदा गाउँमै बरालिएर हिड्ने युवाबाटै बढी आपराधिक घटना हुन थालेका हुन्। धेरै घटना प्रहरीसम्म पुग्न सकेका छैनन्।

कोरोना प्रभावितको लागि स्थानीय सरकारले कृषि, पशुपालन लगायतका आयमुलक क्रियाकलाप सञ्चालन गर्न बजेट बिनियोजित गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। स्थानीय तहले प्रभावितको लागि ल्याएका कार्यक्रमले छोटो समयमै प्रतिफल दिने खालका कार्यक्रम नल्याउँदा रोजगारी गुमेर गाउँमा बसेका स्थानीय समस्यामा छन्।

अहिले गाउँघरमा मदिरा सेवन गरेका धेरै मान्छे भेटिन्छन्। धेरै जसो बेरोजगार युवाहरु यसको कुलतमा फसेका छन्। यसले गाउँघर जताततै अशान्ति फैलिएको छ’, पुर्चौडी नगरपालिका–१ का धनविर धामीले भने, ‘गाउँमा आयस्रोतका कुनै माध्यम छैनन्, युवाहरु गाउँ डुल्यो हल्लियो अधिकांश मदिराको लतमा लागेका छन्।’ कोरोना प्रकोपमा परिवारिक कलह, मनमुटाव, घरेलु हिंसा, महिला हिंसा, सम्बन्धविच्छेद जस्ता घटनासमेत बढ्न थालेका अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले बताए।

दसैं आसपासमा मात्रै प्रहरीमा मदिरा सेवनका कारण कुटपिट भएका सात वटा उजुरी दर्ता भएका छन्। कोरोना महामारीका कारण बैतडीमा मात्रै १२ हजार बढी नागरिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन्। उनीहरू बेरोजगार बस्न बाध्य भएका छन्। गाउँमा विभिन्न खालका आपराधिक घटना बढ्दै गएपछि प्रहरीले हरेक गाउँमा गस्ती बढाएको जनाएको छ। जिल्लाका सबै प्रहरी चौकीबाट गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले बताए।

अहिले कोरोनाको त्रास, भयको कारण मानिसहरु तनावमा छन्। तनाव भएका बेला सानोसानो कुरामा पनि झनक्क रीस उठ्ने, आवेशमा आउने, जिद्दीपन, चिटचिटाहटपन, छट्पटी बढ्ने, निर्णय लिन गाह्रो पर्ने, जाँडरक्सी तथा लागू प्रदार्थको सेवन बढ्ने, शंका लाग्ने आदिजस्ता लक्षण देखा पर्न सक्छन्। यस्तो भएमा परिवारिक कलह तथा हिंसाको घटना हुन सक्छ। धेरैजसो घरेलु हिंसा तथा महिला हिंसा जाँडरक्सी तथा लागू पदार्थको सेवनका कारणले भएको देखिन्छ।

प्रकाशित: २३ कार्तिक २०७७ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App