१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी बन्छ जनै

संस्कृति

आफूले बनाएको जनै देखाउँदै भवदिप मैनाली।

जनैपूर्णिमा आउँदै छ। ५८ बर्षे भवदिप मैनालीलाई भने यसले छोइसकेको छ। साउन १९ गतेको पूर्णिमाका लागि जनै बनाउन उनलाई भ्याईनभ्याई छ। कागेश्वरी मनोहरा–६ स्थित रमाइलो टोलका मैनाली काँचो धागोलाई नियमसंगत जनैको रुप दिन तल्लीन छन्।  

‘बजारबाट ल्याएको काँचो धागोलाई सानो चर्खाको सहायताले संगालेपछि जनै बनाउने काम सुरु हुन्छ,’ उनले भने, ‘कतुवाको सहायताले काँचो धागो बाटेपछि जनैको डोरा तयार हुन्छ।’

त्यसैले उनी दिनभर पिड्ँयौलामा कतुवा घुमाउँदै जनै बटारिरहेका भेटिन्छन्। ‘धागो बाट्दै गर्दा रमाइलो लाग्छ,’ उनले भने, ‘अरुले पनि रमाइलो मानेर हेर्छन्।’  

काभ्रे, कानपुर मूलघर भएका उनी रमाइलो टोलमा पसल पनि चलाउँछन्। जनै बनाएर बेच्ने उनको पेशा हैन, तर बढी भएको जनै प्रति गोटा २० रुपैयाँका दरले बेच्ने पनि गरेको सुनाए।  

‘दुई सातामा डेढ सय वटा जति बन्छ होला,’ उनले भने, ‘५० वटा आफू राखेर १ सय जति अरुलाई बेच्ने छु।’  

त्यसो त बजारमा सस्तोमा जनै नपाइने पनि हैन, तर यसरी बनाएका जनैको विधि त्यति राम्रो नहुने उनको बुझाई छ। ‘काँचो धागोको ९ डोरा बेरेर जनैको एक डोरा तयार हुन्छ,’ उनले भने, ‘त्यही ६ डोरा संगालेर एउटा जनै तयार हुन्छ।’ शिखासहितको जनैलाई वैदिक मन्त्रले मन्त्रेपछि त्यो पूर्ण हुने उनले बताए।  

शिखा जनैको महत्वपुर्ण भाग हो। यसलाई  ब्रम्हगाँठो समेत भनिन्छ। ‘स–साना नियमलाई  उन्दै गएर जनै तयार हुन्छ,’ उनले भने, ‘तव मात्र यो लगाउनुको सांस्कृतिक महत्व रहन्छ।’ शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिने उनले बताए।  

ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्न जनै (ब्रह्मसूत्र) लगाएरै पढ्नुपर्ने मान्यता छ।  

यसले मान्छेलाई सांस्कृतिक रुपमा अनुशासित बनाउने उनको बुझाई छ।  

प्रकाशित: १४ श्रावण २०७७ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App