२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml ६:४३ पूर्वाह्न
समाज

प्रचारप्रसार अभावले ओझेलमा कपिलवस्तु संग्रहालय

प्रचारप्रसारको अभावमा कपिलवस्तु संग्रहालयमा न्यून मात्र पर्यटक जाने गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित तिलौराकोटमा पुग्ने पर्यटकमध्ये सात प्रतिशत मात्र संग्रहालय हेर्न जाने गरेका हुन्।

५ वर्षअघि कपिलवस्तु संग्रहालय हाताभित्र नयाँ भवन निर्माण गरी सञ्चालनमा ल्याइए पनि त्यहाँ तिलौराकोट घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत जाँदैनन्। सन २०२४ मा ढेड लाख बढी पर्यटक तिलौराकोट घुम्न आएका थिए। तर यही अवधिमा भने संग्रहालयमा जम्मा १० हजार ७१५ जना मात्र संग्रहालयमा अवलोकनका लागि आएको संग्रहालयकी प्रमुख शान्ति शेर्मा लिम्बुले बताइन्।

सन २०२३ मा तिलौराकोटमा ७५ हजार बढी पर्यटक आएका थिए। तर त्यही अवधिमा संग्रहालयमा ९ हजार ८९ जना मात्र आएका थिए। सार्क राष्ट्र, विदेशी र स्वदेशी गरी संग्रहालयमा न्यून मात्र पर्यटक आउने गरेका छन्। सन् २०२२ मा ६ हजार ७२९ र सन् २०२१ मा ६ हजार ९२८ जनाले संग्रहालयको अवलोकन गरको थिए।

प्राचीन कपिलवस्तुस्थित बुद्धको क्रीडास्थलका रूपमा मानिएको तिलौराकोटमा वर्षेनी पर्यटकको संख्या थपिने गरेका छन्। तर छेउमै रहेको कपिलवस्तु संग्रहालयमा भने संख्यामा मात्र जाने गरेका छन्। सन् २०२४ मा नेपाली ८ हजार ५७३, सार्कबाट १ हजार ६०३ र विदेशी ५३९ जनाले अवलोकन गरेको कपिलवस्तु संग्रहालयको तथ्यांक छ।

प्रचारप्रसार र पूर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझेलमा पर्दै आएको स्थानीय बताउँछन्। ५ दशकअघि स्थानपना भएको संग्रहालयबारे स्वदेश तथा विदेशबाट आउने पर्यटकलाई जानकारी नहुँदा संग्रहालय ओझेलमा पार्दै आएको हो। तिलौराकोटमा आएका पर्यटकमध्ये न्यून मात्र संग्रहालयमा आउने गरेको संग्रहालय प्रमुख शान्ति शेर्मा लिम्बुले बताइन्।

अधिकांश विदेशी पर्यटक भारत हुँदै रूपन्देहीको बेलैया नाकाबाट लुम्बिनी हुँदै सिधा तिलौराकोट आउने गरेकाले त्यसको प्रत्यक्ष असर संग्रहालयलाई परेको उनले बताइन्, ‘भारतीय गाडी र पथप्रदर्शकहरूले लुम्बिनी र तिलौराकोट देखाएर पर्यटकलाई फर्काउने गरेका छन् ।’

संग्रहालय ओझेलमा पर्नुको मुख्य कारण खुलाउँदै संग्रहालय प्रमुख शान्ति शेर्मा लिम्बुले भनिन्, ‘ती पर्यटकलाई लुम्बिनीबाटै नेपाली नम्बर प्लेटको गाडी र नेपाली पथप्रदर्शकले घुमाउन पाएको भए संग्रहालयमा धेरै पर्यटक आउने थिए ।’ भारतीय पथ प्रदर्शकहरूले तिलौराकोटबाटै पर्यटकलाई फर्काएर लाने गरेका छन्। ‘भारतीय पथ प्रदर्शकहरूले संग्रहालयमा पर्यटकहरूलाई ल्याउँदैनन्, त्यसबारे कुनै जानकारी पनि दिँदैनन्,’ उनले भनिन्।

संग्रहालयमै बसपार्क निर्माण गरिए संग्रहालयमा पर्यटकको आगमन बढ्ने उनले बताइन्। तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले लुम्बिनी तिलौराकोटलगातयका बुद्धस्थलको भ्रमणमा आउने पर्यटक भारतको बेलहिया नाकाबाट आउने गरेको बताउँछन्।

आउने पर्यटकलाई भारतको पिपराहवामा रहेको नक्कली कपिलवस्तुमा पथ पर्दशकले उतै जान जोड दिने गरको उनले बताए। तिलौराकोटमा केहीबेर मात्र देखाएर उतैबाट फर्काएर लाने गरिएकाले समेत संग्रहालयबारे पर्यटकलाई जानकारीसमेत नभएको उनी बताउँछन्।

 तिलौराकोटमा भएको उत्खनन र सञ्चारमाध्यमले त्यसबारे निकालेको समाचारले संग्रहालयमा विगतको तुलनामा पर्यटकको संख्या केही भए पनि बढेको प्रमुख लिम्बुले बताइन्।

७ बिघा क्षेत्रफल रहेको संग्रहालयमा ईसापूर्व आठौं, छैटौं शताब्दीको मौर्यकालीन तेस्रो सताब्दीको सुङघकालीन कुसाङकालीन समयका माटाका भाँडा, चाँदीका सिक्का तिलौराकोट र रामग्राममा उत्खननमा प्राप्त सामग्रीहरूसमेत संग्रहालयमा छन् ।

प्रकाशित: १२ माघ २०८१ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App