‘ए साथीहरू! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि मैले आफूलाई पत्रकारका रूपमा चिनाउनु उचित होला?’ एउटा अन्तर्राष्ट्रिय मिडिया सम्मेलनमा भाग लिन काठमाडौं आइरहेका एक दक्षिण एसियाली मुलुकका पत्रकारले हाम्रो सामाजिक सञ्जालको साझा मञ्चमा प्रश्न सोधे। मैले तत्कालै जवाफ दिएँ, ‘तपाईंले हाम्रो विमानस्थलमा आफू पत्रकार रहेको सगौरव घोषणा गर्नुहोला। हाम्रा विमानस्थल कर्मचारीहरूले हर्षित हुँदै महत्त्वपूर्ण पाहुनाका रूपमा तपाईंलाई स्वागत गर्नेछन्।’
सामान्यतः हामी पत्रकारहरू कुनै पनि ठाउँमा जाँदा आफ्ना सहकर्मीहरूलाई त्यहाँको अवस्थाबारे प्रश्न गर्छौं। अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्तो छ? सरकारको पत्रकारहरूलाई हेर्ने दृष्टिकोण के छ? जस्ता प्रश्नमा पहिल्यै जानकार हुनु सुरक्षित हुन्छ। सरकारले आलोचना कत्तिको सुन्ने गरेको छ? सार्वजनिक आलोचना र प्रतिक्रिया कत्तिको सुन्छ? भन्ने पनि उत्तिकै महत्त्वको विषय हुन्छ। सरकारको पत्रकारप्रति सकारात्मक रवैया छैन भने चुपचाप सामान्य यात्रु बनेर धेरै चर्चा नगरी यात्रा गर्नु बढ्ता सुरक्षित हुन्छ।
केही वर्षअघि म दक्षिण एसियाको एउटा मुलुकको भ्रमणमा थिएँ। त्यहाँका मेरा एक मित्र पत्रकारले पहिल्यै सजग गराउँदै आफूलाई विमानस्थलमा पत्रकारका रूपमा नचिनाउन सुझाव दिए। उनको सुझावका आधारमा मैले आफूलाई सामान्य पर्यटकका रूपमा प्रस्तुत गरें। विमानस्थल अधिकारीहरू पत्रकार नभएका कारणले धेरै चनाखो भएनन्।
पत्रकारका रूपमा प्रस्तुत गरेको भए स्वाभाविक रूपमा उनीहरूको चासो बढी हुन्थ्यो। कतिपयलाई कुनातिर लगेर सोधपुछ पनि गरिने रहेछ। मेरा कतिपय पत्रकार मित्रहरूले मलाई लुकेर भेटे। उनीहरू सरकारसँग साह्रै डराएको महसुस मलाई भयो।
दक्षिण एसियामा कुनै बेला लोकतान्त्रिक भनेर चिनिएका मुलुकहरू पनि अहिले सबैभन्दा अलोकतान्त्रिक भएका छन्। त्यहाँ सरकारविरुद्ध लेख्नु निकै ठुलो जोखिम मोल्नु हो। ती मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता निकै कमजोर अवस्थामा रहेको छ। प्रेस स्वतन्त्रतामाथि अनुसन्धान गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूले यसबारे प्रस्ट उल्लेख गर्दै आएका छन्।
विकासका निम्ति लोकतन्त्र हुनैपर्छ भन्ने छैन। निकै अलोकतान्त्रिक देशले पनि विकासमा फड्को मारेको देखिन्छ। कतिपयका निम्ति लोकतन्त्रभन्दा विकास ठुलो हो भन्ने लाग्छ। त्यसैले उनीहरू अधिनायकवादको पूजा गर्छन्। देश विकास भए पुग्छ, लोकतन्त्र चाहिँदैन भन्ने भावना कतिपय जानेबुझेकै व्यक्तिका अभिव्यक्तिबाट पनि प्रतिबिम्बित हुन्छ। केही वर्षअघि व्यावसायिक सफलता चुमेका केही चर्चित व्यक्तिले समेत ‘बेनोभोलेन्ट डिक्टेटर’ अर्थात् ‘परोपकारी तानाशाह’को खोजी गरेको अहिल्यैजस्तो लाग्छ।
अहिले संसारभरि चुनावका माध्यमबाट तानाशाही हाँक्न चाहनेहरूको समय छ। तिनीहरूको नाम लिइरहनुपर्ने आवश्यकता छैन। ती अहिले यत्रतत्र छन्। अचेल कुनै त्याग र योगदानभन्दा सामाजिक सञ्जालले स्थापना गरेका नेताहरू बढी देखिन्छन्। तिनले मुखमा आएजति बोल्छन् र सर्वसाधारणको मत लिन्छन्। ‘लोकरिझ्याइँ’ मन पराउने नेता र तिनलाई हुर्काउने नागरिक दुवैथरीलाई दुःखले हासिल गरेको स्वतन्त्रताको महत्त्व कम छ। हिजो ‘भित्ताका पनि कान हुन्छन्’ भनी डराएर बाँच्नुपर्ने समयबाट गुज्रिएका हामीलाई स्वतन्त्रता सबैभन्दा प्यारो छ। तर, त्यही स्वतन्त्रता समाप्त पार्ने नेतालाई साथ लिएको देख्दा भने आश्चर्य लाग्छ। लोकतन्त्र त्यति सजिलै आएको होइन। त्यसलाई समाप्त पार्न लोकरिझ्याइँबाट आएकाहरूको खतरा भने सधैं रहन्छ।
विकासका निम्ति लोकतन्त्र चाहिँदैन भने पनि यसलाई दिगो बनाउन भने अवश्य चाहिन्छ। लोकतान्त्रिक शासनले मात्र एक सामान्य व्यक्तिको आवाजसमेत सुनेर बुद्धिमत्तापूर्ण निर्णय लिन्छ। अल्पमतका आवाज पनि सुन्न सक्ने क्षमता लोकतन्त्रमा हुन्छ। अधिनायकवादी शासनमा भन्दा लोकतान्त्रिक शासन व्यवस्थामा वैयक्तिक स्वतन्त्रताको संरक्षण हुन्छ। उदार लोकतन्त्रबेगर अरू कुनै पनि शासन व्यवस्थाले एक व्यक्तिका स्वतन्त्रतालाई समेत वास्ता गर्ने अवस्था हुँदैन।
हाम्रो मुलुकले विश्वभरि आफ्नो उदार छवि प्रस्तुत गर्छ। हाम्रा निकटतम छिमेकी भारत र चीनले समेत सबै मुलुक र व्यक्तिलाई आफ्नो देशमा स्वागत गर्न सक्दैनन्। हाम्रो मुलुक शत्रुतापूर्ण व्यवहार गरिरहेका देशहरूलाई समेत एक ठाउँमा ल्याउने ठाउँ बन्न सक्छ। नेपालले कुनै पनि देशका नागरिकलाई पूर्वाग्रहका आधारमा भ्रमणमा रोक लगाउने गरेको छैन। यसकारण पनि नेपाल द्वन्द्वरत पक्ष र बहुपक्षीय छलफलका निम्ति उपयुक्त थलो बन्न सक्छ।
एउटै सहरमा सीमित सिंगापुरजस्तो सानो देशले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीच सन् २०१८ मा वार्ता गराएर विश्वको ध्यान आफूमा आकर्षित गर्न सक्यो। यस्ता उच्चस्तरीय शिखर भेट र वार्ताको आतिथ्य मुलुक बन्ने नेपालको कोसिस हुने हो भने त्यो निकै लाभदायक हुनेछ।
नेपालले संसारलाई आफ्नो शान्तिप्रिय छविका बारेमा जानकारी गराउन सक्छ। २०५२ देखि २०६२ सालसम्म १० वर्ष सशस्त्र विद्रोहमा संलग्न मुलुकले कति चाँडै शान्तिपूर्ण बाटो समात्यो भन्ने पक्ष सबैका निम्ति चासो हुन सक्छ।
संसारमा शान्ति सम्झौता भएपछि पनि युद्ध फर्केका छन्। नेपाल नै यस्तो मुलुक हो, जो सशस्त्र द्वन्द्वबाट शान्तिमा सजिलै पदार्पण गरेको छ। आन्तरिक द्वन्द्वबाट निस्किन खोजिरहेका मुलुकका निम्ति नेता–भ्रमण र प्रेरणा लिने देश बन्न सक्छ।
नेपाल विविधताको धनी देश हो। प्रायले नेपाललाई सानो देश भनेर चित्रण गर्छन्। यथार्थमा यो सानो देश होइन। त्यसै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका होइनन् ‘के नेपाल सानो छ?’ चीन र भारतजस्ता विशालकाय मुलुक भएका कारण मात्र हाम्रो देश सानो देखिएको छ। नेपाल आफैले पनि आफूलाई यही भौगोलिक अवस्थितिका आधारमा ‘दुई ढुंगाबीचको तरुल’ भन्न पुगेको हो। नेपाल एक लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटर क्षेत्रफलका आधारमा संसारको ९३ औं ठुलो देशमा पर्छ। करिब तीन करोड जनसंख्याका आधारमा नेपाल विश्वका ४१औं घना मुलुकमा पर्छ।
पछिल्लो जनगणनाअनुसार नेपाल एक सय २३ भाषाभाषी र एक सय ४२ जातजातिको घर हो। यसकारण पनि हाम्रो मुलुक सानो होइन। नेपालले आफूलाई संसारमा सबैभन्दा बढी सहिष्णुता, आपसी विश्वास र सम्मानको देशका रूपमा चिनाउन सक्छ। यो हाम्रो देशको सबैभन्दा ठुलो पुँजी हो। हिमाच्छादित पर्वत शृंखलादेखि तराईका अनन्त समथर फाँटहरू प्रमुख आकर्षण हुन्। तर हाम्रो मुलुकको भाषिक, सांस्कृतिक र जातीय विविधता सबैभन्दा ठुलो शक्ति हो।
नेपाल धेरै लामो समयसम्म अधिनायकवादी शासनको छायामा रहेको छ। तथापि २००७ सालपछि कुनै न कुनै रूपमा नेपाल लोकतन्त्रअन्तर्गत रहेको छ। २०१७ देखि २०४६ सालबीच बाहेक पछिल्ला वर्षमा मुलुकमा लोकतान्त्रिक अभ्यास भएका छन्। यसबीच विकासको गति तीव्र नभएको र ठुला संरचना नबनेका कारण पनि सर्वसाधारण धेरै खुसी छैनन्। आजको विश्वव्यापीकरणको समयमा अरू देशले गरेको प्रगति यहाँ सजिलै देखिन्छ। त्यसले पनि आम नागरिकमा अलि बढ्ता निराशा देखिएको हो। त्यो निराशा चिर्ने भनेको तीव्र विकासले नै हो।
अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, अल्पसंख्यकका आवाज लोकतान्त्रिक समाजका आधारभूत पक्ष हुन्। नेपालले यसलाई बचाइराखेको छ। हाम्रो विकासको गति केही ढिलो छ। तर कानुनको शासनले हाम्रो समाजलाई अन्य सभ्य मुलुकभन्दा धेरै अगाडि लैजान सक्छ। यस क्षेत्रका धेरै मुलुकका भन्दा हाम्रो देशको सुखी सूचक पनि उत्कृष्ट रहेको छ।
हाम्रा नागरिक आफूलाई लागेको कुरा बोल्न सक्छन्। कुनै पनि कमजोरीबारे उनीहरू बोल्न सक्छन्। मुलुकको लोकतान्त्रिक चरित्रलाई बचाउन यहाँका संस्थाहरू क्रियाशील हुँदै छन्। नागरिक समाज अझै गतिशील हुँदै छन्। यहाँको प्रेसले शक्तिशालीका गल्ती औंल्याउने गरेको छ। निर्भीक भएर लेखेकै कारण कैयन् भ्रष्टाचार काण्ड सार्वजनिक भएका छन्।
हालै म अर्को पत्रकारहरूको अन्तर्राष्ट्रिय कार्यक्रममा थिएँ। उनीहरूले फेरि मलाई सोधे: ‘के तिमीहरू प्रधानमन्त्रीको आलोचना गर्न सक्छौ?’ मैले भने, ‘हो, हामी सक्छौं। हामी हाम्रा प्रधानमन्त्रीको आलोचना गर्न सक्छौं। त्यति मात्र होइन, बेलाबेलामा हामीलाई प्रधानमन्त्रीले बोलाएर सरकारलाई सल्लाह सुझाव दिन एउटै टेबुलमा छलफल पनि गर्छन्।’
उनीहरू आश्चर्यमा परे। यस्तो काम तिनका देशमा हुन छाडेको छ। तिनीहरू प्रधानमन्त्रीलाई प्रश्न होइन, सेल्फी खिच्न पाउँदा धन्य हुन्छन्। धन्य, हामीले अझै लोकतन्त्रका आधारभूत प्रस्तावना बिर्सिसकेका छैनौं। यस अर्थमा हाम्रो स्थिति अझै अर्थपूर्ण छ।
प्रकाशित: ११ वैशाख २०८१ ०७:४९ मंगलबार