१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

साहारा चितवन बहुउद्देश्यीय सहकारीको सफ्टवेयर प्रहरी नियन्त्रणमा

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। सहकारीका बचतकर्ताको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा प्रहरीले बिहीबार सफ्टवेयर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

‘साहारा सहकारीको अनुसन्धान यसअघिदेखि नै गरेका थियौँ’, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले भने, ‘बचतकर्ताको उजुरी लिएपछि सफ्टवेयर नियन्त्रणमा लिएर हिसाब हेरिरहेका छौँ।’ जनप्रतिनिधि र बचकर्ताको रोहबरमा सफ्टवेयर नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

सफ्टवेयरको हिसाबलाई प्रमाणित गर्न लेखा परीक्षकमार्फत सहकारीको हिसाब प्रहरीले गरिरहेको उनले जानकारी दिए। सबै हिसाबकिताबबारे अनुसन्धान सकिएपछि तथ्य बाहिर आउने उनले बताए।

सहारा सहकारीका सञ्चालक भने फरार रहेको उनले बताए। चितवन प्रहरीले गत माघमा १५ दिने सूचना जारी गरी सहकारीका बारेमा पीडितले उजुरी दिन अनुरोध गरेको थियो। अहिलेसम्म पाँच सयभन्दा बढीले उजुरी दिएको प्रहरीले जानकारी दिएको छ। उजुरीको संख्या अझै बढ्न सक्ने प्रहरी अनुमान छ।

भरतपुर महानगरपालिका– ३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापकसहित ११ जनाविरुद्ध सहकारीमा आबद्ध रहेका निक्षेपकर्ताहरूले रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।

सहकारी संस्था लिमिटेडका सञ्चालक गीतेन्द्रबाबु राई (जीबी) बचतकर्ताको ८५ करोड रकम हिनामिना गरी फरार भएका छन्।

उनीमाथि बचतकर्ताको ८५ करोड रूपैयाँ हिनामिना गरेको आरोप छ। उक्त सहकारीबाट राईसमेत संलग्न अर्को संस्थालाई ४१ करोड रूपैयाँ विनाधितो दिएको जिल्ला प्रहरी कार्यालय चितवनले प्राप्त गरेको विवरणमा उल्लेख छ। 

यहाँबाट उनले सञ्चालन गरेको पोखरा र काठमाडौंको सहकारीमा समेत पैसा लगेको खुलेको छ। उनी स्वयंका नाममा समेत एक करोड ७३ लाख चार हजार ६ सय ९१ रुपैयाँ बिनाधितो झिकेको देखिन्छ।

त्यस्तै राईसमेत संलग्न जिबी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रूपैयाँ सहकारीबाट लगेको देखिन्छ।

यसअघि रवि लामिछाने आबद्ध गोरखा मिडिया नेटवर्कले पनि उक्त सहकारीबाट ११ करोड ९५ लाख ८० हजार रुपैयाँ विनाधितो ऋण लगेको देखिन्छ।

यो विवरण बढ्न सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन्। अनुसन्धान अधिकारीका अनुसार, गोरखा मिडियामा पैसा गएका चेकका भरपाइ फेला परेका छन्। त्यस्तै रिपिङ उड रेड स्टेटले १० करोड २८ हजार रूपैयाँ ऋण लगेको छ।

चितवनमा नारायणगढ, टाँडी र पर्सामा उक्त सहकारीका कार्यालय छन्। पैसा डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएका थिए। संघर्ष समितिका संयोजक शालिकराम दुवाडी वडाध्यक्षदेखि प्रधानमन्त्रीलाई भेटेर अपिल गर्दासमेत बचतकर्ताले आफ्नो रकम पाउन नसकेको बताए।

उनका अनुसार साहाराले दिएको ४५ करोड रूपैयाँ ऋण उठ्न बाँकी छ। त्यसमध्ये ४१ करोड रूपैयाँ जिबी राईसमेत संलग्न कम्पनीले लगेको छ। अघिल्लो साधारणसभामा ८५ करोड रूपैयाँ ऋण देखिएको संयोजक दुवाडीले जानकारी दिए।  

संघर्ष समितिले चितवन– २ का सांसद तथा उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेलाई समेत पटकपटक भेटेर बचत फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका छन्। लामिछानेले आश्वासन दिएको तर पैसा नपाएको दुवाडीले बताए।

बचतकर्ता संघर्ष समितिको अगुवाइमा वडा कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, सहकारी विभाग, गृहमन्त्रालयमा पटकपटक पुगेका छन्।

अनुसन्धानका लागि सहकारी विभागले २०८० साउन २४ गते राष्ट्रिय अनुसन्धान कार्यालयलाई अनुसन्धान गर्न पत्र काटेको छ। सिआइबीले अनुसन्धानका लागि चितवन प्रहरीलाई समेत पत्र पठाएको छ। चितवन प्रहरीमा अहिलेसम्म ४४ करोड रूपैयाँ हाराहारीमा रकम डुबेको भन्दै बचतकर्ताको निवेदन परेको चितवन प्रहरीले जानकारी दिएको छ। 

जिल्ला अदालत चितवनले गत असोज २९ गते जिबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश दिएको छ। कुनै समयमा गोरखा मिडिया नेटवर्कमा काम गर्दा गृहमन्त्रीका पाटनगरसमेत रहेका राई फरार छन्। जसका कारण बचतकर्ताको रकम फिर्ता हुन सकेको छैन।

प्रकाशित: ३० चैत्र २०८० १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App