१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

व्यवसायीमाथि गोली प्रहारले सीमा क्षेत्रमा त्रास

नेपाल–भारत सीमा क्षेत्रभन्दा तीन सय मिटरभित्र नेपालतिर एकजना व्यवसायीमाथि शुक्रबार कार्यालयमै गोली प्रहार भएको छ। गोली प्रहार गर्ने अपराधीलाई प्रहरी नियन्त्रणमा लिन सफल त भयो, तर व्यापार व्यवसाय क्षेत्रमा त्रास बढेको छ।

व्यापार व्यवसाय बढ्ने होली पर्व आउनु एक हप्ता पहिले भएका यस किसिमका घटनाले व्यवसायीमा आशंका, डर र त्रास एकसाथ देखिएको छ। अबेरसम्म चल्ने सीमा क्षेत्रका होटल, किराना तथा अन्य व्यवसायमा पनि चाडपर्वको मुखमा नकारात्मक असर देखा पर्ने व्यवसायी बताउँछन्। स्थानीय हार्डवेयर व्यवसायी राजु सहनी भन्छन्, ‘सीमा क्षेत्रमा चाडपर्वका समयमा यस्ता घटना हुनु हाम्रा लागि त डरलाग्दो अवस्था हो।’

रौतहटको पर्रोहा नगरपालिका ९ सानो घिउरामा शिवम् मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गोली लागेर गम्भीर घाइते भएका छन्। आफ्नो कार्यालयमा रहेका बेला उनीमाथि तीनजनाले  अन्धाधुन्ध फायर गरेका थिए। गोली लागेर घाइते भई साह ढलेपछि अपराधीले लुटपाट सुरु गरेका थिए तर छिनभरमा स्थानीय, व्यवसायी र प्रहरी टोली पुगेकाले अपराधी समातिए।

गोली प्रहार गरी लुटपाट गर्न खोज्ने तीनैजना भारतीय हुन्। भारत बिहार प्रान्तको मोतीहारी जिल्लाका १७ वर्षीय मनीष यादव, १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाई स्थानीयको सहयोगमा प्रहरीले समातेको हो।

घटनामा गोली लागेका साहको स्थिति चिन्ताजनक रहेको छ। कन्चटमा गोली लागेका साहलाई गौरस्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विरगन्ज पठाइएको छ। घटनालगत्तै प्रहरीले सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केही घन्टा सीमा सिल गरेको थियो।

प्रकाशित: २ चैत्र २०८० १८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App