सरकारले मदिरा, चुरोट र गुट्खा उद्योगलाई लाइसेन्स दिने तयारी गरेको समाचारप्रति उपभोक्ता जागरण अभियान नेपालले आपत्ति जनाएको छ।
अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै स्वास्थ्यलाई हानिकारक वस्तु उत्पादनको अनुमति नदिन सरकारलाई आग्रह गरेका छन्।
अभियानले सञ्चारमाध्यममा आएका समाचारलाई उद्धृत गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले उद्योगीको स्वार्थमा नयाँ उद्योगलाई लाइसेन्स दिने तयारी गरेको दाबी गरेको छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको अवस्थामा यस्ता उद्योगलाई लाइसेन्स दिनु अदालतको अवहेलना हुने भन्दै अभियानले ध्यानाकर्षण गराएको छ।
उपभोक्ताको स्वास्थ्य र सम्पत्ति संरक्षणमा गम्भीर हुन अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरेको अध्यक्ष भण्डारीले बताए।
सुर्तीजन्य पदार्थको सेवनले वार्षिक २७ हजारभन्दा बढी नेपालीको ज्यान जाने तथ्यांक प्रस्तुत गर्दै भण्डारीले लाइसेन्स वितरण प्रक्रिया तत्काल रोक्न मन्त्री भण्डारीलाई आग्रह गरेका छन्।
सुर्तीजन्य पदार्थले क्यान्सर, दम, मुटुरोगजस्ता रोगको उपचारमा ठूलो खर्च हुने तथ्यलाई बेवास्ता गरी सीमित उद्योगीलाई फाइदा पुर्याउन यस्ता उद्योगको अनुमति दिनु चिन्ताजनक भएको भन्दै अभियानले निर्णय सच्याउन माग गरेको छ।
प्रकाशित: ३ वैशाख २०८२ १०:५४ बुधबार





