अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप कर नीति लागू गर्नुअघि चीनले २०२५ को पहिलो तीन महिनामा अपेक्षाकृत आर्थिक वृद्धि हासिल गरेको छ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार, पहिलो त्रैमासिकमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ५.४ प्रतिशत पुगेको दाबी गरेको छ। यो वृद्धि रायटर्सद्वारा गरिएको ५० भन्दा बढी अर्थशास्त्रीहरूको सर्वेक्षणको अपेक्षासँग मेल खान्छ। यो सँगै २०२४ को अन्त्यमा चीनको निर्यातमा देखिएको बलियो गतिलाई निरन्तरता दिएको छ।
विगतको प्रवृत्तिलाई कायम राख्दै राष्ट्रिय अर्थतन्त्रले स्थिर र सकारात्मक सुरुवात गरेको ब्यूरोका उपनिर्देशक शेङ लाइयुनले उल्लेख गरेका छन्। चेतावनी दिँदै उनले भनेका छन्, ‘हामीले यो पनि हेर्नुपर्छ कि बाह्य वातावरण झन् जटिल र गम्भीर बन्दैछ, र देशको प्रभावकारी मागको वृद्धि अपर्याप्त छ।’
अमेरिकासँगको बढ्दो व्यापार युद्धको बीचमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रले महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ। बाह्य दबाबका अतिरिक्त, चीन घरजग्गा क्षेत्रको संकट, बेरोजगारी, मूल्य घट्ने जोखिम र उपभोक्ताहरूको खर्च गर्ने अनिच्छाजन्य समस्याहरूसँग जुधिरहेको छ।
चीन सरकारको हालैको तथ्याङ्कअनुसार, २०२५ को पहिलो तीन महिनामा अर्थतन्त्र वार्षिक ५.४ प्रतिशतले वृद्धि भएको छ।
अमेरिकाले चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाएको छ। जवाफमा चीनले पनि १२५ प्रतिशत शुल्क लगाएको छ। अमेरिका–चीनबीच जारी व्यापार युद्धले वैश्विक प्रभाव अझ डरलाग्दो हुने डर देखिएको छ।
ट्रम्पको करको जवाफमा बेइजिङले अर्थतन्त्रलाई सन्तुलनमा राख्न थप प्रोत्साहन कार्यक्रमहरू ल्याउन दबाब थेग्नुपर्ने देखिन्छ। एजेन्सीको सहयोगमा
प्रकाशित: ३ वैशाख २०८२ ११:२१ बुधबार





