१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

हुम्ला आगलागी : दुई गम्भीर घाइते, पाँच घर खरानी

सर्केगाड गाउँपालिका-२ मा आगलागीबाट दुई जना घाइते भएका छन्। आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए।

फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फडेरा र बम्बु फडेर घाइते भएका छन्। आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ। घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ।

‘आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेराको घर जलेको अवस्थामा छन् भने रमेश महतारा, मोहन महताराको सामान जलेर नष्ट भएका छन्। कति क्षति भएको भन्ने यकिन विवरण अहिलेसम्म आएको छैन’, आगलागी नियन्त्रणमा खटिएका विजय फडेराले नेपालवोटसँग भने, ‘राति आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो।’

रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए। आगलागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। ‘सर्केगाड प्रहरीचौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण यकिन गर्न सकिएको छैन’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले भने, ‘घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भइरहेको छ भने अहिले आगो पनि नियन्त्रणमा ल्याइएको छ।’

घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सिनालगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ।

घाइतेलाई अस्पतालमा ल्याउनेबित्तिकै इर्मेजेन्सी उपचार गरिएको जानकारी दिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले श्रीमान् लैबाको शरीर ५४ प्रतिशत जलेको जानकारी दिए।

‘लैबुको ५४ प्रतिशत शरीर आगोले खाएका कारण जिल्लामा उपचार अलि जटिल छ’, डा तिवारीले नेपालवोटसँग भने, ‘श्रीमती बम्बुको १८ प्रतिशत शरीरलाई आगोले खाएका कारण जिल्लामै उपचार सम्भव छ।’ डा तिवारीका अनुसार लैबुलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ। अहिले बिहान जहाज आउनेबित्तिकै प्रदेश अस्पताल वा अन्यत्र पठाउने तयारी जिल्ला अस्पतालले गरेको छ। रासस

प्रकाशित: ११ पुस २०८२ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App