चाडपर्वहरू केवल तिथिमितिमा मनाइने परम्परा मात्र नभई समाजलाई जोड्ने, सम्बन्धहरूलाई बलियो बनाउने र सुख-दुःख साटासाट गर्ने माध्यम पनि हुन्।
रङहरूको पर्व होली अर्थात् फागु पूर्णिमाले पनि यही सन्देश दिन्छ। तर, नेपालको सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा मनाइने होलीको रौनक र अर्थ भने अन्य स्थानको तुलनामा नितान्त फरक र विशिष्ट छ।
जहाँ देशका अधिकांश भाग र तराईमा एक दिन उल्लासका साथ होली मनाएर टुंग्याइन्छ, त्यहीँ सुदूरपश्चिमका पहाडी भेगमा भने यो पर्व तीन दिनसम्म लामो उत्सवका रूपमा मनाइने गरिन्छ।
सुदूरपश्चिमका विशेषगरी दार्चुला, बैतडी, डोटी र बझाङ जस्ता पहाडी जिल्लाहरूमा होलीले सामाजिक एकताको महाउत्सवको रूप लिन्छ। यहाँ फागुन १६ गतेदेखि सुरु भएर १८ गतेसम्म लगातार तीन दिन होली मनाउने परम्परागत चलन छ।
दार्चुलाका स्थानीय बासिन्दा करणसिंह ठगुन्नाका अनुसार होली यहाँका लागि वसन्त ऋतुको आगमनको सूचक मात्र नभएर खुसीको पर्याय हो। उनी भन्छन्, ‘होली रङ्गहरूको चाड हो, तर सुदूरपश्चिममा यसको गहिराइ फरक छ। यहाँ तीन दिनसम्म मानिसहरूले विभिन्न प्रकारका रङ्गहरू लगाएर एक-अर्कालाई रङ्गिन बनाउँदै आत्मीयता साटासाट गर्छन्। यहाँ होली आउनु भनेकै गाउँमा खुसी छाउनु हो।’
सुदूरपश्चिमको होलीको सबैभन्दा सुन्दर र अनुकरणीय पक्ष भनेको यसको सामाजिक उत्तरदायित्व हो। यहाँ होली खेल्नु भनेको रङ दलेर रमाइलो गर्नु मात्र होइन, गाउँको विकास र आपतकालीन सहयोगका लागि स्रोत जुटाउनु पनि हो।
स्थानीय ठगुन्नाका अनुसार होलीमा घर–घर गएर पैसा र चामल संकलन गर्ने चलन छ। तर, यसरी संकलन भएको रकम कुनै व्यक्तिगत प्रयोजन वा रक्सी-मासुमा मात्र खर्च गरिँदैन।
‘घर-घर पुगेर संकलन गरिएको सहयोग रकम गाउँकै साझा आवश्यकतामा खर्च गरिन्छ,’ ठगुन्नाले भने। उनका अनुसार होली खेलेर उठेको पैसाले गाउँका विवाह-भोजका लागि आवश्यक पर्ने ठूला भाँडाकुँडा किन्ने, सार्वजनिक शौचालय बनाउने वा खानेपानीको व्यवस्था गर्ने जस्ता काम गरिन्छ।
अझ महत्त्वपूर्ण कुरा त, अस्पताल टाढा भएका पहाडी भूगोलमा बिरामी बोक्न आवश्यक पर्ने स्ट्रेचर जस्ता अत्यावश्यक सामग्री किन्न पनि यही कोषको प्रयोग गरिन्छ।
बाँकी रहेको रकमलाई गाउँलेहरूले ‘इमर्जेन्सी खाता’ वा सामाजिक कोषमा जम्मा गर्ने गरेका छन्। कुनै विपत्ति पर्दा वा कसैलाई आपतकालीन सहयोग चाहिएको खण्डमा यो रकम प्रयोगमा आउँछ।
केही रकम र संकलित अन्नको सदुपयोग गर्दै गाउँका सम्पूर्ण मानिसहरू वनभोज गएर सामूहिक भोजन गर्ने र रमाइलो गर्ने चलनले गाउँको एकतालाई थप मजबुत बनाएको छ। यस अर्थमा सुदूरपश्चिमको होली मनोरञ्जन मात्र नभएर स्थानीय स्तरको अनौपचारिक सहकारी वा बिमा जस्तै प्रभावकारी बनेको देखिन्छ।
सुदूरपश्चिमको होलीमा गीत, संगीत र नृत्यको विशेष स्थान रहन्छ। यहाँको होलीमा बच्चादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिसहरू नाचगानमा व्यस्त हुन्छन्।
विशेषगरी महिलाहरूको सहभागिताले यो पर्वलाई अझ आकर्षक बनाउँछ। महिलाहरू एउटै रङको साडी लगाएर सामूहिक रूपमा बाजागाजाको तालमा परम्परागत नृत्य गर्दै होली खेल्ने परम्परा यहाँ अझै जीवित छ।

स्थानीय बाजाहरू, ढोल र दमाहाको तालमा गाइने होली गीत र खेलिने देउडाले यहाँको वातावरण गुञ्जायमान हुन्छ। हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ धुमधामले पर्व मनाइन्छ।

ठगुन्ना भन्छन्, ‘सुदूरपश्चिममा होलीको अर्थ झनै व्यापक छ। रङसँगै यहाँ सहयोगको भावना पनि मिसिएको हुन्छ। यसले हाम्रो मौलिक संस्कृति र देउडा शैलीको जगेर्ना गर्न पनि मद्दत गरेको छ।’
धार्मिक दृष्टिकोणले हेर्दा होली असत्यमाथि सत्यको विजयको प्रतीक हो। पौराणिक कथाअनुसार भक्त प्रह्लादको रक्षा र होलिकाको दहनसँग जोडिएको यो पर्वले सदाचार, विश्वास र सकारात्मकताको सन्देश दिन्छ।
भौगोलिक रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशभित्रै पनि होली मनाउने शैलीमा विविधता पाइन्छ। कैलाली र कञ्चनपुर जस्ता तराईका जिल्लाहरूमा मधेशी समुदायको बाहुल्यता र प्रभावका कारण प्रायः एक दिन विशेष उत्साहका साथ रङ र अबिर खेलेर होली मनाइन्छ। तर, पहाडी जिल्लाहरूमा भने गीत, ढोल र देउडा शैलीका सांस्कृतिक कार्यक्रम र सामूहिक भेला नै यसको मुख्य विशेषता हो।
‘यहाँ होलीले गाउँलाई एकै ठाउँमा उभ्याउने अवसर दिन्छ,’ ठगुन्ना भन्छन्, ‘होली मनाउनकै लागि सहरबाट गाउँ फर्कनेहरूको लर्को लाग्छ। यो गाउँको आत्मीयता जोगाउने परम्परा हो।’
प्रकाशित: १८ फाल्गुन २०८२ १६:२८ सोमबार





