१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

म्याद नाघेका अश्रुग्यासका भरमा प्रहरी

ललितपुरको बालकुमारीमा गत पुस १३ गते प्रदर्शनकारीले जलाएको सरकारी गाडी। फाइल तस्बिर : नागरिक

मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रु ग्यासको चरम अभाव झेल्नुपरेको छ। १० वर्षदेखि नेपाल प्रहरीले यस्ता उपकरण खरिद गरेको छैन। यसैकारण अहिले अभाव देखिएको हो। 

नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग हुने अश्रुग्यास र उपकरण अभावकै कारण कतिपय सन्दर्भमा सशस्त्र प्रहरीसँग सापटी लिनुपरेको छ भने कतिपय सन्दर्भमा आफूसँगै भएका सामग्री प्रयोग गर्न प्रहरी हिचकिच्याउनुपर्ने अवस्था छ। ‘फिल्डमा खटिएका प्रहरी आफूले प्रयोग गरिरहेका सामग्रीप्रति आफैं विश्वस्त हुन सकिरहेका छैनन्’, प्रहरी प्रधान कार्यालय कार्य विभागका एक अधिकारीले भने।

नेपाल प्रहरीसँग मौज्दात अश्रुग्यासको म्याद गुज्रेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीसँग अहिले म्याद गुज्रेको अश्रुग्यास ३० हजार सेल छ। केही समययता प्रहरीले भीड नियन्त्रणका लागि त्यही म्याद सकिएको अश्रुग्यास प्रयोग गर्दै आएको छ।

‘सरकारले अश्रुग्याससहित उपकरण खरिद गर्न अनुमति दिएको छैन, प्रहरीसँग जे छ, त्यही प्रयोग गर्ने हो, भीड नियन्त्रण गर्ने दायित्व प्रहरीको हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने। सरकारले बजेट नदिएकै कारण प्रहरीले भीड नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गर्न नसकेको हो।

प्रहरी महानिरीरक्षक वसन्त कुँवरले पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यस विषयमा जानकारी गराए पनि उनले कुनै चासो दिएनन्। गत पुसमा ललितपुरको बालकुमारीमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले म्याद गुज्रेको अश्रुग्यास प्रयोग गरेको थियो। म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्दा त्यसले काम नगरेकाले भीड नियन्त्रण समयमै हुन नसकेको र दुई प्रदर्शनकारीको ज्यान गएको जानकारी पनि प्रहरीले तत्कालीन गृहमन्त्री श्रेष्ठलाई गराएको थियो।

‘तर सरकारमा रहेको राजनीतिक नेतृत्व प्रहरीलाई मात्र दोष दिन्छ, प्रहरीलाई आवश्यक सामग्री खरिद गर्न दिँदैन। अश्रुग्यास, उपकरण अभावमा प्रहरीले समयमै भीड नियन्त्रण गर्न सकिरहेको छैन’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने। व्यक्तिगत सुरक्षा उपकरण (राइट कन्ट्रोल गियर) ढाललगायतका अन्य थुप्रै सामग्रीको प्रयोग अवधि सकिएको छ।

नेपाल प्रहरीका महानिरीक्षक कुँवर पनि प्रहरीसँग भीड नियन्त्रण सामग्री अभाव भएको स्वीकार्छन्। ‘यो विषयमा सरकारलाई जानकारी छ। खरिद नभएको कति वर्ष भयो भन्ने पनि सरकारलाई जानकारी छ,’ कुँवरले भने। प्रहरीका अर्का एक अधिकारीका अनुसार हातखुट्टा बाँधेर शान्ति, सुरक्षा कायम गर भनेर पठाइएको अवस्थामा प्रहरी छ। ‘तालिम राम्रोसँग हुन पाएको छैन, तालिममा चाहिने उपकरण छैन, भीड नियन्त्रणका लागि आवश्यक सामग्री छैनन्, कहिले सेना त कहिले सशस्त्र प्रहरीसँग भर पर्नुपर्ने अवस्था छ,’ प्रहरी स्रोतले भन्यो।

सरकारले २०७९ असारमा कमिसन मोहमा ८४ करोड रूपैयाँको हतियार खरिद गर्न लागेको थियो। तर नागरिक दैनिकले हतियार खरिदमा कमिसनको चलखेल भन्ने समाचार संप्रेषण गरेपछि प्रक्रिया रोकिएको थियो। त्यतिबेला सरकारले नियमित बजेटबाट भन्दा पनि रकमान्तर गरेर करिब ८४ करोडको हतियार खरिद प्रक्रिया अघि बढाएको थियो।

सरकारले बजार मूल्यभन्दा धेरै गुणा महँगो हतियार किन्न लागेको समाचार आएपछि प्रक्रिया रोकिएको थियो। तर सरकारले भीड नियन्त्रण सामग्री र उपकरण खरिदमा भने ध्यान दिएको छैन। प्रहरी उपकरणबिना भीड नियन्त्रणमा खटिनुपर्ने अवस्था छ। नेपाल प्रहरीले घातक सुरक्षा सामग्रीबाहेक अन्यको अभाव रहेको विवरण गृह मन्त्रालयमा पटकपटक पठाए पनि खरिद अनुमति पाएको छैन।

‘शान्ति, सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको हो भन्ने सबैलाई थाहा छ, भीड नियन्त्रणमा प्रहरी खटिनुपर्छ भन्ने पनि सबैलाई थाहा छ। भीड नियन्त्रण भएन भने प्रहरीले गाली मात्र होइन, कारबाही भोग्नुपर्छ। तर पनि सरकारको ध्यान प्रहरीलाई नभइनहुने सामग्री खरिदतर्फ भन्दा सरुवा, बढुवातिर मात्रै छ’, प्रहरीका ती अधिकारीले भने।

तराईमा दुर्गा र सरस्वतीको मूर्ति सेलाउँदा हिन्दु र मुस्लिम समुदायबीच झडप हुने गरेको छ। विश्वकर्मा पूजाको बेला पनि मूर्ति सेलाउने विषयमा झडप हुने गरेको छ। पछिल्लो पटक भइरहेका व्यवस्था विरोधी आन्दोलन, मिटरब्याज, लघुवित्त र सहकारीपीडितको आन्दोलनलाई नियन्त्रण गर्न अप्ठेरो भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गत पुसमा सर्लाहीको बरहथवामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोलीबाट जयशंकर शाह मृत्यु भएको थियो। प्रहरीसँग गैरघातक उपकरण भएको भए भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नु पर्दैनथ्यो। प्रहरीले म्याद सकिएको अश्रु ग्यास र पुराना भएका उपकरण विस्थापन गर्नुपर्ने प्रस्ताव गत माघमा गृह मन्त्रालयमा पठाए पनि तत्कालीन गृहमन्त्रीले चसो नदिएको स्रोत बताउँछ।

‘भीड नियन्त्रणमा प्रयोग गरिने सामाग्रीहरूको म्याद गुज्रेको छ, प्रहरीले पटकपटक खरिद गर्न प्रस्ताव गरेको छ तर सरकारले खरिद गर्न स्वीकृति दिँदैन, प्रहरीसँग बजेट छैन,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

प्रहरीले पछिल्लो पटक भीड नियन्त्रणमा खटिने सुरक्षाकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (राइट कन्ट्रोल गियर) ८ हजार ८ सय थान, २४ हजार राउन्ड अश्रुग्यास, भीडलाई तर्साउन-चेतावनी दिन प्रयोग हुने १ लाख ‘ब्ल्यांक राउन्ड’, रबरका बुलेट २ लाख राउन्ड, २ हजार थान ‘ह्यान्ड स्मोक ग्रिनेड’, करिब ५ हजार थान मल्टी ग्यास गन सेल, पेपर स्प्रेलगायत किन्नुपर्ने प्रस्ताव मन्त्रालयमा पठाएको छ। यति सामग्री खरिद गर्ने हो भने प्रहरीलाई तत्कालका लागि कुनै समस्या नहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८० ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App