१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

खै सीमा स्तम्भ? खोलाले बगायो...

दुई देशबीच छलफलै भएन स्तम्भ राख्ने स्थानबारे

फाइल तस्बिर

नेपाल–भारत सीमाअन्तर्गत दाङमा खोलाएको बगाएको सीमा स्तम्भ करिब एक दशक बढी समय भइसक्दा पनि स्थापना गरिएको छैन।

नेपाल–भारत सीमाअन्तर्गत गढवा गाउँपालिका वडा नं. ८ को खबरी खोलामा रहेको सीमा नम्बर ६०२ को सहायक १ नम्बरको सीमा स्तम्भ करिब दश वर्षअघि खोलाले बगाएको थियो।

खोलाले बगाएको करिब १० वर्ष बढी समय भइसक्दा पनि अझै निर्माण हुन नसकेको छैन। 

सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल श्रेष्ठले भने, ‘नेपाल–भारत सीमाअन्तर्गत ७७ वटा सीमा स्तम्भहरू हुन। त्यसमध्ये खवरी खोलामा रहेको सीमा स्तम्भ खोलाले बगाएपछि निर्माण हुन सकेको छैन।’  

नापी विभागका नापी अधिकृत पवनकुमार खत्रीका अनुसार खोलाले बगाएको सीमा स्तम्भ पुनः सोही स्थानमा स्थापना गर्दा जोखिमपूर्ण रहेको र नयाँ स्थानमा सार्न नमिल्ने भएका कारण निर्माण हुन नसकेको बताए। 

उनका अनुसार उक्त सीमा स्तम्भ र खोलाको बिच भागमा पर्ने भएकाले पुन निर्माण गर्दा पुनः बगाउने जोखिम छ। नापी विभागका नापी अधिकृत खत्रीले भने, ‘सीमा क्षेत्रमा रहेको ६०२ मुख्य सीमा स्तम्भको सहायक स्तम्भका रूपमा रहेको १ नम्बर सीमा स्तम्भ २०७४/०७५ सालअघिदेखि नै निर्माण हुन सकेको छैन। पुरानो स्थानमा स्थापना गर्दा फेरी खोलाले बगाउने जोखिम छ।’

तर नयाँ ठाउँमा सीमा स्तम्भ राख्दा दुवै देशको संयुक्त सुरक्षा समितिको बैठकले नयाँ ठाउँका बारेमा सहमति कायम गर्नुपर्छ। तर अहिलेसम्म यो विषयमा दुई देशीय छलफल भएको छैन।  

‘नयाँ स्थानमा सीमा स्तम्भ निर्माण गर्न दुई देशीय सुरक्षा समितिको सहमति अनिवार्य हुनुपर्छ,’ उनले भने  ‘तर अहिले सम्म यो निर्णय नभएका कारण खोलाले बगाएको लामो समय भइसक्दा पनि निर्माण हुन सकेको छैन।’

प्रकाशित: २१ मंसिर २०८० ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App