१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्नपूर्ण आधार शिविर प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।

समुन्द्री सतहदेखि ४ हजार ३०५ मिटर उचाइमा रहेको अन्नपूर्णको उत्तरी आधार शिविरको अवस्था र पूर्वाधार निर्माण गर्ने योजनाको उद्देश्य राखी नारच्याङ हुँदै अन्नपूर्ण हिमालको प्रथम आरोही मौरिस हर्जोगको नाममा निर्मित पदमार्गको प्रयोग गरी विज्ञहरूको टोली आधार शिविर पुगेको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, नेपाल सरकारका पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी, पर्यटन विज्ञ तथा सिटिइभिटीका पूर्व सदस्य सचिव रामहरि लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, पदमार्ग पहिचानकर्ता तथा पर्यटन व्यवसायी तेज गुरुङ लगायत गाउँपालिकाका कर्मचारी, जिल्लाका सञ्चारकर्मी तथा स्थानीय अगुवासहितको २५ जनाको टोली हुमखोलादेखि दुई दिनको पैदल यात्रामा आधार शिविर पुगेर फर्किएको छ।

मौरिज हर्जोग अन्नपूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर बनाएको पदमार्गमा पर्यटक भित्र्याउन र पूर्वाधार निर्माणका लागि सुझाव लिन विज्ञसहितको पदयात्रा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।

हुमखोला हुदै गुराँसे डाँडा, फुतफेते झरना, साँधीखर्क, भुुसकेत, चार हजार १९५ मिटर उचाइमा रहेको नारच्याङ पञ्चकुण्ड ताल हुँदै आधार शिविरसम्म पैदलयात्रा गरिएको थियो।

पदयात्रा टोलीमा सहभागी वित्त आयोगका अध्यक्ष पौडेलले अन्नपूर्ण हिमाल आरोहरणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दाबीलाई तथ्य र तथ्यांकसहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने बताए।

झोलुंगे पुल, विश्रामस्थल, आश्रयस्थललगायत पर्यटन पूर्वाधार तयार भएपछि यसपालिको शरदयाममा पहिलो पटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए। नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्न हुमखोलासम्म निलगिरि खोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ।

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ। एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरूलाई अन्नपूर्ण नर्थ बेसक्याम्प आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको पूर्व मुख्य सचिव सोमलाल सुवेदीले बताए।

छोटो समयमा सहज रूपमा पुग्न सकिने अन्नपूर्ण आधारशिविर रमणीय र मनमोहक रहेको छ। पदमार्गमा होटल, सञ्चार, सुरक्षा, खानेपानी, विद्युत्, सरसफाइका पूर्वाधार बनाउन सुझावसमेत दिइएको छ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए।

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो।

हर्गोज आरोहणका लागि आधारशिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो।

अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुंगे पुल, आश्रयस्थल लगायत पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ४० लाख रूपैयाँभन्दा बढी लगानी गरेका छन्।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ।

अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रूपमा रहेको छ।

प्रकाशित: १६ मंसिर २०८० ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App