२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रासायनिक विषादीको विकल्प खोज्दै चितवनका किसान

उत्पादन बढाउन किसानले रासायनिक विषादीको प्रयोग व्यापक गरेको पाइन्छ । अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोग बिना उत्पादन गर्न नै छाडेका छन् । तर केही किसानहरुले रासायनिक विषादीको प्रयोग नगरि उत्पादन राम्रै गरिरहेका छन्।  

भरतपुर महानगरपालिका २५का छविलाल न्यौपाने जैविक विषादी र प्राङगारिक मलको  प्रयोगबाट उत्पादन राम्रै लिइरहेका छन्। १६ विगाहा क्षेत्रफलमा खेती गरेका न्यौपानेले ४ विगाहामा बाह्रै महिना रासायनिक विषादी नहाली तरकारी उत्पादन गर्दछन्। उनको बाँकी १२ विगाहा जमिनले पनि रासायनिक पदार्थ देख्न पाउँदैन। यद्यपि उत्पादनमा भने कमी नभएको उनले बताए।

‘रासायनिक मल, विषादी र औषधि किन्न धेरै पैसा खर्च हुन्छ । यताबाट एक लाख रूपैयाँ कमायो, उता पसलमा त्योभन्दा बढीको बिल बनिरहेको हुुन्थ्यो,’ उनले भने, ‘अहिले मेरो एग्रोभेटको बिल शुन्य हुन्छ । उत्पादन पनि घटि छैन।’ उनले प्राङगारिक खेतीबाट लगानी उठाउन गाह्रो नहुने बताउँछन्।  

२०५० को दशकको मध्यतिरबाट व्यवसायीक रुपमा खेती गरेका न्यौपानेले सुरुवाती दिनमा रासायनिक पदार्थको व्यापक प्रयोग गर्दर्थे । तर, विषादीले माटो बिगारेपछि माटो सुधारमा लागेका हुन्।  

‘जैविक विषादी र मल आँफै बनाउँछु, रोग लाग्दा जैविक विषादी प्रयोग हुन्छ,’ उनले भने, ‘रासायनिक विषादी प्रयोग गर्न छाडेपछि माटोमा अम्लियपन समेत घट्दै गयो। ’तरकारी बाहेक धान, मकै, गहुँ, तोरी लगाउँछन्। यी बालीमा रासायनिक मल राख्न अन्य किसान दिनभर लाईन बस्छन्। उनीलाई भने त्यो दुःख छैन । रासायनिक विषादी प्रयोग गरेर उत्पादन गरेका वस्तुसंग प्रतिस्प्रर्धा गर्न सकिने उनको दावि छ।  

 ‘हाम्रो बारी बिग्रिएर विषादी नहाली उत्पादन हुने अवस्था थिएन। हाम्रो स्वास्थ्य पनि विषादीकै कारण बिग्रिरहेको थियो,’ प्राङ्गारिक खेती गर्दाका सुरुवाती दिन सुनाउँदै बगालेले भनिन्, ‘परिवारको दबावका बीचमा यस खेती तर्फ लागेकी छु।’ 

कालिका नगरपालिका ५की अम्बिका बगालेको बालीमा पाँच बर्ष अघिसम्म रासायनिक विषादीको प्रयोग हुन्थ्यो। तर, चारदेखि भने रासायनिक पदार्थ प्रयोग भएको छैन। पेशाले शिक्षिका भएकी बगाले १२ कठ्ठा जग्गामा प्राङगारिक खेति नै गरेकी छन्। ‘हाम्रो बारी बिग्रिएर विषादी नहाली उत्पादन हुने अवस्था थिएन। हाम्रो स्वास्थ्य पनि विषादीकै कारण बिग्रिरहेको थियो,’ प्राङ्गारिक खेती गर्दाका सुरुवाती दिन सुनाउँदै बगालेले भनिन्, ‘परिवारको दबावका बीचमा यस खेती तर्फ लागेकी छु।’ उनले पहिलो र दोस्रो बर्ष त्यति राम्रो उत्पादन गर्न सकिनन्। तर, तेस्रो बर्षदेखि भने उत्पादन बढ्दै गएको बताईन्। ‘हाम्रो माटो बिग्रिसकेको छ। त्यसलाई सुधार गर्न एक दुई बर्ष लाग्न सक्छ,’ उनले भनिन्, ‘त्यसपछि हाम्रो उत्पादनमा कमी आउँदैन।’ उनले असुरो, निम, तितेपाती लगायतका वनस्पतीबाट जैविक मल बनाउने गर्दछिन्।  

किसानहरुको सबभन्दा ठूलो समस्या रासायनिक मलको अभाव हो। खेती लगाउने समयमा मल नपाउँदा उत्पादन बढाउन नसकिएको गुनासो गर्दछन्। यद्यपि गितानगरका दिलिप सिंह गुरुङलाई रासायनिक मलको कुनै चिन्ता छैन। करिव एक विगाहामा खेती गर्दै आएका गुरुङले प्राङगारिक मल हालेर नै उत्पादन बढाइरहेका छन्। भारतीय सेनाबाट निवृत्त भएर आएदेखि नै गुरुङ प्राङगारिक खेतीमा तल्लिन भएका हुन्। ‘पञ्जाबमा १२ बर्ष बसेँ । त्यहाँ विषादी बढी प्रयोग गरिन्छ। जसका कारण क्यान्सरका बिरामी अधिक छन् । यहाँपनि विषादीको प्रयोग बढिरहेको रहेछ,’ उनले भने ‘जनचेतना जगाउनकै लागि प्राङ्गाकि खेती गरेको हुँ।’ यसरी खेती गर्दा उत्पादन नघटेको उनले बताए।  

गतबर्ष परीक्षण गरिएको चितवनको माटोमा ५५ प्रतिशतसम्म अम्लियपन भेटिएको थियो। प्राङगारिक खेतीका लागि पशुपालन आवश्यक छ। वस्तुभाउको मल, झारपात कुवाएर बनाएको मलले माटोलाई खाद्यत्व पुग्छ। प्राङगारिक मलको अपुगका कारण विभिन्न रोगहरु लाग्ने कृषकहरु बताउँछन्।  

चितवनमा प्राङ्गारिक कृषि प्रमाणीकरण अभियान समेत थालेका छन्। चितवनमा जिल्ला प्राङगारिक संघ चितवन अन्तर्गतका २९ जना कृषकहरुले अगार्निक सिटिफिकेसन नेपाल (ओसिएन) प्राप्त गरेका छन्। उनीहरुले ३६ दशमलव ४ हेक्टर क्षेत्रफलमा खेती गरेका छन्। त्यसबाहेक अन्य किसानले पनि प्राङगारिक खेती गरेको पाइन्छ। अहिले प्राङ्गारिक उत्पादनको लागि बजारिकरणमा समस्या रहेको कृषक रमा ढुंगाना बताउँछिन्।  

नेपालमा करिव २ लाख हेक्टरमा २ लाख किसानले प्राङ्गारिक खेती गरेको तथ्यांक छ । कृषि ज्ञान केन्द्र चितवनका निमिक्त प्रमुख मीन बहादुर पुन प्राङ्गारिक खेतीको प्रवद्र्धनमा लागेको उनले बताए। ‘प्राङ्गारिक खेतीको बजारिकरणका लागि प्याकेजिङ गर्ने र विक्रेतालाई सहयोग गर्ने काम गर्यौ । त्यति सफल भएको पाइँदैन,’ उनले भने ‘प्राङ्गारिक पदार्थको उत्पादन खोजेर खाने उपभोक्ताको कामी पाएका छौँ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख धनबहादुर थापा उपभोक्ताहरु प्राङगारिक तरकारी हो भन्ने कुरामा विश्वस्त हुन नसकेको बताउँछन्। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी स्वास्थ्यका लागि गरिने खेतीलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। ‘खेती प्रणालीबाट क्यान्सर जस्ता रोगहरु लागिरहेका छन्,’ उनले भने ‘स्वास्थ्यका लागि गरिने खेतीलाई व्यवस्थित गर्न राज्यले लगानी गर्नुपर्दछ।’

प्रकाशित: २३ जेष्ठ २०८० ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App