१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आतङ्ककारीलाई उनीहरुले कल्पना गरेको भन्दा बढी सजाए दिन्छाैं: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणका दोषीहरूमाथि कठोर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले ‘‘एक–एक आतङ्ककारी र तिनका समर्थकलाई चिन्न, पछ्याउन र सजाय दिन’’ भारत प्रतिबद्ध रहेको बताए। उक्त आक्रमणमा २८ जनाको मृत्यु भएको थियो।

प्रधानमन्त्रीले घटनाप्रति गहिरो पीडा महसुस गरेको सुनाए। ‘‘२२ एप्रिलमा जम्मु–कश्मीरको पाहलगाममा आतङ्ककारीहरूले निर्दोष नागरिकको ज्यान लिए। देश दुखी छ, पीडित परिवारसँग हामी छौँ,’’ उनले भने।

मोदीले आतङ्ककारीहरूलाई कल्पना नगरेको किसिमको सजाय दिइने दाबीसमेत गरे। ‘‘दण्ड यति कडा हुनेछ, जुन उनीहरूले कल्पना समेत गरेका छैनन्। भारतको आत्मा आतङ्कवादबाट कहिल्यै झुकेन, न त झुक्नेछ,’’ उनले थपे।

बिहारको भूमिबाट विश्वलाई सन्देश दिँदै प्रधानमन्त्रीले भारतले आतङ्कवादविरुद्धको लडाइँलाई कडाइका साथ अगाडि बढाउने बताए। ‘‘भारत प्रत्येक आतङ्ककारी र तिनका समर्थकलाई चिन्नेछ, खोज्नेछ र अन्तसम्म पछ्याएर कारबाही गर्नेछ,’’ उनको भनाइ थियो।

प्रधानमन्त्रीले मानवतामा विश्वास गर्ने सबै देश र जनताको ऐक्यबद्धताको प्रशंसा गर्दै आतङ्कको विरुद्धमा भारत एकमत रहेको बताए। ‘‘देश एकछत्र दृढताका साथ उभिएको छ। मानवता र न्यायमा विश्वास गर्ने सबै हामीसँग छन्,’’ उनले भने।

घटनापछि भारत सरकारले पाकिस्तानका वरिष्ठ कूटनीतिज्ञ साद अहमद वाराइचलाई फिर्ता पठाएको छ। भारतले हमलामा सीमा पारको संलग्नता पुष्टि गर्ने प्रमाणहरू रहेको जनाउँदै पाकिस्तानमाथि कडा प्रतिक्रिया जनाएको हो।

साथै, भारतले सिन्धु जल सन्धि निलम्बन, अटारीस्थित समेकित चेकपोस्ट तत्काल बन्द, र सार्क भिसा छुट सुविधा अन्तर्गत पाकिस्तानलाई दिइएको प्रवेशाधिकार खारेज गर्ने निर्णय गरेको छ।

यसअन्तर्गत जारी भिसाहरू रद्द गरिएका छन् र पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छोड्न निर्देशन दिइएको छ।

रक्षामन्त्री राजनाथ सिंहले पनि हमलाको जवाफ ‘ठोस र स्पष्ट’ हुने बताए। घटनास्थल बाइसारन घाँसेमैदान पर्यटकीय क्षेत्र हो। पर्यटकहरू शान्त वातावरणमा विश्राम गरिरहेका बेला करिब दिउँसो १:३० बजे आक्रमण भएको थियो।

सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको भए पनि आर्मी पोशाकमा रहेका छ जना विदेशी आतङ्ककारीहरूले धार्मिक आधारमा लक्ष्य बनाएर हमला गरेका थिए। उनीहरूले सुरक्षा घेरा भेदेर गोली चलाएका थिए। उनीहरुले एक रमणीय क्षेत्रलाई रक्तरञ्जित बनाएका थिए।

प्रकाशित: ११ वैशाख २०८२ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App