१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

निजीमा धमाधम अध्ययन, सामुदायिक सुनसान

निजी विद्यालयका विद्यार्थीका हातमा किताब, सामुदायिकका विद्यार्थी घरभित्रै

पोखरा–५, पर्स्याङस्थित समता शिक्षा निकेतनमा विहीबार बिहानी प्रार्थना गर्दै विद्यार्थी। नयाँ शैक्षिकसत्रको पहिलो दिन विहीबारदेखि संस्थागत विद्यालयमा पठनपाठन सुरु भएपछि शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन रोकिएको छ। तस्बिरः नागरिक

नयाँ शैक्षिकसत्र सुरु भएको पहिलो दिन विहीबार पोखरा क्षेत्रका निजी विद्यालयमा विहानैदेखि चहलपहल थियो। विद्यालय परिसर सरसफाई गरेर चिरिच्याट्ट पारिएको थियो। कक्षाकोठा सजाइएको थियो। विद्यार्थीको स्वागतार्थ पोशाकमा सजिएका शिक्षक कर्मचारी विद्यालयको गेटमा परिचालित थिए।

विद्यालयमा मात्र नभई सडकमा पनि निजी विद्यालयका सवारीको भीड थियो। विद्यार्थी बोक्न पुगेका सवारी बिहान ९ बज्न नपाउँदै सडकमा कुँदिरहेका थिए। शैक्षिकसत्रको पहिलो दिन नयाँ किताब, कापि, झोला बोकेर विद्यालय जान पाउँदा बालबालिका पनि फुरुंगै थिए।  

विहीबारदेखि सुरु भएको नयाँ शैक्षिकसत्रले कतिपय विद्यार्थीमा नयाँ उत्साह थपिरहँदा केही बालबालिका भने घरभित्रै मोवाइल र टिभीमा झुम्मिन बाध्य छन्। किनकी सामुदायिक विद्यालय अध्ययन गर्ने बालबालिका भने विहीबार विद्यालय जान पाएनन्। शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित हुँदै गर्दा विद्यालयको पठनपाठनको पनि टुंगो लागेको छैन।  

शिक्षक आन्दोलनले तीनसाता अवधि बिताउँदै गर्दा विद्यालय खुल्ने टुंगो लागेको छैन। विद्यालय खुल्ने टुंगो नलाग्दा विद्यार्थीको भर्ना समेत प्रभावित छ, पठनपाठको त झनै दिन तोकिएको छैन। जसोतसो भर्ना भएका विद्यार्थी पनि विहीबारदेखि सुरु भएको शैक्षिकसत्रको पहिलो दिन विद्यालय जान पाएनन्।  

यसअघि गत सोमबारदेखि पोखरा क्षेत्रका विद्यालय संचालन हुने तयारी गर्दाैगर्दा पोखरा महानगरले पत्र पठाउँदै विहीबारसम्मका लागि विद्यालय संचालन नगर्न अनुरोध गरेपछि विद्यालय खुल्ने दिन तीनदिन पछाडिका लागि धकेलिएको थियो। तर, शिक्षक आन्दोलनको टुंगो नलाग्दै गर्दा विहीबारदेखि पोखराभित्रका सबै निजी विद्यालय संचालनमा आएका छन्। तर सामुदायिक विद्यालय भने सुनसान थिए।

कतिपय सामुदायिक विद्यालयले भर्ना भएका बालबालिकाका अभिभावकलाई सन्देश पठाउँँदै ‘विषम परिस्थिति’ का कारण पठनपाठन अवरुद्ध भएकोले धैर्य गर्न आव्हान समेत गरेका छन्। पठनपाठन सुरु हुन नसकेकोमा क्षमा समेत मागेका छन्। विद्यालय भर्ना भएपनि छोराछोरीलाई स्कुल पठाउन नपाउँदा अभिभावक पनि दुखि छन्। ‘छोराछोरी भर्ना त भएका छन्। तर, विद्यालय कहिले खुल्छ भन्ने यकिन भएन, दिनभर घरैमा मोवाइल र टिभी हेरेरै दिन बिताउन बाध्य छन,’ पोखराको अमरसिंह नमूना माविमा छोराछोरीलाई भर्ना गरेकी एकजना अभिभावकले भनिन्।  

शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठन त अवरुद्ध भएको छ नै सामुदायिक विद्यालयको भर्ना अभियान पनि प्रभावित भएको छ। पर्यटकीय क्षेत्र पर्ने पोखरा–६ लेकसाइडको मध्यभागमा छ तालबाराही मावि। यो विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा बालविकास देखि १० कक्षासम्म करिब ७ सय जना विद्यार्थी थिए। तर, यो पटक अहिलेसम्म ५० जनाजति विद्यार्थी मात्र भर्ना भएका छन्। शिक्षक आन्दोलनका कारण भर्ना अभियान समेत सुचारु हुन नसकेको विद्यालयको भनाई छ।  

तालबाराही माविका प्रधानाध्यापक ताराप्रसाद पोखरेल शिक्षक आन्दोलनका कारण पठनपाठन अवरुद्ध भएपनि आएका विद्यार्थीलाई भर्ना गरिरहेको बताउँछन् । ‘सबैजसो शिक्षक आन्दोलनमा जानु भएको छैन । काठमाडौ नजाने शिक्षक साथीहरुले आएका विद्यार्थी भर्ना गर्नु भएको छ । तर, विद्यालय बन्द रहेको भन्ने हल्लाका कारण विद्यार्थी भर्ना हुन आएका छैनन,’ पोखरेलले भने, ‘भर्ना रोकिएको छैन । तर, विद्यालय बन्दको सन्देशले भर्ना प्रभावित भएको छ।’ पोखरेलका अनुसार विद्यालयमा रहेका निजी श्रोतका शिक्षकहरुले विद्यार्थी भर्नाका लागि अभिभावक भेटघाट पनि गरिरहेका छन।

‘आन्दोलनका कारण विहीबारबाट पठनपाठन सुरु हुन सकेन। तर, अहिले छुटेको पढाईलाई जसरी भएपनि हामी समायोजन गर्छाै। अहिलेको छुटेको दिनलाई शिक्षकले पाउनुपर्ने बिदा कटौती गरेर भएपनि पूरा गर्ने प्रतिवद्धता गरेका छौ,’ पोखरेलले भने, ‘अहिलेका लागि केहीदिन समस्या परेपनि पढाईलाई असर पर्न नदिनेमा हामी पनि सचेत छौं।’

पोखराकै अर्काे राष्ट्रिय माविमा पनि भर्ना अभियान अति नै सुस्त छ। राष्ट्रिय माविका प्रधानाध्यापक इश्वरीप्रसाद सापकोटा पनि कर्मचारी परिचालन गरेर विद्यालयमा भर्ना अभियान संचालन गरिरहेको बताउँछन्। त्यसबाहेक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नै भर्नाका लागि विद्यालयमा खटिएको उनको भनाई छ। ‘विद्यालय व्यवस्थापन समितिको टिम नै आएर भर्नाका लागि खटिएको छ। त्यसबाहेक विद्यालयका कर्मचारी पनि भर्नाका लागि खटिएका छन, उनले भने।  

सापकोटाका अनुसार राष्ट्रिय माविमा वाल विकास कक्षादेखि १० कक्षासम्म ८ सय ५० हाराहारीमा अघिल्लो वर्ष विद्यार्थी थिए। तर, अहिले ७० जनाजति मात्र भर्ना भएका छन्। ‘हाम्रा विद्यार्थी बाहिर (निजी विद्यालय) गएका छैनन्। विद्यार्थी बाहिरिएको जानकारी पनि आएको छैन। किनकी अहिलेसम्म कसैले ट्रान्सफर सर्टिफिकेट मागेका पनि छैनन,’ सापकोछाले भने, ‘विद्यार्थी बाहिरिएको भए सर्टिफिकेट लैजान्थे। बरु भर्ना हुन आएका छैनन। जाने विद्यार्थी नभएपछि अरु भर्ना हुन आउनेमा हामी विश्वस्त छौ।’  

संस्थागत विद्यालयले भने विहीबारदेखि विद्यालयमा पठनपाठन सुरु गरेको बताएका छन्। मासिक एकसय रुपैयाँमा पठनपाठन गराईरहेको पोखरा–५ पर्स्याङस्थित समता शिक्षा निकेतनका संयोजक उमेश रेग्मीले भने, ‘विहीबारदेखि विद्यार्थी विद्यालय आएका छन्। उत्साहजनक रुपमा अध्यापन सुरु भएको छ।’

शिक्षा विकास तथा समन्वय ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएको बताउँछन्। उनका अनुसार कास्कीमा संस्थागत विद्यालयहरुले विहीबारदेखि अध्यापन सुरु गरेका छन। तर, सामुदायिक विद्यालयमा भने अध्यापनको टुंगो लागेको छैन।  

‘संस्थागत विद्यालय विहीबारबाट चलेका छन्। सामुदायिक विद्यालयमा भने भर्ना नै प्रभावित भएको छ। भर्नाका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षकले पालो गरेर अभियान चलाएका छन्। भित्रभित्रै भर्ना पनि भईरहेका छन,’ उनले भने, ‘पठनपाठन नभएपनि भर्नामा कतै अवरोध भएको छैन।’

उनका अनुसार कास्कीमा वैशाख १५ गतेदेखि नियमित पठनपाठन गर्नेगरि शैक्षिकसत्रको आव्हान गरिएको छ। इकाईका अनुसार कास्कीमा २ सय ५९ वटा संस्थागत विद्यालय छन्। जहाँ १ लाख ४ सय ९२ जनाले अघिल्लो वर्ष अध्ययन गरेका थिए। त्यसैगरि कास्कीमा ३ सय ७५ वटा सामुदायिक विद्यालयमा ६२ हजार २ सय ७७ जना विद्यार्थीैले अघिल्लो वर्ष अध्ययन गरेका थिए।  

प्रकाशित: ११ वैशाख २०८२ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App