१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

ठडियो धरोहर, उठ्यो शिर

काठमाडौं जैसीदेवलका ७३ वर्षीय पूर्ण श्रेष्ठलाई २०७२ सालको भूकम्पमा आफ्नो घरको छानो भत्केको भन्दा पनि सुन्धारास्थित धरोहरा भत्केकोमा बढी पिर लागेको थियो। लामो समयदेखि धरोहराको पेटीमा टहल्दै आएका उनी संयोगले त्यो दिन अन्तै गएका थिए। भूकम्पले उनको पुरानो घरको छानो भत्किए पनि उनलाई भने धरोहरा ढलेको पिरले निकै सतायो।

‘धरोहरा भत्केको देख्दा घर भत्केभन्दा बढी पिर लागेको थियो, ‘उनले भने, ‘यो ठडिएसँगै शिर ठडिएको छ।’ भूकम्प गएको केही महिनापछि घरको छानो फेरे पनि सुन्धारातिर घुम्न आउँदा धरोहराको ठाउँ रित्तो देख्दा मन भक्कानिने गरेको अनुभव उनले सुनाए। ‘अहिले आएर धरोहरा नियाल्दा मनै चङ्गा हुन्छ,’ उनी भन्छन्, ‘विगतका सबै घटना सपनाजस्तो लाग्छ।’

उनी मात्र होइन, उपत्यकाका धेरै सर्वसाधारणलाई मठमन्दिर र प्राचीन सम्पदा भत्केको पिरले पिरोलेको थियो। आफूले पूजा गर्दै आएका आस्थाका मन्दिर टेकोका भरमा देख्दा उनीहरूको मन आत्तिन्थ्यो।

पुरातत्त्व विभागका अनुसार भूकम्पबाट क्षतिग्रस्त नौ सय २० सम्पदा मध्ये ८० प्रतिशत अर्थात् ८ सय १० सम्पदा पुनर्निर्माण भएका छन्। त्यस्तै विश्व सम्पदा क्षेत्रका ढलेका १ सय १० सम्पदामध्ये १ सय ६५ उठिसकेका छन्।

कतिपय ठाउँमा भत्केको घरबाट पूजा थाली बोकेर भूकम्पको भग्नावशेषमा गणेशको मूर्ति खोज्दै गरेको दृश्य पनि देखियो। भत्केको घरमा समेत जात्रा मनाउँदै गरेका उनीहरू भत्केको मन्दिर अगाडि भने निराश भेटिन्थे। ती निराश मनमा यति बेला आशा भरिएको छ। भूकम्पमा तहसनहस भएका सम्पदाको पुनर्निर्माणले चर्केका मनहरू जोडिएका छन्।

पुरातत्त्व विभागका अनुसार भूकम्पबाट क्षतिग्रस्त नौ सय २० सम्पदा मध्ये ८० प्रतिशत अर्थात् ८ सय १० सम्पदा पुनर्निर्माण भएका छन्। त्यस्तै विश्व सम्पदा क्षेत्रका ढलेका १ सय १० सम्पदामध्ये १ सय ६५ उठिसकेका छन् सम्पदा पुनर्निर्माणले पछिल्लो समय निकै राम्रो गति लिएको पुरातत्त्व अधिकृत भीष्म बास्कोटा बताउँछन्। ‘भूकम्पपछि निकै ढिलो सुरुवात भए पनि सम्पदा क्षेत्रमा उल्लेखनीय प्रगति भएका छन्,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा संरक्षण शाखामा ६ वर्ष काम गरेका उनले भने, ‘बन्न बाँकी सम्पदामा पनि काम भइरहेको छ।’

भूकम्प गएको केही समयपछि निजी आवासको पुनर्निर्माण थालियो। तर, एक वर्षसम्म पनि सम्पदा पुनर्निर्माण गर्ने वा नगर्ने अन्योल कायमै थियो। सरकारको प्राथमिकतामै सम्पदा पुनर्निर्माणभन्दा निजी आवास प्राथमिकतामा रहेको थियो। निजी आवास पुनर्निर्माण गर्न जस्तो सजिलो नभएकाले दुई वर्षपछि मात्रै विश्व सम्पदामा सूचीकृत सम्पदादेखि पुरातात्त्विक महत्त्व बोकेका सम्पदाहरू पुनर्निर्माण थालियो।

भूकम्पमा विश्व सम्पदा क्षेत्रअन्तर्गत हनुमानढोका क्षेत्रका काष्ठमण्डप, दशावतार, च्यासिङदेखलगायतका सम्पदा ढलेका थिए भने पाटनमा पुरानो चारनारायण, देगु तलेजु, योगनरेन्द्र मल्लको सालिक लगायतका सम्पदा ढलेका थिए।

त्यसैगरी भक्तपुरमा सिद्धिलक्ष्मी, वत्सला, फसिदेग लगायतका सम्पदा ढलेका थिए भने चाँगुनारायण मन्दिरमा क्षति पुगेको थियो।

त्यसैगरी बौद्ध, स्वयम्भूलगायतका स्तुपामा पनि भूकम्पले नराम्ररी क्षति पुगेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सुरुवाती चरणदेखि अन्तिम समयसम्म काम गरेका पुरातत्त्व अधिकृत बास्कोटा सम्पदा पुनर्निर्माण कार्य सुरुमा प्राथमिकतामा नपरे पनि पछि निकै राम्रो ढंगले अगाडि बढेको सुनाउँछन्।

‘सम्पदा पुनर्निर्माण घर बनाएजस्तो सजिलो थिएन,’ हाल संस्कृति मन्त्रालयमा पुरातत्त्व अधिकृतका रूपमा कार्यरत उनले भने, ‘यसको पुनर्निर्माण गर्दा मौलिक, सांस्कृतिक पक्ष मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई पनि विचार गर्नुपर्छ।’ सर्वसाधारण बोले पनि सम्पदा नबोल्ने भएका कारण सम्पदा पुनर्निर्माण कार्य सुरुका केही वर्ष ढिलो हुन पुगेको उनले स्वीकारे।

‘जब सम्पदाको महत्त्व सबैले बुझे, यसको कार्य अगाडि बढ्यो,’ कतै स्थानीय सरकारको सहयोग, कतै जनसहयोग त कतै विदेशी सहयोगमा बन्न थाले।’ नेपाल सम्पदाको पुनर्निर्माण श्रीलङ्का, अमेरिका, भारत, चीन तथा स्विस सहयोगको महत्त्वपूर्ण योगदान रहेको उनले बताए।

उतिबेला रानीपोखरी, काष्ठमण्डप र धरोहरा छिटो उभिन नसकेकाले जनताले सम्पदा पुनर्निर्माण गति नलिएको गुनासो गरेको उनले सुनाए, ‘यी सम्पदाको पुनर्निर्माण भएपछि जनतामा नयाँ आशा जागेको छ,’ उनले भने, ‘सर्वसाधारणको आस्थासँग जोडिएका धरोहरा ठडिँदा उनीहरूलाई खुसी दिएको छ।’

नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान जोडिएका सम्पदाहरूको पुनर्निर्माण सबैका लागि चासो र चिन्ताको विषय बन्दै आएको थियो। सम्पदा पुनर्निर्माण ढिलो हुनमा केही प्राविधिक कारण भएको समेत सुनाए।

२०७२ सालको भूकम्पले नौ सय २० वटा पुरातात्त्विवक सम्पदाहरूमा क्षति पुगेको थियो। विश्व सम्पदा क्षेत्रका एक सय ७० वटा सम्पदा र उपत्यकाका तीन जिल्लाका सानाठुला गरेर चार सय ६ वटा सम्पदामा पूर्ण क्षति भएको थियो।

प्राधिकरणले सम्पदा पुनर्निर्माणलाई प्राथमिकीकरणका आधारमा चौथो स्थानमा राख्नुले पनि यसको पुनर्निर्माणमा ढिलाइ भएको थियो। प्राधिकरणले पहिलो प्राथमिकतामा निजी आवासलाई राखेको छ। त्यसपछि स्वास्थ्य संस्था र शैक्षिक संस्थाको पुनर्निर्माणलाई राखिएको छ।

बास्कोटाले बाँकी सम्पदा यसै वर्षसम्ममा सकिने अनुमान गरे। ‘धेरैमा काम भइरहेको छ, केही अन्तिम चरणमा पुगेका छन्,’ उनी भन्छन्, ‘चाडै नै सबै सम्पदाहरूको पुनर्निर्माण सम्पन्न हुनेछ।’

२०७२ सालको भूकम्पले नौ सय २० वटा पुरातात्त्विवक सम्पदाहरूमा क्षति पुगेको थियो। विश्व सम्पदा क्षेत्रका एक सय ७० वटा सम्पदा र उपत्यकाका तीन जिल्लाका सानाठुला गरेर चार सय ६ वटा सम्पदामा पूर्ण क्षति भएको थियो। यस्तै उपत्यकाबाहिरका जिल्लामा रहेका तीन सय ४४ वटा सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।

पुनर्निर्माण सकिएका सम्पदा

बौद्धनाथ

भूकम्पमा क्षतिग्रस्त राजधानीको बौद्धस्थित बौद्धनाथ स्तूप भने स्थानीय स्तरबाटै पुनर्निर्माण सकिएको छ। भूकम्प प्रभावित विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये बौद्ध स्तूप सबैभन्दा छिटो पुनर्निर्माण गरिएको हो।

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पुनर्निर्माणले गति नलिएका बेला बौद्धनाथ क्षेत्र विकास समितिले सरकारको मुख नताकी आफ्नै अगुवाइमा पुनर्निर्माण सम्पन्न गरेको हो। ‘विनाशकारी भूकम्पले बौद्ध स्तूप चिरा परेको थियो। गजुर पनि कोल्टे परेको थियो,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले त्यति बेला भनेका थिए, ‘स्तुपको दुरावस्था धेरै समय हेर्न सकेनौं। त्यसैले पुनर्निर्माणमा आफैं जुटेका हौं।’

बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर बौद्धनाथ स्तूप पुनर्निर्माण गर्न परेको स्थानीयको सकारात्मक दबाबले पुनर्निर्माण छिटो सकिएको हो।

समितिकै अगुवाइमा २०७२ मंसिरमा सुरु भएको पुनर्निर्माण २०७३ कात्तिकमा सम्पन्न भएको हो। बौद्धनाथ स्तूप पुनर्निर्माणमा १८ करोड ४५ लाख रूपैयाँ लागत अनुमान भए पनि केही बढेको थियो।

रानीपोखरी

भूकम्पको पाँच वर्षपछि रानीपोखरीको पुनर्निर्माण पुरानै स्वरूपमा सम्पन्न भएको छ। यद्यपि पुनर्निर्माणका दौरान विभिन्न विवादहरू सिर्जना भएका थिए। 

काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको रानीपोखरीमा कङ्क्रिट प्रयोग गरेको भन्दै विवाद भएपछि महानगर पछि हटेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएपछि रानीपोखरी मल्लकालीन शैली र सामग्रीबाटै पुनर्निर्माण भयो। जसमा भक्तपुरवासीले पनि सहयोग गरेका थिए।

धरोहरा

भूकम्प गएको छैटौं वर्षमा ढलेको धरोहरा पनि उठ्यो। धरोहराको पुनर्निर्माण सम्पन्न भइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। अहिले नयाँ बनेको धरोहरा आधुनिक र भूकम्प प्रतिरोधी रहेको छ।

उद्घाटन गरेपछि पनि यसको बाहिरी काम अझै जारी छ। सर्वसाधारण धरोहराबाट काठमाडौं नियाल्न थालिसकेका छन्। ‘धरोहराबाट काठमाडौंं नियाल्दा भूकम्पलाई जितेको महसुस भएको छ,’ बिजुलीबजारबाट आएका नेत्र दाहालले भने, ‘माथि चढेपछि सम्झनामा भूकम्प आउँछ तर डर आउँदैन।’

वसन्तपुर

पुनर्निर्माण सम्पन्न भएपछि वसन्तपुर क्षेत्रले नयाँ स्वरूप पाएको छ। स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक थलो अहिले सुन्दरतम देखिएको छ। काठले टेको लगाएर राखिएका वसन्तपुर क्षेत्रमा सम्पदाहरू पुनर्निर्माण भइसकेपछि सर्वसाधारण खुसी देखिन्छन्। नौ तले दरबार तथा गद्दी बैठकको सौन्दर्यले विगतको पीडा भुलाएको छ।

काष्ठमण्डप

राजधानी काठमाडौंको नामको उत्पत्तिसम्म जोडिएको काष्ठमण्डपले फेरि सुन्दरता पाएको छ। काष्ठमण्डप पुनर्निर्माणमा प्रारम्भदेखि नै विवाद देखिए पनि अन्ततः स्थानीय आफैं पुनर्निर्माणमा जुटेर यसलाई सफल बनाएका छन्।

पाटन दरबार

ललितपुरको पाटन दरबारभित्र रहेको सम्पदाहरूमा पनि भूकम्पले पूर्ण क्षति पु¥याएको थियो। तर, स्थानीयको सक्रियतामा पाटन दरबारभित्र रहेका ऐतिहासिक मन्दिरहरूको पुनर्निर्माण सम्पन्न भएको छ। ऐतिहासिक थलोमा सुन्दरता छाएको छ। मन्दिरको पेटमा बसेर वृद्धवृद्धा ठडिएका सम्पदा नियाल्दै दङ्ङ छन्। ‘भूकम्पपछि फेरि अब मन्दिर ठडिदैन कि जस्तो लागेको थियो,’ च्यासलका रामभक्त अवाले भन्छन्, ‘हेर्दा हेर्दै मन्दिरहरू फेरि ठडिए।’

भक्तपुर दरबार स्क्वायर

भूकम्पले भक्तपुर दरबार क्षेत्रका अधिकांश सम्पदामा क्षति पुराएको थियो। भत्केका मन्दिरले सुन्दर सहरको दृश्य निकै दुःखदायी देखिन्थ्यो। ढलेका सम्पदाहरू उठाउन भक्तपुरका स्थानीय सरकारसँगै स्थानीयले तदारुकता देखाउँदा निजी आवासभन्दा पनि पहिले सम्पदा पुनर्निर्माण भएको छ।

गुम्बा पुनर्निर्माण भने सुस्त

सम्पदा पुनर्निर्माणमा प्रगति भइरहे पनि भूकम्पबाट क्षतिग्रस्त बनेका गुम्बाहरूको पुनर्निर्माण भने छायामा परेको छ। भूकम्पले एक सय वर्ष पुराना दुई सय ५० वटा गुम्बामा क्षति पुगेको थियो। तर अधिकांश गुम्बाहरूको अझै पुनर्निर्माण हुन सकेको छैन।

सम्पदा संरक्षणमा ‘स्वाभिमानी’ भक्तपुर

सम्पदा संरक्षणमा कतिपयले देशी तथा विदेशी सहयोगको अपेक्षा गरिरहेको समयमा भक्तपुर नगरपालिकाले भने आफ्नै बलबुतामा पुनर्निर्माण कार्यलाई अगाडि बढायो। स्थानीय जनताको समेत सहयोग लिएर विभिन्न उपभोक्ता समितिमार्फत पुनर्निर्माण कार्य अगाडि बढाएको यो नगरपालिकाले भक्तपुरको पाचतले मन्दिरजस्तै आफ्नो स्वाभिमानको शिर पनि ठड्याएको छ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति नगरपालिकाभित्र जेजति सम्पदा निर्माण भए, ती सबै नेपाल सरकार वा स्थानीय तहबाटै भएको बताउँछन्। भूकम्पपश्चात् विभिन्न ठाउँबाट सहयोगको अफर आए पनि त्यसमा मौलिकता नभएको भन्दै कतिपय अस्वीकार गरेको उनले सुनाए। उनले नेपाल सरकार र जर्मनी सरकारबिच भक्तपुरका सम्पदाहरू पुनर्निर्माणको सम्झौता भए पनि कतिपय कुरामा सहमति नभएका कारण सहयोग नलिएको अनुभव सुनाए।

‘भक्तपुरको १० वटा सम्पदा पुनर्निर्माणका लागि जर्मन सरकारसँग एक अर्ब २० करोड रूपैयाँको सम्झौता भएको थियो,’ उनले भने, ‘उनीहरूको नीतिनियम र निर्देशन मन नपरेपछि हामीले सम्झौता रुद्ध गर्‍यौं।’

सम्झौतामा निर्देशक समिति उनीहरूकै नेतृत्वमा गठन गर्नुपर्ने, निर्देशक समितिको निर्देशनअनुसार काम गर्ने, सम्पदाहरूमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत डन्डी र सिमेन्टको समेत प्रयोग गर्न सकिनेलगायतका कुरो उल्लेख भएको उनले सुनाए।

त्यस्तै हिसाब परीक्षण जर्मनी लेखा परीक्षकले गर्ने, मुद्दामामिला भएमा जर्मनी अदालतमा चलाउनेलगायतका गम्भीर विषय उल्लेख भएको उनले सुनाए। ‘भक्तपुर नगरपालिकाका तर्फबाट हामीले ती सबै बुँदा हटाउनुपर्ने धारणा राख्यौं,’ उनले भने, ‘जर्मनी पक्ष सम्झौताको एउटा बुँदा, शब्द, कमा र पूर्णविरामसमेत परिवर्तन गर्न तयार भएन। हामी पनि त्यो सम्झौता कार्यान्वयन गर्न तयार भएनौं। त्यसपछि त्यो सम्झौता रद्द भयो।’

तिनै सम्पदामध्येका पाँच तले मन्दिर (डातापोल्हँ), भैरवनाथको मन्दिर जीर्णोद्धारजस्ता महत्त्वपूर्ण सम्पदालगायत अन्य सम्पदाको जीर्णोद्धार सम्पन्न भइसकेको उनले बताए। २०७२ सालको भूकम्पपश्चात् भक्तपुर नगरपालिकाले ५८ वटा पाटी, ३६ वटा मन्दिर, नौ वटा द्योछेँ, १३ वटा पोखरी, नौ वटा सत्तल, आठ वटा इनार, आठ वटा ढुंगेधारा र अन्य विविधसमेत गरी एक सय ९० वटा सम्पदा पुनर्निर्माण सम्पन्न गरेको छ भने हाल २५ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको जनाएको छ। ‘पुर्खाले हामीलाई दिएको नासो हामीले आफ्नै बलबुताले ठडाएको छौं,’ उनले भने, ‘नगरवासीको साथ र सहयोगले हामी सबैले शिर उठाउन पाएका छौं।’ महाभूकम्पबाट त्यहाँ दुई सय १५ सम्पदामा क्षति पुगेको थियो।

पुनर्निर्माण प्राधिकरण सफल: सुशील ज्ञवाली

सुशील ज्ञवाली

भूकम्पको पुनर्निर्माण सम्बन्धी अधिकांश काम सकिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएको पनि चार वर्ष भइसक्यो। २०७२ पुसमा गठन भएको प्राधिकरण आफ्नो अधिकांश काम पूरा गर्दै २०७८ पुसमा खारेज भएको हो।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी प्रमुख सुशील ज्ञवालीले प्राधिकरणले ६ वर्षको समयमा हासिल गरेको अनुभव विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रयोग गर्न सकिने बताए। सम्पदा पुनर्निर्माण स्थानीय तह र जनसहभागितालाई समेत महत्त्व दिएका कारण यसले सफलता पाएको उनको बुझाइ छ।

‘विभिन्न चुनौती र जटिलता पार गर्दै पुनर्निर्माणको काम अघि बढेको हो,’ ज्ञवालीले भने, ‘भौगोलिक जटिलता, राजनीतिक सङ्क्रमणको जटिल अवस्था पार गर्दै हामीले यी उपलब्धि हासिल गरेको अवस्था हो।’ राजनीतिक दलका कारण प्राधिकरणको नेतृत्व परिवर्तन भएको पनि प्राधिकरणको नीतिलाई एकरूपता दिएकोमा उनले राजनीतिक दलहरूलाई पनि धन्यवाद दिए।

उनले पुनर्निर्माणका क्रममा सहयोग गर्ने दुई सय ४१ भन्दा बढी गैरसरकारी संस्थाहरू, नेपाललाई घोषणा गरेअनुसार पुनर्निर्माणका लागि सहयोग पु¥याउने दातृ निकायहरूलाई धन्यवाद ज्ञापन गरे। प्राधिकरणको बाँकी काम सरकारका सरोकारवाला निकायलाई हस्तान्तरण गर्दै बिदा भएका हुन्। जसअनुसार सम्पदाको बाँकी काम पुरातत्त्व विभागले हेर्ने छ।  

प्रकाशित: ११ वैशाख २०८२ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App