४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीको आरोप- सरकारले जेन-जीका नाममा मान्छे उचालेर हमला गराउन खोज्यो

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि सुरक्षा थ्रेट बढाएको र जेन-जीका नाममा भिड उचालेर हमलाको प्रयास गरिरहेको आरोप लगाएका छन्।

बिहीबार स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा चरम असुरक्षा हुँदा पनि आफ्नो सुरक्षा खोसिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए।

उनले भने, ‘हामीले कसैलाई मान्छे काट्छौं वा मार्छौ भनेका छैनौं। तर, यहाँ जेन-जीका नाममा मान्छे उचालेर हमलाको प्रयास भइरहेको छ। यस्तो आतंकित वातावरणमा चुनावको कल्पना गर्न सकिँदैन।’

युवाहरूलाई भ्रम र गलत संगतबाट मुक्त भएर राष्ट्रिय एकता र संविधान रक्षामा लाग्न उनले आह्वान गरे।

सरकारले चुनावको रटान लगाए पनि धरातलमा वातावरण नबनेको र बन्ने छाँटकाँट पनि नदेखिएको उनको विश्लेषण छ। ‘वातावरण बनाउने जिम्मा सरकारको हो, हामीले वातावरण बिगारेका छैनौँ,’ ओलीले भने।

यद्यपि, सरकारले शान्तिपूर्ण वातावरण बनाएको खण्डमा एमाले चुनावी मैदानमा उत्रिन र सामना गर्न तयार रहेको उनले स्पष्ट पारे।

प्रकाशित: १० पुस २०८२ १४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App