नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक निकास संसद पुनःस्थापनाबाटै खोजिनुपर्ने आफ्नो ‘बटमलाइन’ सुनाएका छन्।
यद्यपि, सरकारले शान्तिपूर्ण वातावरण बनाएको खण्डमा एमाले चुनावी मैदानमा उत्रिन र सामना गर्न तयार रहेको उनले स्पष्ट पारे।
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले चुनावको रटान लगाए पनि सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए।
‘हामी चुनाव विरोधी होइनौं, तर त्रास र असुरक्षाका बीच निर्वाचनको नाटक मञ्चन हुन सक्दैन,’ ओलीले भने, ‘अहिलेको सरकारले वातावरण बनाउँछ भने हामी जस्तो सुकै परिस्थितिको सामना गरेर बहुमत ल्याउन तयार छौँ।’
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आयोजित सर्वदलीय बैठकको प्रसंग कोट्याउँदै ओलीले आफूले प्रतिगमनलाई अस्वीकार गर्दै फागुन २१ मा चुनाव गर्ने हो भने तत्काल वातावरण बनाउन चुनौती दिएको बताए।
यसैगरी, गत भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजेको विषयमा पनि ओलीले आपत्ति जनाए।
‘फिल्डमा खटिएका कमाण्डरले सरकारी सम्पत्ति र आत्मरक्षाका लागि परिस्थितिजन्य निर्णय गर्छन्, यसमा राजनीतिक नेतृत्वलाई तान्न खोज्नु कानुन विपरीत हो,’ ओलीको जिकिर थियो।
प्रकाशित: १० पुस २०८२ १४:४५ बिहीबार





