१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

‘आकाशमा देखिएको चम्किलो वस्तु चिनियाँ रकेट हुन सक्छ’

नेपालका विभिन्न भू-भागबाट आइतबार साँझ करिब ७ बजे आकाशमा एक अज्ञात चम्किलो वस्तु देखियो। टर्चलाइट बालेजस्तो लामो पुच्छर बनाएर उडिरहेको उक्त रहस्यमय दृश्यका तस्बिर तथा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन्।

सिन्धुली, पाँचथरदेखि सुदूरपश्चिमको कैलाली (अत्तरिया) लगायतका स्थानबाट यो दृश्य देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तस्बिर राखेका छन्।

उनीहरुले यसलाई उल्कापिण्ड, एलियन वा कुनै रहस्यमय खगोलीय पिण्ड हुन सक्ने भन्दै विभिन्न अड्कलबाजी गरिरहेका छन्।

तर, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले यो कुनै खगोलीय पिण्ड नभई चिनियाँ रकेट हुन सक्ने सम्भावना औंल्याएका छन्।

भट्टराईका अनुसार यो दृश्य नेपालसहित भुटान, बंगलादेशका केही भाग र तिब्बतबाट पनि देखिएको हुन सक्छ।

‘यो स्पेस एक्सको रकेट होइन, लामो दूरीको पनि होइन। यो ‘रिजनल फ्लाइट’ हो र सम्भवतः चिनियाँ रकेट नै हुनुपर्छ,’ उनले थपे, ‘अपर स्टेज छुट्टिने बेलाको जस्तो दृश्य देखिएको छ। यो कुनै एस्ट्रोइड होइन।’

नागरिक न्युजसँग कुराकानी गर्दै उनले उक्त वस्तु नेपालको आकाश (स्पेस) मा पनि नउडेको प्रस्ट पारे। ‘यो नेपालको आकाशमा उडेको होइन, उनीहरूकै लन्च साइटबाट उडेको हो। तर हामीले यहाँबाट ‘लाइन अफ साइट’ मा ३-४ सय किलोमिटर माथि हुँदा देखेका हौं,’ उनले भने।

साथै, उनले सय किलोमिटरमाथि पुगेपछि त्यो अन्तरिक्ष मानिने र प्राविधिक रूपमा त्यो कुनै देशको एकल स्वामित्वमा नहुने पनि प्रस्ट पारे।

उनले भारत र अमेरिकाको कुनै लन्च नभएको र समय पनि नमिल्ने भएकाले यो चिनियाँ रकेट नै हुनसक्ने दाबी गरे।

अहिले सामाजिक सञ्जालमा विभिन्न पुराना भिडियोहरू जोडेर अफवाह फैलाउने काम भइरहेको बताउँदै उनले भ्रममा नपर्न आग्रह गरेका छन्। नेपालमा स्काई क्यामेरा (सर्भिलेन्स) नभएका कारण यस्ता वस्तुलाई तत्कालै ट्र्याक गर्न भने प्राविधिक कठिनाइ रहेको उनले सुनाए।

प्रकाशित: १ चैत्र २०८२ २१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App