१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

समानुपातिक सूची बुझाउन भोलिसम्म म्याद, कुन दलबाट को बन्दैछन् सांसद ?

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरू सांसदको नाम टुंग्याउन व्यस्त छन्।

थ्रेसहोल्ड कटाएका ६ वटा दलले समानुपातिक सांसदको अन्तिम नामावली आइतबारसम्म निर्वाचन आयोगमा बुझाइसक्नुपर्नेछ।

निर्वाचन आयोगका राजनीतिक दल शाखा प्रमुख यज्ञ भट्टराईका अनुसार दलहरूले प्राप्त गरेको सिट र समावेशी कोटाका आधारमा बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ।

‘पहिला दलहरूले बन्दसूची पेश गरेका हुन्छन्। अहिले उनीहरूले जति सिट प्राप्त गरेका छन्, त्यसअनुसार कुन समावेशी समूहबाट कति जना निर्वाचित गरी पठाउने भन्ने निर्णय आयोगले गरेर पठाएको हुन्छ।’ उनले सुनाए।

दलहरूले नाम पठाउँदैमा मात्रै प्रक्रिया पूरा नहुने उनले प्रस्ट पारे। उनले थपे, ‘आयोगले पनि त्यसको परीक्षण गरेर अन्तिम निर्णय गर्नुपर्छ। उम्मेदवारमा सबै समावेशी समूहको व्यवस्था मिलेको अवस्थामा मात्र आयोगले निर्वाचित गर्ने निर्णय गर्छ।’

समानुपातिकतर्फ खसेको कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये करिब ४७ प्रतिशत हिस्सा ओगट्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ।

रास्वपाले ११० मध्ये ५७ सिट जितेको छ। संघीय संसदमा ३३ प्रतिशत महिला पुर्‍याउन रास्वपाले ५७ मध्ये ४७ सिटमा महिला पठाउनुपर्ने देखिन्छ।

रास्वपाबाट खस-आर्यतर्फ प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा तथा जनजातितर्फ बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ र ओजस्वी शेरचन लगायतको नाम सम्भावित सूचीमा छ।

१६.२३ प्रतिशत मतसहित दोस्रो बनेको नेपाली कांग्रेसले २० सिट पाएको छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसको कुल सांसद संख्या ३८ पुग्नेछ। २० मध्ये १५ जना महिला अनिवार्य पठाउनुपर्ने कांग्रेसबाट खस-आर्यमा अर्जुननरसिंह केसीसहित ५ महिला, जनजातितर्फ भीष्मराज आङ्देम्बेसहित ५ महिला, मधेशीतर्फ चन्द्रमोहन यादवसहित २ महिला सांसद बन्ने सम्भावना छ।

यस्तै, दलितबाट मानबहादुर नेपाली, थारूबाट प्रमिला कुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुनको नाम चर्चामा छ।

तेस्रो दल नेकपा एमालेले १३.४३ प्रतिशत मतसहित १६ सिट पाएको छ। प्रत्यक्षका ९ सहित एमालेको जम्मा २५ सांसद हुनेछन्।

१६ मध्ये ५ महिला अनिवार्य पठाउनुपर्ने एमालेले आफ्नो सूची टुंग्याइसकेको छ। एमालेबाट खस-आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बन्ने भएका छन्।

जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य छानिएका छन्। मधेशीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल, दलिततर्फ विष्णुमाया वी.के. र नीता घटानी, थारुतर्फ कृपाराम राणा र मुस्लिमबाट साजिदा सिद्दीकीको नाम टुंगिएको छ।

७.४९ प्रतिशत मतसहित चौथो बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकमा ९ र प्रत्यक्षमा ८ गरी १७ सिट पाएको छ। ४ महिला अनिवार्य पठाउनुपर्ने नेकपाबाट खस-आर्यमा बलावती शर्मा, दिलकुमारी पन्त, प्रवेशकुमार हमाल तथा जनजातितर्फ परशुराम तामाङ, भीमकुमार बुढामगर र लक्ष्मीकुमारी लामा सम्भावित छन्।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ३.५६ प्रतिशत मतसहित पाँचौँ दल बनेको छ। प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सांसद रहने यस दलले ३ महिला पठाउनुपर्नेछ। खस-आर्यबाट अम्बिकादेवी संग्रौला, जनजातिबाट मन्दिरा मुक्तान, मधेशीबाट रुवी कुमारी र दलितबाट राधिका रम्तेलको नाम अगाडि छ।

३.५ प्रतिशत मत पाएर छैटौँ दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकमा ४ र प्रत्यक्षमा १ गरी ५ सिट सुरक्षित गरेको छ।

२ महिला अनिवार्य पठाउनुपर्ने राप्रपाबाट खस-आर्यमा खुस्बु ओली, जनजातिमा सरस्वती लामा, मधेशीमा निरुपमा यादव र दलितमा मिना विक सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन्।

भोलिसम्म दलहरूले सूची बुझाएपछि आयोगले परीक्षण गरी औपचारिक घोषणा गर्नेछ।

प्रकाशित: ३० फाल्गुन २०८२ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App