२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पृथ्वीजयन्तीको अवसरमा पुस २७ देखि माघ ७ सम्म गोरखा महोत्सव हुने

तीन सय एक औँ पृथ्वीजयन्तीको अवसर पारेर गोरखामा १० दिने महोत्सव हुने भएको छ। गोरखा उद्योग बाणिज्य संघको आयोजनामा पुस २७ देखि माघ ७ गते सम्म महोत्सव हुने संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिए।

‘गोरखाका लागि पृथ्वीजयन्ती एक ऐतिहासिक दिन पनि हो, सोही दिनबाट हामीले यहाँ महोत्सव गर्न लागेका छौँ’ उनले भने। संघले यसअघिका भन्दा फरक किसिमले महोत्सव गर्ने योजना बनाएको छ। महोत्सवमा म्यान अफ द गोरखा दौड प्रतियोगिता, औद्योगीक प्रर्दशनी, हस्तकला प्रर्दशनी, कृषि प्रर्दशनी, खाना महोत्सव, नृत्य प्रतियोगिता, हाँस्यब्यङ्ग्य प्रहशन, गोरखा तारा छनौट, बक्तृत्वकला, रत्यौली गित प्रतियोगिता लगायतका कार्यक्रम हुने बताइएको छ । ‘महोत्सव भित्रका स्टलमा लुगा कपडा, फेन्सीका स्टल हुँदैन’ संघका अध्यक्ष श्रेष्ठले भने ‘यहाँका स्थानीय ब्यापारीको अनुरोध र समस्यालाई बुझेर हामीले अन्यत्रबाट त्यस्ता स्टल नराख्ने निर्णय गरेका हौँ।’ 

उनले कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीलाई प्रदर्शनी र बिक्रीका लागि स्टल दिइने बताए। घरेलु, कृषि उत्पादनका स्टललाई सहुलियतमा ब्यापार गर्ने अवसर महोत्सवले सिर्जना गरेको अध्यक्ष श्रेष्ठले बताए।

महोत्सव संचालन गर्न ५१ लाख ८१ हजार खर्च हुने र पाँच लाख ५० हजार बचत हुने अनुमान संघको छ। ‘बचत भएको रकम ब्यवशायीको हकहित, संघको बहुउद्देश्यीय शभाहल निर्माण पुरा गर्न, जिल्लामा पर्यटनका कार्यक्रम संचालन र पत्रकार महासंघ गोरखाको भबन निर्माणमा पनि केही सहयोग गर्ने योजना छ’ महोत्सवका मुल संयोजक समेत रहेका संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने।

महोत्सव सम्पन्न गर्न बिभिन्न ब्यापारीक प्रतिष्ठान, संघ संस्था, स्थानीय तह, प्रशासनसँग छलफल र सहकार्य भईरहेको संघका बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्केले बताए। ‘यो महोत्सवले गोरखाको प्रचार प्रसार धेरै होस्, पर्यटन बढुन् भन्ने पनि चाहना हो’ उनले भने। प्रायोजक, सहप्रायोजकका लागि उद्योग र कम्पनीहरुसँग कुराकानी भइरहेको उनले बताए।

संघले महोत्सव स्थलमा प्रवेश टिकट एक सय रुपैयाँ तोकेको छ। विद्यार्थी र जेष्ठ नागरिकका लागि भने ५० रुपैयाँ निर्धारण गरिएको महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए। मेला सम्पन्न गर्न २३ वटा उप समिति निर्माण गरिएको र ति उप समितिले काम गरिरहेको उनले बताए।

घरेलु उत्पादन र कृषि प्रदर्शनीका लागि घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखामा सम्पर्क गरिएको संघले जनाएको छ। जिल्लाभरबाट उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकता दिएर महोत्सवमा सुधार ल्याउने निर्णय संघले गरेको छ। महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए। महोत्सव गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा हुने बताइएको छ।  

प्रकाशित: ५ पुस २०७९ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App