coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ: प्रकाशमान सिंह

सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिए।

क्षेत्र नं १ अन्तर्गतको प्रदेश तथा समानुपातिक उम्मेदवार सहभागी पत्रकार सम्मेलनमा नेता सिंहले आफ्नो उम्मेदवारी क्षेत्रको जनताको चाहनाकै कारण भएको बताए। ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएर चौथोपटक मतदातासमक्ष आएको उनले बताए। 'मेरो उम्मेदवारी नै किन? भन्ने प्रश्न उठिरहेका हुन्छन्। विश्वमै मतदाताले रुचाएसम्म उम्मेदवारले उम्मेदवारी दिने गरेका छन्', नेता सिंहले भने, उनले चुनिएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरे।

'म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ। त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ, उनले भने। चुनावमा सिङ्गो नेपाल होमिएको भए पनि सबैको ध्यान क्षेत्रमा भएको विकास, विद्युतीय मतदानलगायतले यही रहेको उनले बताए।

'संविधान कांग्रेसकै नेतृत्वमा बन्यो। त्यसलाई संस्थागत पनि हामीले गर्‍याैँ। हामीले विकासका लागि तयार गरेको अवाधारणालाई अगाडि बढाउन कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गर्दछु', उनले भने। नेता सिंहले मुलुकमा सङ्घीयता  दिलाउने, प्रदेश र स्थानीय तहको  सुनिश्चित गर्ने लगायतको काममा आफ्नो सक्रिय सहभागिता रहने जानकारी दिए।

'शिक्षालाई गुणस्तरीय बनाएर निजीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउने, वडामै स्वास्थ्य परीक्षण गर्ने ल्याबको व्यवस्था गर्ने, रोजगारीको सिर्जना गर्नेलगायतका धेरै अठोट लिएर भोट माग्न आउँदै छु', नेता सिंहले भने। उनले शिक्षामा सुधार ल्याउँदै प्राविधिक शिक्षामा जोड दिने बताए। उनले भने, 'शिक्षासँगै प्राविधिक शिक्षा दिएर रोजगारीको बाटो खोल्ने छौँ। यसले रोजगारी बढाउन मद्दत गर्ने विश्वास मैले लिएको छु।'

पत्रकार सम्मेलनमा नेता सिंहसँगै प्रदेशसभातर्फका उम्मेदवार क्षेत्र नंं १ (क) का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, (ख) का उम्मेदवार सुरजचन्द्र लामिछाने, समानुपातिकतर्फका उम्मेदवार लिलेन्द्रप्रसाद प्रधान, प्रबल थापा र शान्ता ढकाल उपस्थित थिए। रासस

प्रकाशित: ३१ आश्विन २०७९ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App