१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उद्घाटन सत्रमा जे देखियो

मुलुकको जेठो र मुख्य राजनीतिक दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सम्पन्न भएको छ।

देशभरिबाट आएका महाधिवेशन प्रतिनिधि, पार्टी कार्यकर्ता,अन्य व्यक्तिहरूको चहलपहल, विभिन्न सांस्कृतिक प्रस्तुति, मानिसको निरन्तर ओहोदोहोरले महाधिवेशन स्थल उल्लासमय बनेको थियो। महाधिवेशनमा देखिएका केही दृश्य निकै रोचक थिए।

सवारी आवागमन सहज

सामान्यतया कुनै पनि राजनीतिक दलको राष्ट्रिय महाधिवेशन हुँदा उद्घाटनस्थलवरपरको यातायात अस्तव्यस्त हुने गर्छ। जसले गर्दा सडकयात्रुले निकै सास्ती बेहोर्नुपर्छ। शुक्रबार कांग्रेसको महाधिवेशन उद्घाटन भइरहँदा पनि त्यस्तै हुने आकलन गरिएको थियो तर परिस्थिति त्यस्तो भएन। सडक प्रयोगकर्ताले सहज ढंगले यात्रा गर्न पाए।

महाधिवेशनलाई भव्य बनाउने नाममा यसपालि कांग्रेसले जनप्रदर्शन नगरेकै कारण त्यस्तो सम्भव हुन गएको हो। यसलाई सकारात्मक कदमका रूपमा लिइएको छ। कार्यक्रम चलिरहँदा प्रदर्शनी मार्गस्थित सडकमा भने सवारीसाधन निषेध गरिएको थियो। सुरक्षाकर्मी पनि व्यापक परिचालन गरिएको थियो। भृकुटीमण्डप प्रवेशद्वारअगाडि सडकमा राखिएका दुईवटा डिस्प्लेमा स्टेजको दृश्य देख्न सकिन्थ्यो। 

गुटका नेताको प्रचारप्रसार

महाधिवेशन उद्घाटन समारोहमा देशभरिबाट आएका प्रतिनिधिको बेग्लै चहलपहल देखिन्थ्यो। उनीहरूले अल्लोबाट बनेका र महाधिवेशनको लोगो अंकित झोला भिरेका थिए। सोही लोगो अंकित मास्क पनि उनीहरूले लगाएका थिए।

जसले गर्दा हुलमुलमा पनि महाधिवेशन प्रतिनिधिको पहिचान गर्न गाह्रो पर्दैनथ्यो। मञ्चमा शीर्ष नेताहरूले सम्बोधन गरिरहँदा केही प्रतिनिधिको ध्यान भने अन्यत्र देखिन्थ्यो। उनीहरूले भिडभाडमा छिरेर आफूनिकट नेताहरूको प्रचारप्रसार गरिरहेको दृश्य निकै रोचक देखिन्थ्यो। केहीले व्यक्ति विशेषका नाम, फोटो छापिएका टोपी, स्टिकर, ज्याकेटसमेत लगाएका थिए। २०/२२ जनाको समूह बनाएर आफ्ना नेताको पक्षमा नारा लगाउँदै हिँडिरहेका पनि ठाउँठाउँमा भेटिए।

ओली र लिङ्देनको बेग्लै ‘क्रेज’

शुक्रबार दिउँसो १ बजे महाधिवेशन उद्घाटन कार्यक्रम गर्ने भनिएको थियो। तर करिब एक घन्टा ढिलो गरी औपचारिक कार्यक्रम सुरु भयो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको महाधिवेशनमा गठबन्धनका सबै राजनीतिक दलका नेता उपस्थित थिए।

 महाधिवेशनमा शुभकामना दिन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली र नवनिर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले उद्घोष गर्दा उद्घाटनका सहभागीले व्यापक ‘हुटिङ’ गरेका थिए। तुलनात्मक रूपमा अन्य नेताभन्दा ओली र लिङ्देनको ‘क्रेज’ अलि बढी नै देखिएको थियो।

नेकपा भंगपछि पहिलोपटक ओली, दाहाल र नेपाल एउटै मञ्चमा

एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओली नेकपा भंग भएपछि पहिलोपटक एउटै मञ्चमा सँगै देखिएका थिए।

यसअघि पूर्वसहकर्मी नेपालसँग मञ्च सेयर नगर्ने घोषणा गरेका ओली कार्यक्रम सुरु भएको करिब आधा घन्टापछि मञ्चमा पुगेका थिए। लामो समयपछि नेतात्रय एउटै मञ्चमा देखिँदा ‘उनीहरूको हाउभाउ कस्तो होला? कस्तो भाषण गर्लान्? एकले अर्कालाई कत्तिको कटाक्ष गर्लान्?’ भनेर सहभागीले बेग्लै उत्सुकता र चासोका साथ नियालेका थिए।

कार्यक्रम अवधिभर नेपाल र ओलीबीच बोलचाल नै भएन। अध्यक्ष नेपालले त पूर्वसहकर्मी ओलीको मुखसमेत हेरेनन्। ओलीले भने नेपालले भाषण सकिएपछि ताली बजाए। नेता नेपाल सम्बोधन गरेलगत्तै मञ्चबाट बाहिरिएका थिए। ओली र दाहालबीच भने कुराकानी भएको थियो।

सम्बोधनका क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति कटाक्ष गर्न बाँकी राखेनन्। तर अरू बेला मञ्चमा भाषण गर्ने क्रममा नेता नेपालको आलोचना गर्न नचुक्ने ओलीले यसपालि भने त्यसमा खासै रुचि देखाएनन्।

उनले कतिपय साना दलले देउवाको औंला समाउँदै हिँडेको भन्दै एकीकृत समाजवादी र माओवादी केन्द्रप्रति हलुका व्यंग्य भने गरेरै छाडे। उनले मन्तव्यको आरम्भमै आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन आएकाले कुनै सवालजवाफ नगर्ने बताएका थिए।

‘भर्खर जन्मेको बाच्छाले हिँड्न जान्दैन’

शुभकामना मन्तव्यका क्रममा राप्रपा अध्यक्ष लिङ्देनले आजभोलि गाउँमा पुग्दा नेताहरूलाई चौतारीमा बस्दा ‘चोर आएछ’ भन्ने गरेको प्रसंग सुनाएका थिए। त्यसबेला भाषण सुनिरहेका सबैजसोले ‘यो सत्य हो’ भनेका थिए। नेताहरूप्रतिको वितृष्णा बढ्दै गएको अवस्थालाई लिङ्देनले इंगित गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतालाई ‘चोर’ भन्नु गलत भएको भन्दै लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गरे। दाहालले भाषणका क्रमम सोधे, ‘नेतालाई चोर भन्छन्?’ भीडबाट दुईपटकसम्म उत्तर आयो ‘हो’। तर, प्रचण्डले ‘होइन’ भन्दै हात हल्लाए। एमाले अध्यक्ष ओलीले पनि नेतालाई ‘चोर’ भन्न नमिल्ने भन्दै लिङ्देनको प्रतिवाद गरे। उनले ‘भर्खर जन्मेको बाच्छाले हिँड्न नजान्ने भन्दै लिङ्देनको कटाक्षसमेत गरे।

महिला टोलीको पन्चेबाजा प्रस्तुति

महाधिवेशन उद्घाटन हुनुअघि विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। कांग्रेसआबद्ध सांस्कृति संघको अगुवाइमा नेपालका विभिन्न जाति,समुदाय र क्षेत्रको संस्कृतिलाई प्रतिनिधित्व गर्ने झाँकी प्रस्तुत भइरहँदा सहभागीमाझ बेग्लै उत्साह देखिन्थ्यो।

महिला टोलीले पन्चेबाजाको आकर्षक प्रस्तुति दिएको थियो। त्यसक्रममा टोलीमा आबद्ध महिलाहरूले नृत्य पनि प्रस्तुत गरेका थिए। त्यहीबीचमा कांग्रेस नेता रामचन्द्र पौडेलको आगमन भएको थियो। उनीहऋले झनै उत्साहित भएर बाजा बजाएका थिए।

पन्चेबाजा पौडेलकै स्वागतका लागि बजाएजस्तो संयोग जुरेको थियो। बाजासँगै सहभागीको तालीको गडगडाहट पनि मिसिएको थियो। सांस्कृतिक प्रदर्शनका क्रममा मगर, गुरुङ, नेवार, थारू, शेर्पालगायत जातिको मौलिक प्रस्तुति पनि समेटिएको थियो।

प्रकाशित: २५ मंसिर २०७८ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App