१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति

मन्त्रीको सम्पत्तिमा किलोका दरले गरगहना

गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन । मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार मन्त्रीहरुसँग अथाह सम्पत्ति देखिएको छ । गरगहना समेत किलोका दरले रहेको मन्त्रीहरुले देखाएको सम्पत्ति विवरणमा उल्लेख छ ।  

सबैभन्दा बढी सम्पत्ति कानुन, संचार, तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको रहेको छ । थापाले आफु र  परिवारको नाममा सम्पत्ति विवरण देखाएका छन । थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका ६ वटा घर उल्लेख गरिएको छ । पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्ति विवरणमा राखेका छन् । त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ ।

थापासँग १ करोड २० लाख र १ करोड ५ लाख पर्ने दुईवटा गाडी पनि छन् । मन्त्री थापासँग नगद भने ५५ हजार रुपैयाँ मात्र छ । त्यस्तै ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पैतृक, व्यवसाय र वैवाहिक क्रममा गहना जोडेको उनले उल्लेख गरेका छन । त्यस्तै झन्डै डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा शेयर रहेको छ । थापाले विभिन्न बैंकबाट लिएको ऋणको विवरण पनि उल्लेख गरेका छन ।  

वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापासँग स्याङ्जा विरुवामा २ वटा घर छ । त्यस्तै उनीसँग ३० तोला सुन र २० तोला चाँदी रहेको छ । थापाले पोखरा महानगरपालिकामा ४० लाख रुपैयाँमा जग्गा किनेको बताएका छन् । विभिन्न बैंकमा १५ हजार नगद देखाएका थापाले ६१ लाख ५० हजार रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । थापासँग २५ वटा बाख्रा, ७५० बोट सुन्तला, ६ रोपनी जग्गामा छोराले चलाएको नर्सरी रहेको छ ।

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यसँग गोरखा पालुङटारमा बुवाको नाममा पुख्र्यौली संयुक्त घर जग्गा छ । श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३ लाखको जग्गा छ भने ८ तोला सुन र ५ तोला चाँदी रहेको मन्त्री आचार्यले सार्वजनिक गरेका छन् । मन्त्री आचार्यको विभिन्न बैंकमा ५० हजार बचत छ । दुइवटा बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण लिएका उनले १० लाख रुपैयाँ तिरेको उल्लेख गरेका छन् । फर्निचर उद्योगमा पनि २० लाख रुपैयाँ लगानी गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरमा श्रीमतीको नाममा ५ लाखको जग्गा र १ करोड ५० लाख लगानी बनेको साढे दुई तले पक्की घर रहेको उल्लेख गरेका छन । तनहुँको ३ ठाउँमा जग्गा देखाएका मुख्यमन्त्री पोखरेलले काठमाडौंमा १५ लाख ऋण लिएर जग्गा किनेको उल्लेख गरेका छन् । उनीसँग ५ तोला मात्र सुन रहेको छ । बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएका मुख्यमन्त्री पोखरेलसँग तलबको ५ लाख रुपैयाँ वचत भएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

भैतिक पूर्वाधारमन्त्री कुमार खड्काले स्वआर्जनका रुपमा पोखरा महानगरपालिका–१६ मा घर देखाएका छन् । श्रीमतीलाई माइतबाट प्राप्त बकसका रुपमा प्राप्त जग्गा साटफेर गरी किनेको जग्गा पनि मन्त्री खड्काले सार्वजनिक गरेका छन् । खड्कासँग ९५ तोला सुन छ । उनको विभिन्न बैंकमा १ करोड रुपैयाँ बढी बचत छ । खड्काले केही सहकारीमा शेयर पनि सम्पत्तिको रुपमा रहेको उल्लेख गरेका छन । खड्कासँग श्रीमतीको नाममा ४२ लाखको गाडी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीसँग लमजुङको दुधपोखरी–४ मा घर रहेको छ । मधुमायाले शहीद परिवारलाई सरकारले दिएको राहतबापतको रकमबाट चितवन र मकवानपुरमा जग्गा किनेको उल्लेख गरेकी छन् । अधिकारीसँग ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख भन्दा बढी नगद रहेको उल्लेख गरेकी छिन । उनीसँग एउटा एउटा स्कुटर रहेको छ ।

पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको नाममा बागलुङमा श्रीमतीको नाममा ४८ लाख ५० हजार रुपैयाँ मुल्यको घर छ । रुपन्देहीमा ५७ लाख ३५ हजार, चितवनमा ६३ लाख ३५ हजार मुल्यको जग्गा रहेको शर्माले उल्लेख गरेका छन । उनीसँग २५ तोला सुन र एककिलो चाँदी रहेको छ । शर्मासँग लाखौं रुपैयाँभन्दा बढी रकमको शेयर रहेको छ ।

शिक्षा, विज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको नाममा स्याङ्जाको भीरकोट र काठमाडौं नागार्जुनमा घर छ । पैतृक सम्पत्तिको रुपमा घर रहेको उनले उल्लेख गरेका छन । उनी र उनको परिवारका सदस्यको नाममा काठमाडौं र स्याङजामा जग्गा रहेको उल्लेख गरेका छन । स्याङ्जाका भीरकोट नगरपालिकामा २ ठाउँमा जग्गा छ । उनीसँग नगद १५ लाख रुपैयाँ रहेको छ । श्रेष्ठसँग १ किलो १९ तोला सुन रहेको छ । ७ किलो २ तोला चाँदी, एउटा हिराको औंठी रहेको उनले उल्लेख गरेका छन । ती गहना उनले पैतृक तथा पेवाबापत जुटाएको उल्लेख गरेका छन् । श्रेष्ठ र परिवारको नाममा करिब ७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री श्रेष्ठसँग एउटा कार, २ वटा स्कुटर छ् ।  

अर्थमन्त्री रामजी प्रसाद बरालसँग पोखरा २२ मा पैतृक सम्पत्तिको रुपमा घर रहेको छ । अर्थमन्त्री बरालले ३ लाख रुपैयाँ नगद र ४ तोला सुन देखाएका छन् । तलब बापतको ३ लाख रुपैयाँ बैंकमा बचत छ । अर्थमन्त्री रामजी बरालसँग पोखरा महानगरपालिका– २२ मा १ रोपनी ४ आना जग्गा छ । उनले ४७ लाख रुपैयाँमा अर्को जग्गा किनेका छन् । अर्थमन्त्री बरालले ३ लाख रुपैयाँ नगद र ४ तोला सुन देखाएका छन् । एभरेस्ट बैंकमा तलबबापतको ३ लाख रुपैयाँ बचत छ । उनले १ करोड रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । बरालका परिवारका नाममा २ मोटरसाइकल, १ स्कुटर र ६० हजार रुपैयाँको गाई छ ।

मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ भएपनि युवा तथा खेलकुद मन्त्री दीपक मनाङे र भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

प्रकाशित: ९ भाद्र २०७८ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App