१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा विवाद: दुवै पक्षको अडान कायमै

सहमतिको आधार खोज्न ओली पक्ष दौडधुपमा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ। पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो।

कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिएर नयाँ प्रकारको सहमतिको बिन्दु खोज्न ओली पक्षका नेताहरूले आग्रह गरे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मानेका छैनन्। राजनीतिक भवष्यमाथि नै दाग लाग्नेगरी दाहालले ओलीविरुद्ध आलोचनात्मक प्रस्ताव राखेपछि ओलीले पनि मंसिर १३ गते त्यसको लिखित प्रत्युत्तर फर्काएका थिए। त्यसपछि झनै चिढिएका दाहालले आफ्नो प्रस्ताव पार्टीको कमिटीमा छलफल गराउने र त्यसलाई पास गराएरै छाड्ने अडान लिएपछि ओली समूहका नेताहरूले त्यसलाई फिर्ता गराएर संयुक्त दस्तावेज प्रस्तुत गर्नुपर्ने बताउँदै आएका छन्।

मंसिर २० गते शनिबार बैठक बस्नुअघि ओली पक्षका नेताहरूले पटकपटक भेटर छलफल गरे पनि दाहाल पक्षले उनीहरूका कुरा सुन्न पनि चाहेको छैन। ‘जे हुन्छ बैठकबाटै हुन्छ, निर्णय फिर्ता गर्नुपरे बैठकबाटै हुन्छ,’ दाहालले भनेका थिए। तर ओली पक्ष केही दिन बैठक सारेर भए पनि सहमतिको आधार खोज्ने क्रममा रहेको जनाइएको छ। दाहालले राखेको प्रस्ताव फिर्ता गराएर संयुक्त दस्तावेजको पक्षमा ओली पक्ष रहेको छ।

बिहीबार र शुक्रबार दुई दिन नै ओली पक्षका नेताहरूले संयुक्त दस्तावेज नआए पार्टी एकता धरापमा पर्ने भएकाले कात्तिक २८ गते प्रस्तुत गरिएको प्रस्ताव फिर्ता गरी नयाँ दस्तावेज ल्याउन र त्यसका लागि केही दिन बैठक पर सार्न आग्रह गरेका छन्। तर दाहाल आफूले राखेको प्रस्ताव फिर्ता गर्ने सोचमा नदेखिएपछि सहमतिको अर्को आधार नभएको भन्न थालिएको छ। महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्ष दाहालसँग भेटघाट गरी मनाउने प्रयास गरेका थिए। साथै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले खुमलटार पुगेर दाहाललाई मनाउने कोसिस गरेका थिए। तर दाहालले अडान छाडेका छैनन्।

‘हामीले दुवै अध्यक्षलाई पार्टी विभाजनको दिशामा जान नदिनुस् भनेका छौं। एकअर्कालाई अविश्वास गर्दा समस्या आउँछ भनेका छौं। जनताको कुरा पनि सुनाएका छौं र पार्टी कमिटीमा छलफल गर्न कमजोरी समेटिएको संयुक्त दस्तावेज ल्याएर समस्या समाधान गर्नुस् भनेका छौं,’ खुमलटार पुगेका एक सचिवालय सदस्यले भने। ती सदस्यका अनुसार दाहालले शुक्रबार साँझसम्म आफ्नो प्रस्ताव फिर्ता गर्ने मनशाय बनाएका छैनन्। ‘प्रस्ताव फिर्ता नभए झगडाको बिरुवाले झाँगिने अवसर पाउँछ। प्रस्ताव फिर्ता भए झगडाको बिरुवा बढ्दैन,’ ती सदस्यले भने, ‘यसैले पार्टी विभाजन नै होला त भन्न सकिन्न तर कालान्तरमा यही एउटा बिरुवाले शाखा पिराउने सम्भावना छ।’ बिहीबार र शुक्रबार महासचिव पौडेलले दाहालसँग भेटघाट गरी सबै विषयवस्तुबारे जानकारी गराएका थिए। त्यस्तै स्थायी कमिटी सदस्य नेम्वाङले पनि ओलीका तर्फबाट बताउनुपर्ने जति सबै बताएका थिए।

दुई नेताले भदौ २६ गते स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गरेर जाने नमिलेका सबै विषय मिलाएर जाने प्रस्ताव गरेका थिए। उनीहरूले दुई अध्यक्षको सहकार्यबाटै पार्टी अघि बढ्नेसमेत बताएका थिए। पार्टीको महाधिवेशनसम्म मिलेर जानुपर्ने र महाधिवेशनपछि नयाँ नेतृत्व चयन गर्नुपर्ने उनीहरूको प्रस्ताव थियो। तर दाहालले भदौ २६ गतेको निर्णय नै कार्यान्वयन नहँुदा समस्या आएको बताएका छन्। ‘उहाँलाई भदौ २६ गतेको निर्णय कार्यान्वयन गर्न कसैले पनि रोकेको थिएन तर निर्णय उल्लंघन गरेर अहंता देखाएपछि सबै विषयलाई कमिटीगत रूपमै निर्णय गरेर जानुपर्ने अवस्था आएको हो,’ दाहालले ओली पक्षका नेताहरूसँग भनेका थिए।

दाहाल–नेपाल पक्षका नेताहरू बैठकबाटै निर्णय गर्नुपर्ने पक्षमा छन्। स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ओलीले बैठक छल्न खोजेको र बैठकबाट गराउनुपर्ने निर्णय दुई अध्यक्षका बीचमा सहमति गराउने प्रयास गरिरहेको बताइन्। ‘अहिलेको समस्या दुई अध्यक्षको मात्रै होइन, समग्र पार्टीभित्रको समस्या हो। त्यसकारण पार्टी अध्यक्षले बैठक छल्न खोजे सहमतिका नाममा अन्य उपाय अपनाएर पार्टीलाई अझ गम्भीर संकटमा पार्नु उपयुक्त होइन, समस्याको समाधान गर्ने थलो बैठक हो, त्यहीबाट समाधान खोज्नुपर्छ,’ उनले भनिन्। उनका अनुसार ओलीले बैठक छल्न खोज्नुपर्ने कुनै कारण छैन।

पोखरेल खुमलटारबाट शीतल निवास
शुक्रबार दिनभर नै ओली पक्षका नेताहरूले आन्तरिक भेटघाटलाई जारी राखे। उपप्रधानमन्त्री पोखरेल दिनभरजसो नै बालुवाटारमा निकट नेताहरूसँग छलफलमा व्यस्त रहे। उनी शुक्रबार नै खुमलटार पुगेर कार्यकारी अध्यक्ष दाहालसँग छलफल गरेका थिए। उनले दुवै अध्यक्ष मिलेर जान र केही दिन बैठक स्थगित गरेर समस्याको समाधान निकाल्न आग्रह गरेका थिए। तर दाहालले दुवै अध्यक्ष मिलेर मात्रै समस्याको समाधान नहुने भएकाले सबै पक्षलाई मिलाएर लगे मात्रै समस्याको समाधान हुने जिकिर गरेका थिए। दाहालसँगको छलफलपछि पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। उनले राष्ट्रपति भण्डारीसँगको भेटमा पार्टीभित्रको विवादबारे छलफल गरेको स्रोतको दाबी छ। यसअघि बिहीबार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले राष्ट्रपतिसँग भेटघाट गरेका थिए।

दाहाल–नेपाल समूहको विद्यार्थी भेला
पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दाहाल–नेपाल समूहले खुला रूपमा युवा विद्यार्थी भेला आयोजना गरेको छ। ओली पक्षले पनि मदन भण्डारी फाउन्डेसनका नाममा गुट भेला आयोजना गरिरहेका बेला दाहाल–नेपाल समूहका युवा विद्यार्थीले पनि काठमाडौंको थापाथलीमा भेला आयोजना गरी ओली पक्षको आलोचना गर्न भ्याएको छ। पार्टी एकता नै संकटमा परेका बेला दाहाल–नेपाल समूहले युवा विद्यार्थीको भेला गर्नुलाई अर्थपूर्ण मानिएको छ। सो भेलामा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरू ठाकुर गैरे, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने सहभागी थिए। ओली पक्षले फाउन्डेसनका नाममा देशव्यापी रूपमा भेला आयोजना गरेकाले त्यसको ‘काउन्टर’मा दाहाल–नेपाल समूहले पनि गुट भेला गरेको जनाएको छ। भेला आयोजकमा दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरू रञ्जित तामाङ, सुदेश पराजुली, वासिम आलमलगायत सहभागी थिए।

प्रकाशित: २० मंसिर २०७७ ००:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App