होचो र सानो कदकाँठीका अग्ला पत्रकार भैरव रिसालले आइतबार राति ९ बजेतिर आफ्नो नश्वर देह त्याग गरे। उनले हामीबिच अनेकन् लेख, रचना र पुस्तक त छाडेकै छन्, सबैभन्दा महत्वपूर्ण एउटा पत्रकारले जीवनभर गर्ने योगदानको मिठो पाठ पढाएर गएका छन्।
आफ्ना नातिनातिना पुस्ताका पत्रकारका निम्ति पनि उनी ‘भैरव दाइ’ थिए। र, उनीप्रतिको उत्कट प्रेम सोमबार दिनभरि सामाजिक सञ्जालमा पोखिएको थियो। सबैजसो समाचार अनलाइनले उनको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिरहेका थिए।
भैरव रिसाल भन्नेबित्तिकै आजीवन कलम घोटिरहने श्रमजीवीको अनुहार सामुन्ने आउँछ। आफूलाई कुनै विषय रोचक लाग्नेबित्तिकै त्यसमा अनुसन्धान गर्ने, लेख्ने र अखबारमा पठाउने उनको नियमित कार्य थियो। उनले नियमित रूपमा लेख्न नसकेको पछिल्लो केही समय मात्र हो। उनले नागरिकलाई समेत नियमित रूपमा लेख लेखेर ठुलो गुन लगाएका छन्।
प्राय: भैरव दाइबाट आफूले कुनै विषयमा लेखिसकेपछि फोन गरेर जानकारी दिने चलन थियो। कतिपय विषयमा आफूलाई जानकारी नभए फोनमा सोधेर त्यसको निर्क्योल गर्ने बानी थियो। अहिलेजस्तो लोकतन्त्र कालमा पत्रकारिता गरेबापत कारबाही भइहाल्दैन तर अप्ठ्यारो राजनीतिक व्यवस्था भएका बेलामा पनि आफ्नो पत्रकारिता सीप र खोजीको गुणले उनलाई स्थापित गरिरह्यो।
पत्रकार रिसाल लेख्न मात्र होइन, केही वर्षअघिसम्म निरन्तर हिँडिरहने व्यक्तिका रूपमा पनि चिनिन्थे। कैयौं कार्यक्रममा उनी पुगिहाल्ने। हुम्लाको उज्यालोका लागि होस् वा वातावरणीय चेतनाका निम्ति, उनले अथक सेवा गरे। पुरानो पुस्ताका व्यक्ति भए पनि आधुनिक चेतनाले उनलाई छपक्क छोपेको थियो। ९७ वर्षको उमेरमा उनको निधन काठमाडौंको फ्रन्टलाइन अस्पतालमा भयो। मृत्युपछि आफ्नो शरीर अस्पताललाई दान गरेका कारण दाहसंस्कार भएन। दह्रो आत्मविश्वास र आधुनिक चेत नभई यसो गर्ने आँट हुँदैन। परिवारले उनको शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाएको हो।
भैरव दाइको लेखनीका निम्ति सुशीला भाउजूको साथ सधैं रहेको हो। दाइलाई टेलिफोनमा कुरा गराउने, लेखलाई टाइप गरेर पठाउनेलगायत काममा भाउजूको हात रह्यो। पछिल्लो समयमा आफ्नो बैठक कक्षमा बसेर निरन्तर लेखपढ र चिन्तन गरिरहेका भैरव दाइ परिवार सदस्य मात्र होइनन्, अन्यका निम्ति पनि प्रेरणा स्रोत हुन्।
पत्रकार मात्र होइन, त्यसबाट अलग्गिएका बेला पनि उनले आफूलाई कुनै न कुनै रूपमा सक्रिय तुल्याए। २०३७ सालको जनमतसंग्रहमा पञ्चायतले जितेपछि उनी सरकारी सञ्चारमाध्यम राससबाट बाहिरिए।
त्यसपछि उनले डा. देवेन्द्रराज पाण्डेको संस्था इन्टिग्रेटेड डेभलपमेन्ट सिस्टममा सामाजिक वैज्ञानिकका रूपमा काम गरे। उनको काम त्यति बेला आलु विकासमा किसानलाई उत्प्रेरित गर्ने रहेछ।
भक्तपुर ताथलीमा १९८५ साउन २९ मा जन्मेका रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बाश्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका थिए। उनले रेडियो सगरमाथामा ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला चलाएका थिए। ९६ वर्ष पूरा भएर ९७ वर्ष लागेपछि भने उनले आफ्नो कार्यक्रम अन्तिम बनाएर बिदा भए। उनले रेडियो कार्यक्रम २०५६ सालदेखि चलाउन थालेका थिए। उनले त्यो रेडियोमा बोलेनन् मात्र, त्यसको स्थापनाका निम्ति पनि योगदान गरे।
पत्रकारितादेखि राजनीतिसम्म उनलाई रुचि थियो। त्यही भएर २०४८ सालको संसदीय आम निर्वाचनमा भक्तपुरबाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार पनि भए। तर, विजयी हुन सकेनन्।
सरकारी सञ्चार माध्यम राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको जिम्मेवारीमा पनि उनी रहे। राससमा काम गर्नुअघि उनले तथ्यांक विभागमा पनि काम गरेका थिए। त्यही सिलसिलामा जनगणना अधिकृतका रूपमा लिम्पियाधुराको समेत तथ्यांक संकलन गरेको उनको अनुभव थियो। त्यसलाई उनले पटक–पटक गौरवसाथ प्रस्तुत गरेका थिए।
पाँच वर्षअघि जतिबेला उनी ९२ वर्ष प्रवेश गर्दै थिए, त्यसैको छेको पारेर मैले उनीसँग लामो कुराकानी गरेको थिएँ। त्यही कुराकानीको सिलसिला २०७६ साउन २५ गते छापिएको थियो– ‘पढेर होइन परेर पत्रकार।’
यो पनि पढ्नुहोस्
त्यसअघि पनि उनी केही समय पार्किन्सनले थलिएका थिए। नियमित अभ्यास, औषधोपचार र व्यायाम आदिले उनलाई फेरि लेख्न सक्ने अवस्थामा पुर्याएको थियो। लेख्न नसक्दा आफूले बोलेर पनि त्यसलाई टिपाएरसमेत लेख तयार गर्न उनले छाडेनन्।
सिसाका अक्षरलाई कम्पोज गरिने समयदेखि एआईको समयसम्म उनी बाँचे। उनले पत्रकारितामा निरन्तर आफ्नो ऊर्जा र समय खर्च गरिरहे। पत्रकारितामै लाग्न पनि उनले गरेका संघर्षको लामो फेहरिस्त छ। तर, यस क्षेत्रमा आएपछि निरन्तर आफ्नो धर्म सम्झेर काम गरिरहे। सायदै यति निष्ठापूर्वक काम गर्ने पत्रकार फेरि पाइन्छ।
उनी आफैंले बताएअनुसार पत्रकारिताको औपचारिक तालिम उनले नलिए पनि अभ्यासबाटै आफूलाई पारंगत तुल्याएका थिए। पत्रकारितामा नियमित प्रयोग हुने ‘अफ द रेकर्ड’ (नछाप्ने गरी दिएको जानकारी), इम्बार्गो (सामग्री प्राप्त गरे पनि तोकिएको समयभन्दा अगाडि प्रकाशित नगर्ने) जस्ता पत्रकारका आधारभूत ज्ञान आफूले पछि मात्रै जानेको उनले बताएका थिए। त्यति मात्र होइन, स्रोतको रक्षा गर्नुपर्छ भन्ने ज्ञानका कारण उनलाई अनेकन् जानकारी सहजै प्राप्त हुन्थे।
२०१३ सालमा उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता थालेका थिए। केही वर्ष अगाडिसम्म उनी ‘नागरिक’, ‘हिमाल खबरपत्रिका’ लगायतका अखबारमा लेख्नुका साथै रेडियोका नियमित प्रस्तोता थिए। कतिपय कार्यक्रममा उनी पुग्थे। ध्यानपूर्वक तिनलाई सुन्ने र पर्गेल्ने उनको बानी थियो। उनको लेखनमा प्राय: पुराना घटनाक्रम र अहिलेको समयका रोचक सम्मिश्रण हुने गर्थे।
उनले समाजशास्त्री डोरबहादुर विष्टलाई सम्झिँदै ‘हिमाल’ मा २०७७ माघ ४ गते लेखेका थिए– ‘७१ वर्षको उमेरमा बेपत्ता भएका डोरबहादुर विष्ट आज ४ माघबाट ९५ वर्ष लाग्छन्। मलाई पहिलो पटक कर्णाली पुर्याउने उनी नै थिए। कर्णालीलाई समृद्ध बनाइछाड्ने दृढ संकल्प बोकेका विष्ट कता हराए होलान्?’
उनी एक गुणग्राही पत्रकार थिए। त्यही भएर व्यक्तिले गरेका गुण, घटनाक्रम र तिनलाई जोड्ने विषयवस्तु उनीसँग पर्याप्त हुन्थे। स्मृतिमा उनले राखेका अनेकन् जानकारी जुनसुकै रूपमा पस्किँदा पनि रोचक हुन्थ्यो।
भैरव दाइले २०८० साउन २४ गते ‘नागरिक’ मा लेखक खगेन्द्र संग्रौलालाई सम्झँदै लेखे– ‘खगेन्द्रजी, ग्याम्बे गर्ने होइन?’ यतिबेला आम नागरिकमा असन्तुष्टि छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि आम नागरिकसम्म पुगेन भन्ने हुटहुटीले उनलाई त्यो बेला पनि छाडेको थिएन।
उनको त्यो लेखको यो प्रसङ्गले अहिलेको समयलाई पनि उत्तिकै बोलेको छ– ‘सर्वसाधारण जनताको भान्सामा, पिँढीमा, छिँडीमा, अगेनामा गणतन्त्र पुगेको छैन तर सत्तारुढ पार्टीका ठुला नेताको भने रछानसम्म पनि पुगेको छ। यो चालाले गणतन्त्र जनताको कहिल्यै हुन सक्दैन्। पार्टीका ठुला नेताको मात्र हुन्छ। गणतन्त्र कागतमा आयो, भाषणमा आयो तर जनतामा आएन। सर्वसाधारण जनताको हालत एकदम पातलो भएको छ।’
थप, भैरव दाइ कृतिकारका रूपमा समेत गनिए। उनका साधुलाई सुली, उहिले बाजेका पालामा, लोग्ने–स्वास्नी र केही मित्रका चिठी, नेपालका मन्त्रीहरू, सुशीला भैरव, हात्ती, छानिएका रचना, त्यतिबेलाको पत्रकारिता, भैरव दाइ (आत्मकथा)लगायत पुस्तक प्रकाशित छन्।
पत्रकारको कलम तिखो भइरह्यो भने उमेरले छेक्दैन। उनले ९६ वर्षको उमेरमा लेखेका पंक्तिले पनि जनतालाई जगाउन छाडेन। हार्दिक श्रद्धाञ्जली भैरव दाइ!
प्रकाशित: २६ चैत्र २०८१ ०७:५० मंगलबार