काठमाडौंमा आन्दोलन नै आन्दोलन भइरहेका बेला निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिने भएका छन्। उनीहरूले तत्काल संघीय निजामती सेवा ऐन नआए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
नेपाल निजामती कर्मचारी युनियका कार्यवाहक वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालका अनुसार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका पदाधिकारीले आइतबार सभामुख देवराज घिमिरेलाई भेटी तत्काल ऐन ल्याउन आग्रह गरेका छन्। ‘सभामुखले तत्काल ऐन ल्याउन पहल गर्छौं भन्नुभएको छ। हामीले अब हामी धेरै दिन पर्खन सक्दैनौं भन्याैं’, उनले भने।
कर्मचारीका ६ वटा संगठनले आइतबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी तत्काल ऐन ल्याउन सरकारसँग माग गरे। पत्रकार सम्मेलनमा कर्मचारी संगठनका पदाधिकारीले कुनै पनि पदमा पाँच वर्ष सेवावधि भएका कर्मचारीलाई एक तह वृद्धि र १० वर्ष वा सोभन्दा बढी सेवावधि भएका कर्मचारीलाई पछिल्ला पाँच वर्षको कार्यसम्पादन मूल्यांकनबाट दुई तह वा एक श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीको बढुवाका हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशका लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्नुपर्ने माग राखे।
यसैगरी सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रीय र पूर्वानुमानयोग्य बनाउँदै सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूको सहमतिमा अन्तरप्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने, पेसागत हकहित र अधिकारका लागि संगठित हुन कार्यालय प्रमुख हुनेबाहेक शाखा अधिकृत वा आठौं तहसम्मका कर्मचारीहरू सदस्य हुन पाउने गरी सामूहिक सौदाबाजीसहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने माग उनीहरूले राखे।
त्यस्तै अस्थायी र करार कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नुपर्ने, स्थायी हुन नसक्नेलाई स्थायीसरहको उपदान दिएर अवकाश दिनुपर्ने र करारमा नियुक्त गर्नुपरे लोकसेवा आयोगको अस्थायी सूचीमा परेका उम्मेदवारबाट गर्नुपर्ने व्यवस्था गर्न माग गरिएको छ।
प्रकाशित: १ वैशाख २०८२ १०:३१ सोमबार