१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

शशाङ्क निवासमा किन जुट्दै छन् कांग्रेसका सात नेता ?

नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई नेताहरू बिचमा संशय जारी रहेका बेला पार्टीका सात प्रभावशाली नेताहरू छलफलमा जुटेका छन्।

केही समयअघि देखि बिपी कोइराला पुत्र शशाङ्क, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रले सुरु गरेको छलफलमा अरु चार नेता जोडिएका छन्।

उनीहरू सोही छलफलको निरन्तरताको क्रममा बिहीबार बिहान ९ बजे शशाङ्क निवास महाराजगन्जमा बिहान छलफलमा जुट्ने भएका छन्।

बिहीबारको छलफलमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व उपसभापति विजय गच्छदारका साथै कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि सहभागी हुने जनाइएको छ।

यसअघि चैत १६ गते निधि निवासमा भएको छलफलमा महत सहभागी थिएनन्। निधि निवासमा जुटेका छ नेताले चैत १५ गते काठमाडौंमा भएको आगजनी र तोडफोड घटनाको भर्त्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

साथै, उनीहरूले दोषीमाथि तत्काल कारबाहीको मागसमेत गरेका थिए। आगामी कांग्रेस महाधिवेशनमा सभापतिका आकाङ्क्षी उनीहरूले पार्टीलाई एकताबद्ध गराएर संगठन परिचालन गर्न आवश्यक रहेको निष्कर्ष निकालिएका थिए।

पार्टीका सबै नेता तथा कार्यकर्तालाई समेट्दै अघि बढ्ने निष्कर्ष निकालेका उनीहरूले बिहीबारको छलफलमा पार्टीको आगामी महाधिवेशनको समिति र क्रियाशील सदस्यताका विषयमा पनि छलफल गर्ने छन्।

पार्टीका पदाधिकारीहरू विधान अनुसार महाधिवेशन गर्न तयार नरहेको बुझाइमा उनीहरू छन्। गत साउन भदौंमा बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको टुंगो लगाउन महामहन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिएको थियो। तर, महामन्त्री थापाले सदस्यताको विषय टुंगो लगाउने गरी काम नगरेको नेताहरूको बुझाइ छ।

बाहिर महाधिवेशनको कुरा गरे पनि पार्टी पदाधिकारीहरू कांग्रेस महाधिवेशन २०८५ मा गर्ने रणनीतिमा रहेको बुझाइमा छन्। महाधिवेशन ढिला गर्न सभापति शेरबहादुर देउवाले पनि चाहेको, अन्य पदाधिकारीहरू पनि त्यसका लागि तयार रहेको उनीहरूको विश्लेषण छ।

महाधिवेशन केही समय धकेल्न सके एउटा पुस्ता नेतृत्व प्रतिस्पर्धाबाट बाहिरिने युवा पदाधिकारीहरू आसमा रहेको नेताहरूको बुझाइ छ।

महाधिवेशन समयमा गराउन दबाब बढाउँदै आफ्नो पक्षमा नेतृत्व ल्याउन सक्रिय रहेका उनीहरू यसअघि निधि, सिंह र कोइरालाले छलफल गर्ने गरेका थिए।

तर फागुन २ गते सभापति देउवा समूहका ११ जना नेताहरू बुढानीलकण्ठस्थित देउवा निवासमा गएर अबको सभापति उम्मेदवार तोकिदिन आग्रह गरेका थिए।

त्यसपछि नेताहरूको घेरा बढाउँदै उनीहरू छलफलमा जुटेका हुन्। तर, उनीहरूले अहिलेसम्म सभापतिका अर्का आकाङ्क्षी डा. शेखर कोइरालालाई भने छलफलमा बोलाएका छैनन्।

१४औं महाधिवेशनमा सभापतिका निकटतम प्रतिस्पर्धी शेखर आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने लक्ष्यसहित भेटघाट र जिल्ला दौडाहामा जुटेका छन्।

प्रकाशित: १० वैशाख २०८२ २१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App