१० वैशाख २०८२ बुधबार
image/svg+xml १६:५९ अपराह्न
कला/संस्कृति

नयाँ वर्ष आगमन: अनुभूति र चिन्तन

निबन्ध

नयाँ वर्ष २०८२ सालको आगमन भयो। २०८१ साल गयो। यी दुई आउने र जाने बिचमा म छु। केही अनुभूति छन्, केही चिन्तन छन्।

साल भन्नु समयको नापो हो। यो आफैँमा असल र खराब हुन्न। सबै मानिसका लागि बराबरी असल र खराब पनि हुन्न। त्यसैले नयाँ सालको आगमन व्यक्तिको अनुभूति तथा सोचाइमा फरक पर्छ। उसले भोगेको जीवनबोधको आधारमा फरक पर्छ।

नयाँ वर्षको आगमनको उत्सव पात्रोको पाना फेरिनु मात्र होइन, तथ्याङ्कमा महिना र गते फेरिनु मात्र होइन, बितेको वर्ष बेहोरेका कहरको फिहरिस्त सम्झनु मात्र पनि होइन, बरु आफूले फेरेका ३६५ दिनका श्वासको लेखाजोखा पनि हो। पुरानो वर्षलाई धन्यवाद दिनु पनि हो। किनकि यही पुरानो वर्षमा कति मानिसले अकाल मृत्यु बहन गर्नुपर्‍याे तर हामीलाई त्यही पुरानो वर्षले बँचायो। हामी बाँच्यौँ। त्यही पुरानो वर्षले जोगायो। हामी जोगियौँ।

यही कुरा नै जीवनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि होइन र? किनभने बाँच्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। त्यसकारण जो बिते उनीहरूले नयाँ वर्ष मनाउनै पाएनन्, हामी जो बाँचेका छौँ हामीले पुरानो वर्षलाई सहृदय धन्यवाद दिँदै नयाँ वर्षले पनि हामीलाई बँचाओस् भन्ने कुरा हो। किनकि बाँचियो भने मात्र उत्सव मनाउने, लक्ष्य निर्धारण गर्ने, परिश्रम गर्न अठोट गर्ने हो।

निबन्धकार खेमराज पाेखरेल

भविष्य अनिश्चित छ। यही अनिश्चित यात्रामा असल काम गर्ने आस्थाको अस्तित्व बनाउन नयाँ वर्षलाई भव्य तरीकाले उत्सवकाे रूपमा मनाउनुपर्छ।

समाजभित्र अनेक बाधाव्यावधान छन्। अन्धविश्वास छन्। विभेद छन्। असङ्गति छन्। अस्मेल जँघार छन्। जिन्दगी बाँच्नु छ। मान्छे भएर बाँच्नु छ। यही क्रममा हामी सबैले अठोट गर्नुपर्ने हुन्छ कि यो नयाँ वर्षमा केही परमार्थी काम गरौँ। विष्टा बनाउने काम त सबैले गरेकै छन्। कसैको व्यापार फस्टाए पनि वा नफस्टाए पनि सालसम्बतलाई केही फरक पर्दैन। कसैको जागिरमा पदोन्नति भयो वा भएन भन्ने कुराले पनि सालसम्बतलाई केही फरक पर्दैन। त्यसैले केही आनन्ददायी काम गरौँ।

आनन्दको परिभाषा फरकफरक अवधारणाका आधारमा हुन्छ। धर्मले आनन्दको परिभाषा अलग गर्छ। भौतिकवादले अलग तरीकाले गर्छ। शान्तिमा आनन्द देख्छन् कोही। क्रान्तिमा आनन्द देख्छन् कोही। प्राप्तिमा आनन्द देख्छन् कोही। दानमा आनन्द देख्छन् कोही। आनन्द कहाँ छ?

सो कुराको चिन्तन गर्नु नयाँ वर्षको उत्सव मनाउनु हो। यहाँ व्यक्तिगत आनन्दको कुरा होइन। प्राप्ति वा अप्राप्तिको कुरा पनि होइन। बरु समग्रमा समग्र चैतन्यको आनन्दको कुरा हो। चैतन्यको आनन्द प्राप्ति तब मात्र हुन्छ, जब हामी यही नयाँ वर्षमा समाजमा रहेका विविध असङ्गतिकाे विरुद्ध जाइलाग्छौं र समग्र आनन्दको चिन्ता गछौं।

म जीवनलाई यसैगरी सोचिरहेको छु। मेरा कुनै सालसम्बतहरू खराब भएनन्। किनकि म बाँचेको छु। बाँच्नु मेरो सालले मलाई दिएको उपहार हो। नयाँ साल आएको छ। यो सालले पनि मलाई बचाओस् भन्ने लोभ पालेको छु।

सोचिरहेको छु, मान्छेलाई अति यथार्थ कसरी बुझाउने? किनकि मान्छे भ्रममा बाँच्न बानी परेको हुन्छ। जीवन केहो, जगत केहो भन्नेबारे भ्रमहरू छरिएका छन्। तिनै भ्रमको एउटा पाटोलाई मात्र सम्वर्द्धन गर्ने अठोट गर्ने हो भने समग्रतामा आनन्द प्राप्त हुन्न। त्यसैले आनन्द प्राप्ति मेरो यो नयाँ वर्ष २०८२ सँग गरेको अठोट हो। मेरा बुताले भ्याएसम्म समग्रतामा आनन्द प्राप्तिमा लाग्ने छु।

प्रकाशित: १ वैशाख २०८२ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App