११ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:१७ अपराह्न
समाज

भोजपुरको ऐतिहासिक पर्यटकीयस्थलको संरक्षण र प्रचारमा जोड

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल नागछाँगाको संरक्षण र प्रचारमा स्थानीय सरकार जुटेको छ। गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी संरक्षणको काम सुरु गरेको हो। ढुङ्गामा जेलिएका नागका चित्रले यहाँ आउने जोकोहीलाई अचम्मित बनाउँछ। यहाँ दर्शन गरे मनोकामना पूरा हुने स्थानीय राजन घिमिरे बताउँछन्।

प्राकृतिक सुन्दरता र धार्मिक महत्व बोकेको यो स्थल प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ। वडा नं. ६ बैकुण्ठे र वडा नं. २ धोद्लेखानीको सिमानामा रहेको नागछाँगालाई प्रवर्द्धन गर्न प्रचारमा जोड दिइएको वडाध्यक्ष एकराज आचार्यले बताए। 

‘नागछाँगा एक ऐतिहासिक स्थल हो,’ वडाध्यक्ष आचार्यले भने, ‘परापूर्वकालमा सक्कली नाग बस्थे भन्ने किम्वदन्ती छ। यसको किम्वदन्ती खोजी र संरक्षणसँगै प्रचारमा लागेका छौँ।’

नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारमा वडा कार्यालय सक्रिय छ। पर्यटकका लागि नागछाँगासम्म पुग्ने पदमार्ग, शौचालय र विश्रामस्थल निर्माण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। यो क्षेत्रको विकासमा विभिन्न आर्थिक वर्षमा करिब ६० लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ। 

‘स्थानीय सरकारले यो क्षेत्रको विकास र संरक्षणमा काम गरिरहेको छ,’ अध्यक्ष राईले भने, ‘प्रसिद्ध धार्मिक स्थल भएर पनि प्रचार अभावमा ओझेलमा परेको छ। हामी संरक्षणसँगै यसको महत्व उजागर गर्न जुटेका छौँ।’

गाउँपालिकाले नागछाँगाको विकास र यससँग जोडिएका तथ्य खोजी गर्ने योजना बनाएको छ। स्थानीयको धार्मिक आस्थाको केन्द्र रहेको नागछाँगालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए। रासस

प्रकाशित: १ वैशाख २०८२ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App