सरकारलाई समर्थन दिएको दल जनता समाजवादी पार्टी(जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्ता टिकाउन जालझेल गरिरहेको आरोप लगाएको छ। आइतबारबाट सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत ‘राजनीतिक, सङ्गठनात्मक प्रतिवेदन तथा प्रस्तावहरू’मा उक्त आरोप उल्लेख छ।
‘केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरू दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ,’ यादवद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ,‘सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो ।’
भविष्यमा ठुला दलहरू मात्र हुने, साना दलहरूलाई समाप्त पार्ने नीति लोकतान्त्रिक मूल्य र मान्यताविपरित मात्र नभई संविधानमा उल्लेखित बहुदलीय शासन प्रणालीको पनि विपरीत रहेको जसपा नेपालको ठहर छ।
अध्यक्ष यादवको प्रस्तावमा सरकारमाथि आरोपै आरोप साँधिएको छ। सात बुँदे सहमतिको जगमा गठन भएको सरकारले मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित राखेको यादवले लेखेका छन्।
‘सरकारप्रति जनतामा नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न,’ प्रस्तावमा उल्लेख छ।
यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने काममा सरकार लागेको, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसकेको, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सृजना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको आरोप लगाउँदै ती कारणले यो सरकार असफल र असक्षम साबित भइसकेको जसपा नेपालले ठहर गरेको छ ।
यस्तै सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठुलठुला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिए पनि त्यस विरुद्ध सरकार मौन रहेको अर्को आरोप लिखित प्रस्तावमा छ।
यस्तै सरकारमाथि पूर्वाग्रही हिसाबले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्य गरिरहेको पनि अर्को आरोप लगाइएको छ।
प्रकाशित: १८ फाल्गुन २०८१ १६:१० आइतबार