२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री मलाई फसाउनतर्फ लाग्नुभयोः रवि लामिछाने

राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रीले आफूलाई फसाउन लागेको आरोप लगाएका छन्। सहकारी ठगी आरोप लागेका जेवि राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनले आरोप लगाए।  

नारायणगढ–बुटवल सडक खण्डको पदयात्राको गैंडाकोटबाट सुरुवात गर्दै सभापति लामिछानेले मिडियासँग मिलेर गृहमन्त्रीले आफूलाई फसाउन खोजेको जिकिर गरे।  

‘यसअघि एनआईडिको ठेक्का प्रकरणमा मलाई फसाउन सकिन्छ कि भनेर छानविन समिति गठन गर्नुभयो सक्नुभएन। अब यही सहकारी भित्र छिरेर यसलाई फसाउन सकिन्छ भन्ने कुनै योजना भित्र तपाईं हुनुहुन्छ कि भन्ने मलाई आशङ्का छ’, कान्तिपुर मिडिया र गृहमन्त्रीसँग आक्रमक देखिएका लामिछानेले भने ‘योजना अनुसार समाचार निकालेर फसाउन खोजिएको छ।’  

उनले ग्यालेक्सि फोर के टिलिभिजनसँग निश्चित सम्झौताका लागि काम गरेको भन्दै डेढ वर्षदेखि आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारे। उनले जेवि राईको सहकारीमा आफू सदस्य पनि नभएको भन्दै पैसा झिकेको नक्कली आरोप लगाएर फसाउन खोजिएको जिकिर गरे।  

लामिछानले पोखरामा योजना अनुसार आफूमाथि आक्रमण गराउन खोया बोकेर मान्छे पठाएको पनि दाबी गरे।  

'कुन योजना अन्तर्गत खोया बोकेर मान्छे गएको हो। अहिलेसम्म चासो छैन। ममाथि आक्रमण भयो। समाचारका ठूलाठूला हेडलाईन आउन सुरु भए। तर मलाई गृहमन्त्रालय गृह प्रशासन कसैले पनि एक पटक कन्सर्न राख्नुपर्ने त होला नि छैन्। किन कि ठूलो शक्ति योजना बद्ध छ', उनले भने, 'तर म सुनिल शर्मा होइन्।'  

उनले गृहमन्त्रीलाई पद जोगाएर राख्न समेत चुनौती दिएका छन्। ‘गृहमन्त्रीज्यू तपाई आफ्नो पद जोगाउनुहोस्। केही फरक पर्दैन। किन भने चुनाव जित्न पर्ने होइन। म चुनाव जितेर आएको सबैभन्दा धेरै मत ल्याएको हिसाबले तपाईलाई भन्न चाहन्छु कुनै सहकारीको पैसा अपचलन गरेको प्रमाणित गर्नुहोला। म तयार छु तपाईहरुको लागि मेरो शुभकामना छ–लामिछानेले भने’। योजना अनुसार गृहमन्त्री निकट पत्रकारले नै आफुविरुद्ध समाचार लेखेको उनले आरोप समेत लगाए। ‘जहाँबाट समाचार सुरु भयो समाचार लेख्ने व्यक्ति उहाँको पाटी निकटको पत्रकारले लेख्नुभएको छ। उहाँ अघिल्लो चुनावमा सोही पाटीको प्रचारक हुनुहुन्थ्यो,’ उनले भने ‘झुटो कुराको जगमा बसेर लेखेका समाचारलाई आधार बनाएर छानविन समिति बनाउन खोज्नुभएको छ।’ मिडियामा समाचार आएपछि छानविन समिति बनाउन सजिलो हुने भन्दै लेख्न लगाएको बताए।  

उनले गृहमन्त्रीको संरक्षणमा सुन तस्करमा संलग्नहरु छुटेको समेत बताए। ‘गृहमन्त्रीलाई भेटरे मैले सुन तस्करमा संलग्न भएका व्यक्तिहरुको नाम दिएको थिए। राजश्व अनुसनधानका डिजि, झलकराम सुवेदीहरुलाई बचाउन लागियो,’ उनले भने ‘आफ्ना सन तस्करलाई बचाउन राजश्व विभागलाई अनुसन्धान गर्न नदिएर प्रहरी मातहत मुद्दा चलाउन लागियो।’ प्रहरीले मुद्दा कमजोर बनाउने उनको भनाइ थियो। ‘प्रधानमन्त्री अन्तरगर्तको राजश्व अनुसन्धानले गरेको मुद्दा प्रहरीमा ल्याउनु भयो । प्रहरीमा ल्याएपछि मुद्दा कमजोर गर्न पाइयो । मुद्दा कमजोर बनाएपछि सम्माननिय न्यायधिसहरु बदनाम हुने भए। किन भने न्यायले त डकुमेन्टका आधारमा न्याय सम्पादन गर्छ। पहिल्यै मुद्दा कमजोर बनाएपपिछ त न्यायलयलाई देखाएर आफु जोगिन पाईने भयो,‘उनले भने, ‘आफ्ना मान्छेलाई जोगाइरहनुभएको छ।’  उनले आफ्नो बिषयमा लेख्ने पत्रकार कोही नभएको समेत बताए।  

प्रकाशित: ९ पुस २०८० ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App