१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ पुनः नामकरण आन्दोलन

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले उदयपुरमा पनि संगठन विस्तार गरेको छ। मंगलबार गाईघाटमा सम्पन्न बृहत् जिल्लाव्यापी भेलाले किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय ‘प्रदेश १ पुनः नामकरण संघर्ष समिति उदयपुर’ गठन गरेको हो।  

यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताछो राई, उपाध्यक्ष युवराज राई र महासविच भीम राईलगायत पदाधिकारी सम्मिलित भेलाले संघर्ष समिति गठन गरेको हो। यायोक्खालगायत किरातसम्बद्ध तथा लिम्बुवाननिकट विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाले झण्डै दशकअघिदेखि प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विभिन्न चरणमा पटकपटक शान्तिपूर्ण आन्दोलन गर्दै आएको भए पनि वर्तमान प्रदेशसभाले त्यो माग लत्याएर पहिचानविरोधी नाम राखेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताइन्। उनले व्यापक बहस र छलफलमार्फत नाम राख्नुपर्नेमा छलफलै नगरी सुटुक्क छापामार शैलीमा पहिचानविरोधी नाम राखेकाले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बाध्यता आइपरेको बताइन्। भेलाले अगुवा युवा लक्की राईको संयोजकत्वमा १ सय १ सदस्यीय युवा स्वयंसेवक दस्ता पनि गठन गरेको भेलापछि सोही दिन साँझ किरात राई पत्रकार संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।  

नवगठित संघर्ष समितिकी अध्यक्ष गंगा राईले प्रदेशको नाम राख्दा पहिचान गुमेका कारण पहिचानसहितको पुनः नामकरणका लागि संघर्ष समिति गठन गरिएको बताइन्। उनले अबको आन्दोलनको सुरु चरणमा सरकारी कार्यालय र नगर तथा गाउँपालिका र वडा कार्यालयमा ‘कोसी प्रदेश’ लेखिएका साइनबोर्ड हटाउने, लेटरप्याड र छापहरू प्रयोग गर्न नदिने, पहिचानविरोधी नेता र प्रदेश सांसदहरूलाई गाउँ पस्न रोक्ने र विराटनगरस्थित मुख्यमन्त्री कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको बताइन्। उनले अबको आन्दोलन ‘वार कि पार’को हुने हुनाले सम्पूर्ण पहिचानपक्षधरलाई सहभागी हुन आग्रह गरिन्।

पत्रकार सम्मेलनमा यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछो राईले केन्द्र र प्रदेशसँग सहकार्य र समन्वयमा आन्दोलनलाई उत्कर्षमा पुर्याउन १ हजार १ सय ११ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरेको तथा त्यसलाई सहयोग गर्न १ सय १ सदस्यीय युवा परिचालन दस्ता निर्माण गरिएको जानकारी दिए। यायोख्खाको अगुवाइमा भएको भेलामा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, तामाङ घेदुङ, तमु (गुरुङ), सेर्पा संघ, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत राजनीतिक दलनिकट जातीय संघसंस्थाका गरी ५ सय ५० बढीको जमघट रहेको यायोक्खाका केन्द्रीय सदस्य दिपक किरातीले बताए।  

प्रकाशित: १३ वैशाख २०८० ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App