नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबार बर्दियाका सात कार्यक्रममा पुग्न भ्याइनभ्याइ भयो। बाँकेमा बिहीबार प्रदेशस्तरीय महिला संगठनको कार्यक्रम सकेर बेलुका बर्दिया आएका दाहाललाई यी कार्यक्रममा समय व्यवस्थापन गर्न हम्मे पर्यो।
बिहान ७ र ८ बजे बढैयातालको जगतिया र मैनापोखरमा भएको कार्यक्रम सकेर उनी हतारहतार सदरमुकाम गुलरियामा आयोजित दुई कार्यक्रममा सहभागी भए। गुलरियाको वडा नं. १२ को बिक्रि गाउँमा दिउँसो भोज खाएपछि उनी गुलरियाकै कोणसभामा बोल्न पुगे। त्यसै दिन गुलरिया, मैनापोखर, बढैयाताल, मधुवन र ठाकुरबाबामा उनले कोणसभालाई सम्बोधन गरे। जगतिया र बिक्रि गाउँमा भने अनौपचारिक कार्यक्रममा सहभागी भए।
कोणसभामा बोल्दै दाहालले माओवादीलाई सडकदेखि सत्तासम्म पुर्याउन सहिद र बेपत्ता परिवारको योगदानको चर्चा गरे। ‘सहिद परिवारले राष्ट्रिय सम्मान पाउने निर्णय मेरो पालामा भएको हो,’ उनले भने, ‘सहिद र बेपत्ता परिवारले हाम्रो पार्टीलाई जति सहयोग गरे, त्यति गर्न नसकेकोमा पछुतो छ।’ प्रधानमन्त्री हुँदा देशमा सुरु गरेका तीन पक्षको सुखद समाचार वा निर्णय गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।
माओवादी नेताहरूबाट कहीँकतै गल्ती भए त्यसलाई सच्याउनुको विकल्प नभएको उनले सम्बोधनमा बारम्बार दोहोर्याए। कोणसभामा उनले संघीय गणतान्त्रिक लोकतन्त्र बामे सर्दै गर्दा अलोकतान्त्रिक पार्टीको सत्ता गठबन्धनले राजावादी सल्बलाएको बताए। त्यसपछि काठमाडौं फर्कनुपर्ने बाध्यता रहेको उनले खुलाए।
हुलाकी सडक र तराई मधेश जागरण अभियानका क्रममा दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, देव गुरुङ, अग्नि सापकोटा लगायतका नेता पनि सातै कार्यक्रममा सहभागी भए।
जिल्लामा एकै दिन धेरै कार्यक्रम भएकाले समसामयिक विषयमा उपाध्यक्ष श्रेष्ठ र भुसालले छोटो मन्तव्य राखेपछि दाहालले आफ्नो धारणा राखेका थिए। छोटो समयमा कार्यक्रम सफल बनाउन कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको प्रदेश कमिटी सदस्य तथा मधुवनका इन्चार्ज सुरेश पन्थले बताए। पालिकास्तरमा सक्रिय भूमिका देखेर दाहालले खुसी व्यक्त गरेको उनले सुनाए।
प्रकाशित: २२ चैत्र २०८१ १९:४७ शुक्रबार