१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

माटो सुहाउँदो विकास वकालत

कर्णालीको विकास गरिनुपर्छ। जलविद्युत् निकालेर लोडसेडिङ अन्त्य गर्नुपर्छ। विकास दिगो हुनुपर्छ। पर्यटनबाटै मुलुक विकास हुने भएकाले यसतर्फ लाग्न ढिला भइसक्यो। समृद्ध नेपाल नबनाइ हुँदैन– खासगरी राजनीति गर्नेहरुले भाषणमा बारम्बार दोहोर्या उने वाक्य हुन् यी। आफैँ गर्ने ठाउँमा बस्ने अनि यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भनेर दुनियालाई सिकाएरै थाक्दैनन् उनीहरु। गर्न त गर्ने तर कसरी? कहाँ? स्रोत के हो? यसको आधार के हो? दिगो कसरी हुन सक्छ? कुन क्षेत्रमा हामी आफैँ लगानी गर्न सक्षम छौँ? त्यसका सकारात्मक/नकारात्मक पक्ष के के हुन्? यस्ता विषयमा भने उनीहरु मौन रहनुमै आनन्द मान्छन्।यही रिक्तता पूर्ति गर्दै विकासका सम्भावित क्षेत्र, तिनका लागि आवश्यक स्रोत, तिनलाई पूर्ति गरिनुपर्ने कारण तथा त्यसबाट लिन सकिने फाइदा जस्ता यावत् प्रश्नको उत्तरसहित आएको छ युवा राजनीतिकर्मी रवीन्द्र अधिकारीको पुस्तक समृद्ध नेपाल। जसमा जनताले बुझ्ने भाषामा नेपालका लागि गर्न सकिने र गर्नैपर्ने विकासका पूर्वाधारमा जोड दिइएको छ। हेर्दा र देख्दा सामान्य लाग्ने तर नेपालको काँचुली कसरी फेर्न सक्छन् भन्ने विषयलाई क्षेत्रगत आधारमा प्रस्तुत गरेर लेखकले 'हो त नि' भन्ने पार्न सकेका छन्। अनि पढ्नेहरुलाई आशाका सम्भावना जगाउँदै त्यसतर्फ अभिप्रेरित हुन पनि हौस्याएका छन्।

'तथ्याङ्क केलाएर हेरिएको विकासभन्दा नागरिकले अनुभूति गरेको विकास महत्वपूर्ण हुन्छ। विकासशील देशमा चलनचल्तीको विकासमा गरिबहरु विकासको फल कहिले पाक्ला र खाउँला भनेर बाटो हेर्दै जीवन बिताउँछन्। अनि प्रायजसो मानिस विकासको फल आइसकेपछि त्यो फल टिप्न नसकेरै मर्छन्'–विकास कसका लागि भन्ने प्रश्नमा उनी खुलेका छन्। जबसम्म पछाडि पारिएका र आधारभूत तहका जनतासम्म अनुभूति हुने गरी उनीहरुको जीवनमा परिवर्तन आउँदैन त्यो विकास होइन भन्ने वकालतबाट बुझिन्छ कि लेखक देखावटी र कागजी विकासमा रत्ति विश्वास गर्दैनन्। यस अर्थमा केही हुनेखाने र टाठाबाठाले उपभोग गरिरहेको विलासी जीवनलाई हेरेर विकास नाप्ने प्रवृत्तिप्रति उनी खरो आलोचक देखिएका छन्।

समयक्रमसँगै विकासका अवधारणामा पनि क्रमशः परिवर्तन देखिएका छन्। आआफ्नै ढङ्गबाट गरिने विकासले यसबीचमा धेरै फड्को मारिसकेको छ। कल्याणकारी पद्धतिबाट माथि उठ्दै आएको विकासले समयक्रमसँगै चल्ने बाध्यतामा आर्थिक वृद्धिमुखी विकासमा जोड दिएको थियो। दातृसंस्थाले समेत यसै पद्धतिमा जोड दिन थालेपछि आर्थिक वृद्धिबिनाको विकास विकास हैन भन्ने बुझिन थालियो। र बिस्तारै यो पद्धतिअनुरूप विकास पनि पुग्नुपर्ने वर्गसम्म नपुगेपछि विकासको अधिकारमुखी पद्धति आवश्यक ठानियो। जसले विकासलाई अधिकार ठान्यो र यो अधिकारवालाको अधिकार र उपभोगको विषय हो भन्ने दाबीसमेत गर्योल।

समृद्ध नेपाल पढ्दा अधिकारीले वकालत गरेको विषय यही अधिकारमुखी पद्धतिको विकास हो भन्ने प्रष्टिन्छ। त्यही भएर त उनी कर्णालीमा केही वर्षयता सीमित सङ्ख्यामा निर्माण झोलुङ्गे पुल, विद्यालय, स्वास्थ्य चौकी, केही सरकारी भवन र हवाई मैदानलाई विकास मान्ने पक्षमा छैनन्। जबसम्म जनताले उपभोग गर्न पाउन्नन् र त्यसबाट उनीहरुको प्रगति भइरहेको छैन भने त्यस्ता विकासको कुनै अर्थ नहुनेमा उनको जोड देखिन्छ। कृषि उत्पादन, रैथाने बाली संरक्षण र विकास, जडीबुटी सङ्कलन, प्रशोधन र बजारीकरण जस्ता पक्षमा ध्यान नदिएकाले कर्णाली आज पनि अभावै अभावबीच बाँच्न बाध्य भएको पुस्तकको दाबी छ।

योजना त्यस्तो विषयवस्तु हो जसले कारण, स्रोत, प्रक्रिया, समयावधि, लाभग्राही पक्ष तथा प्रभाव समेटेको हुन्छ। तर नेपालमा अभाव नै यसैको रह्यो। अरबौँ रुपियाँ खर्च भइसक्दा पनि कर्णालीका जनताको मुहार ख्याउटिइरहनुमा यही कारण मुख्य देख्छन् लेखक पनि। त्यसैले उनले पुस्तकमा सर्वसाधारण र मुलुकको स्टेरिङ समातेकालाई 'सम्भव छ' भन्ने ऊर्जा भरे पनि ठाउँठाउँमा चिन्ता पनि व्यक्त गरेका छन्। एकातिर लगानी गर्न यो दरिद्र मुलुकसँग यथेष्ठ पुँजी छैन भने अर्कोतिर भएको लगानी पनि व्यवस्थित नभएकाले 'बालुवामा पानी' भइरहेको छ। जसलाई ठाउँठाउँमा सन्दर्भसहित प्रस्तुत गरिएको छ। यसले हामी कहाँ चुक्यौँ? हाम्रा कमजोरी के रहे र तिनलाई सच्च्याउन के गर्नुपर्दोरहेछ भन्ने प्रष्ट्याएको छ।

अहिले पनि आर्थिक समृद्धिलाई विकास ठान्ने ठूलो जमात छ। त्यसैगरी धन र दौलतले सम्पन्न हुनु नै विकास हो भन्नेहरु पनि प्रशस्तै छन्। अर्कोतर्फ बाटो, पुल, विद्यालय तथा ठूलाठूला भवन नै विकास हो भन्ने भ्रम पाल्ने पनि उत्तिकै भेटिन्छन्। वास्तवमा विकास मानिसको चौतर्फी प्रगति हो जसका कारण उसले स्वस्थ जीवन बाँच्नेदेखि आत्मसम्मानको अधिकारसमेत प्राप्त गर्छ। विकासको अधिकारसम्बन्धी घोषणापत्रले पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक प्रक्रियालाई विकास भनेको छ। लेखक अधिकारीले वकालत गरेका विषय यही प्रक्रियासँग मेल खान्छ जसको अभावमा आज मुलुक समृद्ध हुन सकेको छैन। यसर्थ समृद्धिलाई एउटा वा एकाध क्षेत्रको मात्र समष्टि नठानी मानिसको चौतर्फी उन्नति र त्यसले उसलाई उपलब्ध गराउने सन्तुष्टिसँग सम्बन्धित छ भन्ने देखाउँछ।

पुस्तकमा विकासका सैद्धान्तिक परिभाषा तथा विकासविद्हरुका भनाइ खासै उल्लेख छैनन् र तिनका आधारमा लेखिएको पनि देखिन्न। व्यावहारिकतवरले आफ्नै परिवेशमा आधारित रही आफ्नै अनुभव समेटिएकाले अधिकारीका सुझाव र धारणा 'माटो सुहाउँदो' लाग्छ। यसर्थ हार्वर्डलगायतका एकसेएक विश्वविद्यालयका उत्पादन दाबी गर्नेले बनाउने नीतिनियम तथा कार्यान्वयन प्रक्रियालाई चुनौती दिएका छन् अधिकारीका प्रस्तुतिले। अनि प्रगति विवरणमा धर्को मास्तिर तेर्स्याउनमात्र जानेकाहरुलाई वास्तविक विकासको पाठ पनि सिकाएका छन् उनले।

व्यवस्थापिका–संसद्को विकास समितिका सभापतिसमेत रहेका अधिकारीले त्यहाँ उठ्ने र छलफल हुने गरेका कतिपय विषयसमेत यसमा उठान गरेका छन्। तर पनि उनी सम्बद्ध दल तथा उनको दलले अङ्गालेको विचारले भने पुस्तकभर कतै पनि हस्तक्षेप गरेको छैन।यसलाई पुस्तकको विशेषता मान्नुपर्छ। त्यसबाहेक पर्यटन, जडीबुटी, जलविद्युत्, सूचना प्रविधि, फास्ट ट्रयाक जस्ता विविध विषयमा ध्यान दिन सक्नु यसको अर्को उल्लेख्य पक्ष हो। विदेशी मुलुकहरुले आफ्नै सामान्य स्रोतको भरपुर उपयोग गरी कसरी मुलुक समृद्ध बनाए भन्ने उदाहरणसमेत दिइएकाले उनको 'गरौँ, सम्भव छ' भन्ने दाबी सही लाग्छ।

पुस्तक : समृद्ध नेपाल
लेखक : रवीन्द्र अधिकारी
प्रकाशक : फाइनप्रिन्ट

प्रकाशित: ७ फाल्गुन २०७२ २३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App